coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको निर्वाचन आज: देउवासँग भिड्दै थापा

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मंगलबार संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेक्रममा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा। संसदीय दलको नेता छनोटका लागि बुधबार बिहान मतदान हुनेछ। तस्बिर: रासस

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बुधबार बिहान हुने निर्वाचनका लागि देउवा र थापाले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्।

पार्टी नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्कालाई प्रस्तावक र समर्थक राख्दै देउवाले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावकमा नेता शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन्। थापाको प्रस्तावक बसेका नेता कोइराला संसदीय दलको निर्वाचनमा देउवासँग आफैैं प्रतिस्पर्धा गर्ने पक्षमा थिए। तर महामन्त्री थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने अडान नछाडेपछि कोइराला पछि हटेका हुन्।

पार्टीको १४औं महाधिवेशनमा थापा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका हुन्। महाधिवेशनमा कोइराला सभापतिका प्रत्याशी भए पनि निर्वाचित हुन सकेनन्। संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने थापाको अडानले फेरि संस्थापन इतर समूह विभाजित हुने त होइन भन्ने आशंका उत्पन्न भएको थियो। यस्तो आशंका चिर्दै कोइराला र थापाबीच समझदारी भएको छ। कोइराला समूहको बैठकमा अहिले संसदीय दलको नेतामा थापा र १५औं महाधिवेशनमा सभापतिमा कोइराला उम्मेदवार बन्ने समझदारी भएको जानकारी एक नेताले दिए। यही समझदारीअनुसार कोइराला थापाको प्रस्तावक बस्दै संस्थापन इतर समूहलाई एकताबद्ध बनाएर संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिन सम्भव भएको ती नेताले बताए।

संसदीय दलको निर्वाचनमा संस्थापन इतर समूह अंकगणितमा कमजोर रहेको बताउँदै ती नेताले भने, ‘तर मिलेर अघि बढ्ने समझदारी भएकाले इतर पक्ष थप कमजोर बन्ने अवस्था तत्कालका लागि टरेको छ।’ पार्टीका अर्का महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल थापाको पक्षमा खुलेपछि इतर पक्ष उत्साहित बनेको छ। तर संसदीय दलको नेतामा निर्वाचित हुन आवश्यक पर्ने ४५ सांसदको समर्थन जुटाउन थापालाई त्यति सहज छैन। प्रधानमन्त्री समेत रहेका देउवाको पक्षमा नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री शशांक कोइराला लगायत छन्।

यसबाट संसदीय दलको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देउवा पक्षका नेताहरूको बुझाइ छ।

पार्टीभित्र परिवर्तनको आवाज बलियो हुँदै गएका बेला नवनिर्वाचित बहुमत सांसद वर्तमान होइन, भविष्य हेरेर थापाको पक्षमा उभिनेको विश्लेषण पनि गरिएको छ। कांग्रेसको आगामी नेतृत्वका रूपमा हेरिएका थापा, शर्मा, प्रदीप, गुरुङ, बद्री पाण्डे, जीवन परियारसहितका युवा अहिले एक ठाउँमा उभिएका छन्। अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडु, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, रामकृष्ण यादव, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बु, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल, सन्तोष चालिसे सहित सांसद पनि थापाको पक्षमा उभिने बताइएको छ। यीमध्ये आचार्य, थानी, गिरी, चौधरी, रामकृष्णसहित केही सांसद पौडेल र शशांक निकट मानिन्छन्।

सञ्जय कुमारसहित केही सांसदले मंगलबार साँझ पूर्वमहामन्त्री शशांक कोइरालालाई भेटेका छन्। संस्थापन इतरका नेता गोप्य मतदान हुने भएकाले देउवाको पक्षमा भनिएका सांसदको मत पनि आफ्नो पक्षमा आउने बुझाइमा छन्। थापा पक्षले ३९ सांसदको समर्थन मंगलबार दिउँसो नै भएको र मतदानसम्म पुग्दा परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ। देउवा पक्षले ६० भन्दा बढी सांसदको समर्थन आफूहरूलाई रहेको दाबी गरेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्। देउवा र थापा दुवैले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सांसदहरूसँगको भेटलाई तीव्र बनाएका छन्। निर्वाचन बुधबार बिहान ८ बजे संसदीय दलको कार्यालय सिंहदबारमा सुरु हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: ६ पुस २०७९ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App