७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘भूकम्पपीडितलाई भरपर्दो व्यवस्था मिलाऊ’

काठमाडौं— मनसुन सुरु भएसँगै भूकम्पपीडित जनता थप मारमा परेको भन्दै सांसदहरूले तत्काल भरपर्दाे व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा बिहीबार विशेष र शून्य समयमा बोल्दै उनीहरूले बाढी–पहिरोले भूकम्पपीडितका टहरा बगाएको र उनीहरू बसेको ठाउँ नै जोखिममा परेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद पार्वत गुरुङले भूकम्पप्रभावित क्षेत्रका जनता जोखिममा बसेको तर सरकारले त्यसको अध्ययन गरी बस्ती स्थानान्तरणमा ध्यान नदिएको बताए । प्रभावित क्षेत्रका नागरिकलाई अस्थायी बसोवासको व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे । दोलखामा मात्र  २५ हजार जोखिमपूर्ण घर रहेकाले उनीहरूलाई तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन उनले आग्रह गरे।

विशेष समयमा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले गोरखामा गएको पहिरोले पु¥याएको क्षतिबारे जानकारी गराउँदै कतिपय गाविस सम्पर्कविच्छेद भएको बताए । ‘खच्चर हिँड्ने त कता हो कता, मान्छे हिँड्ने बाटो पनि छैन,’ उनले भने, ‘माथिल्लो हिमाली भेगका गाविस सम्पर्कविहीन छन्, यसमा सरकारको ध्यान पुगोस् ।’

अमरसिंह पुनले भूकम्पपीडित बसेको स्थानमा बाढीपहिरो जान थालेको र टहरमा बास बसेका उनीहरू थप पीडित भएको प्रति सरकारको ध्यानाकर्षण गराउन माग गरे । सांसद ऋषिकेश पोखरेलले मोरङको बक्राहा र तेली खोलामा असार ६, ७ र ८ गतेको बाढीले जनतालाई बगाएको र स्थानीयको धानखेत पुरेको जानकारी गराए । खोलाका कारण करिब २ सय घर विस्थापित भएको र बर्खे धान पुरिएकाले राहत दिन उनले माग गरे । बाढीले बक्राहा तटबन्ध भत्काएको र गोविन्दपुर बाँधमा समेत क्षति पु¥याएको उनले बताए ।

सांसद गौरीशंकर चौधरीले बाढीपहिरोको समस्या बर्सेनि देखिए पनि सरकारको पूर्व तयारी नदेखिएको बताइन् । बाढीपहिरो व्यवस्थापन उद्धारको पूर्वतयारी विषयमा जानकारी गराउन उनले माग गरिन् । सम्भावित क्षेत्रमा पूर्वसूचनाको व्यवस्था हुनुपर्ने, कैलाली कञ्चनपुर, दैलेख, अछामलगायत जिल्लामा अघिल्लो वर्षका पीडितले राहत नपाएको प्रति सरकारको ध्यानाकर्षण गराइन् । पर्शुराम तामाङले धादिङका विभिन्न गाविसमा पनि बाढीले क्षति पु¥याएको बताए । बाढीले पुल बगाउँदा नुवाकोटसँग सम्बन्धविच्छेद भएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित: १६ असार २०७३ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App