७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

नयाँ शक्ति नेपालको अन्तरक्रियाका सहभागी। तस्विरः नागरिकन्युज

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पूर्वी सभ्यताका महत्वपूर्ण विषयहरु ध्यान र योगलाई महत्व साथ उठाउने भएको छ। पार्टी संयोजक डा.भट्टराईले पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने पार्टी नीतिअनुसार योग तथा विपश्यना ध्यानलाई पार्टी नेतृत्व तहबाट प्रवर्धन गर्ने बताए।

‘विश्वमा मानव विकास सूचकको रुपमा आत्मिक आनन्दको कुरा आउन थालेको अवस्थामा नयाँ शक्तिले योग र ध्यानलाई पार्टीको नीतिमा समावेश गरेको छ। यसलाई कार्यान्वयन गर्ने मोडालिटी के हुन्छ?’ भन्ने नागरिकन्युजको सवालमा पार्टीका संयोजक डा.भट्टराईले भने, ‘विश्वमा अहिले ह्यापीनेस इन्डेक्सका कुराहरु आइरहेका छन्। ह्यापीनेस आफैँमा सब्जेक्टिभ विषय भए पनि यो प्राप्तिका विधिहरुलाई हामीले अँगाल्ने छौं। जनता समक्ष यी कुरा लिएर जानेछौं।’

मानसिक शान्ति र चरित्रवान् जीवनशैलीका लागि विपश्यना ध्यान र शारीरिक तन्दुरुस्तीका लागि योग अभ्यास विश्वभरि लोकप्रिय रहेको अवस्थामा डा.भट्टराईले बिहीबार यी विषय पार्टीले प्राथमिकता साथ अघि बढाउने उल्लेख गरेका हुन्। ‘योग र विपश्यना ध्यानले मान्छेलाई शारीरिक तन्दुरुस्ती राखेर तनाबमुक्त पार्न मद्दत गर्छ भन्ने कुरा विज्ञानले प्रमाणित गरेको छ। त्यसैले पार्टी पंक्तिबाटै हामी यसलाई प्रवद्र्धन गर्दैछौं।’

योग र ध्यानले मानसिक शान्ति दिन्छ भन्ने कुरा व्यवहारले समेत प्रमाणित गरेको उल्लेख गर्दै उनले नयाँ शक्ति पार्टीका नेताहरुले नै अभ्यास गरेर यी विषयहरु जनसमक्ष पुर्‍याउने उल्लेख गरे।  ‘हामी आफैँ पनि योग ध्यान गर्ने छौं। यसलाई जनता समक्ष पनि लैजाने छौं’,उनले भने, ‘म आफैँ पनि ४० वर्षदेखि प्रणायम गर्दै आएको छु। धेरै तनाब भए सबासनमा केहीबेर सुत्छु।’

पश्चिमले विकास गरेको प्रविधि र पूर्वीय दर्शनका राम्रा पक्षलाई पार्टीले अंगिकार गरेर अघि बढ्ने उनले सुनाए। ‘विज्ञानले प्रमाणित गरेका हाम्रा राम्रा र सकारात्मक कुरालाई तलसम्म पु¥याउनसके त्यसले समाजलाई सही दिशातर्फ लानसक्छ भन्ने विश्वास लिएका छौं’, उनले भने।

‘विश्वमा अहिले ह्यापीनेस इन्डेक्सका कुराहरु आइरहेका छन्। ह्यापीनेस आफैँमा सब्जेक्टिभ विषय भए पनि यो प्राप्तिका विधिहरुलाई हामीले अँगाल्ने छौं। जनता समक्ष यी कुरा लिएर जानेछौं।’

राज्यको नेतृत्व तहमा पुगेका नेताहरुमा सेवा भावना क्षयको समस्या गहिरिँदै गएका बेला नयाँ शक्तिले ती कुरा प्रवद्र्धन गर्ने विषयलाई पार्टी नीतिमा समावेश गरेको हो। नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम विधान २०७३ मै योग र ध्यानले प्रवेश नै पाएका छन्। विधानको १५ नम्बर बुँदामा स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायाम शीर्षकमा पार्टीले यी विषय राखेको हो। ‘स्वस्थ शरीर र मन निर्माणका लागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायम जस्ता विधि उपयोग गर्न प्रेरित गरिनेछ’, विधानमा भनिएको छ, ‘आवश्यकताअनुरुप तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ।’

नयाँ शक्तिले स्वास्थ्य तथा याेग साधना विभाग समेत गठन गरेको छ। डा. प्रवीण मिश्र यो विभागको प्रमुख रहेका छन्।

हिन्दू बहुल नेपालमा ध्यान र योग साधनाका प्रयोगकर्ताहरु बढ्दो क्रममा छन्। ऊ बाखिन परम्पराको विपश्यना ध्यान विधि तथा बाबा रामदेवको पतञ्जली योग नेपालमा सबैभन्दा बढी लोकप्रिय योग तथा ध्यान विधिहरु हुन्।

विपश्यनालाई म्यानमार तथा भारतका केही प्रान्त सरकारहरुले भ्रष्ट्राचार नियन्त्रण तथा चरित्र निर्माणका लागि कर्मचारीतन्त्रमा उपयोग गर्दै आएका छन्। नेपाल सरकारले अघिल्लो वर्ष लोकसेवा उत्तीर्ण गर्ने नयाँ अधिकृतलाई तालिमको सिलसिलामा विपश्यना ध्यानमा पठाएको थियो। यो वर्ष पनि कानुन सेवाका नयाँ अधिकृतले यो ध्यान गरेका थिए।

योग ध्यानका अतिरिक्त पार्टी पंक्तिलाई अध्ययनशील बनाइने संयोजक डा. भट्टराईले उल्लेख गरे।  अध्ययन अनुसन्धान तथा प्रविधि प्रयोगलाई पार्टीले सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो। ‘म ३१ वर्षअघि गरेको पिएचडी गर्दाको अध्ययन अनुसन्धानको ब्याज खाएर बसिरहेको छु। मेरै यो अवस्था छ भने अरुको के होला?’ डा.भट्टराईले भने, ‘त्यसैले हामीले पार्टीभित्र अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिँदैछौं।’

धोती बक्खुदेखि, रामरामसम्मलाई स्वागत
नयाँ शक्ति नेपालले अभिवादन गर्ने कुनै नियम नतोक्ने उल्लेख गरेको छ। ‘हाम्रो अभिवादन के हुन्छ भनेर कोहीले सोध्नुहुन्छ। हामी नमस्ते, लालसलाम, अभिवादन, ज्वज्वलोपादेखि रामराम जसलाई जे सजिलो लाग्छ त्यही चलाउँछौं’, संयोजक डा.भट्टराईले भने, ‘यसमा तपाइँ हामीलाई स्वच्छन्द पनि भन्न सक्नुहुन्छ।’

पार्टीको पोशाकमा कुनै निश्चित नियम नभएको डा. भट्टराईले सुनाए। ‘हामी सबै राष्ट्रिय पोशाकको सम्मान गर्छौं। दउरासुरुवाल, धोती, बक्खु यी सबै हाम्रा राष्ट्रिय पोशाक हुन्’, उनले भने, ‘मौसमअनुसार सबै पोशाक लाउन सकिन्छ। कसैलाई अन्तर्राष्ट्रिय पोशाक लगाउँछ भने पनि समस्याको कुरा भएन।'

प्रकाशित: १६ असार २०७३ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App