७ वैशाख २०८१ शुक्रबार
राजनीति

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल गर्छु: अध्यक्ष दाहाल

माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।

प्रचण्ड निवास खुमलटारमा बुधबार सिन्धुपाल्चोकका जनप्रतिनिधि र व्यवसायीसमेतको प्रतिनिधिमण्डलसँग नाकाको विषयमा छलफल गर्दै उनले विद्यमान सबै खाले अवरोध हटाएर नेपाल–चीन व्यापार सहज बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

नाका व्यापारको विषयमा सुरुदेखि नै आफू जानकार रहेको बताउँदै अध्यक्ष दाहालले भने, ‘यो विषयमा बेजिङसँग कुरा गर्छु। नयाँ चिनियाँ राजदूत आउँदै छन्। उनीसँग पनि संवाद गर्छु।’ नयाँ राजदूत आएपछि तातोपानी नाकाबाट आयात/निर्यात दुबै व्यापार खुल्नेमा आफू विश्वस्त रहेको उनले बताए।

‘निवर्तमान चिनियाँ राजदूत बेजिङ फर्कँदा तातोपानीको विषयमा कुराकानी गरेको थिएँ। आयात/निर्यात दुबै खुल्नु पर्छ भनेको छु,’ राजदूतसँगको भेटबारे प्रतिनिधिमण्डललाई जानकारी दिँदै उनले भने। 

तातोपानी नाकाबाट हुने व्यापार बढाएर व्यवस्थित बनाउन अहिले पनि लगातार चिनियाँ नेताहरूसँग कुरा भइरहेको अध्यक्ष दाहालको भनाइ छ। सुरुदेखि नै नाकाको विषय बुझेको जानकारी दिँदै उनले भूकम्पदेखि नै नाका सञ्चालन गर्न लगातार पहल गरिरहेको स्मरणसमेत गराए।

दाहालले थपे, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा बेजिङमा चिनियाँ राष्ट्रपति सी जिङपिङकै कार्यालय पुगेर नाका खोल्न अनुरोध गरेको थिएँ। उनी र अरु नेतासँगको भेटमा धेरै पटक यो कुराकानी गरिरहेकै छु।’ 

प्रतिनिधि मण्डलका नेता सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुबोध) ले नाका व्यवस्थित सञ्चालन गर्न पहिला बाह्रबिसे–तातोपानी सडक खण्ड स्तरोन्नति गर्नुपर्नेमा अध्यक्ष दाहालको ध्यानाकर्षण गराए। 

‘स्तरोन्नति गर्न सडकको सर्वे भएको छ। २ अर्ब ४७ करोड रुपैयाँ बजेट निस्किएको छ। यो फाइल अहिले अर्थ मन्त्रालयमा पुगिसकेको छ,’ उनले भने, ‘त्यसलाई ठेक्का लगाएर काम गर्नुपर्ने छ।’ सीमाको सडकमा काम गर्न २ अर्ब रुपैयाँसम्म सहयोग गर्ने नीति चीनको रहेका अवगत गराउँदै सांसद सापकोटाले त्यस्तो फण्ड ल्याउन पहल गर्नुपर्नेमा जोड दिए।

यसअघि प्रतिनिधि मण्डलले अध्यक्ष दाहाललाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको थियो। सांसद सापकोटा नेतृत्वको प्रतिनिधि मण्डलमा प्रदेश सांसद सरल सहयात्री पौडेल, अमृता नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार), नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यबाहक अध्यक्ष रामहरि कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटा, व्यवसायी शम्भुबहादुर तिमिल्सिना लगायत सहभागी थिए। 

२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष नेपाल–चीन व्यापार हुने परम्परागत यो नाका पूर्णरुपमा बन्द भयो। २०७६ जेठ १५ देखि नाका खुलाइए पनि आंशिक मात्र सञ्चालित छ। कोरोना कहर, वर्षाको बाढी पहिरो, अरनिको राजमार्गको दुरावस्थालाई कारण देखाउँदै चीनले पर्याप्त व्यापारिक सामाग्री पठाएको छैन।

तातोपानी सख्खा भन्सार बन्दरगाह कार्यालयका अनुसार अहिले नाका भएर दैनिक दुई–तीन कन्टेर सामाग्री मात्र आयात हुने गरेको छ। निर्यात अझै बन्द छ। नाकाबाट चीनले मानवीय आवागमनमा समेत रोक लगाउँदै आएको छ।

प्रकाशित: ६ पुस २०७९ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App