coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

फाइल तस्बिर।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन्।

शक्ति सन्तुलन र पद बाँडफाँटबारे सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सघन रूपमा छलफलसमेत भएको थियो। आफ्नो निवास कोटेश्वरमा भएको छलफलका क्रममा अध्यक्ष नेपालले नेकपा एसले तत्कालै प्रधानमन्त्री दाबी नगर्ने तर राष्ट्रपतिको ‘बटमलाइन’ नछाड्ने बताएका थिए। अध्यक्ष नेपालले आलोपालो प्रधानमन्त्री हुनुपर्ने तर कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रले आपसी समझदारीमै तय गर्नुपर्नेमा जोड दिएका थिए। ‘सरकार गठन अहिलेकै गठबन्धनबाट हुनुपर्छ भन्ने कुरामा नेकपा एस दृढ छ। आलोपालो सरकार सञ्चालन गर्ने विषयमा पनि पार्टी प्रस्ट छ। तर कसले पहिला नेतृत्व गर्ने भन्नेबारे दुई पार्टीले आपसी समझदारीमा तय गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत उर्दै उनीनिकट एक नेताले भने।

सोमबार दिउँसो मात्रै अध्यक्ष नेपालले वामपन्थी सरकार बनाउने विषय अल्मल्याउन गरिएको ‘फन्डा’ मात्रै भएको बताए। पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा वाम गठबन्धन भनेर अल्मल्याउन खोजिएको तर सरकार भने गठबन्धनकै बन्ने बताए। उनले गठबन्धनमा रहेका दलहरूले अहं प्रस्तुत गरे नेकपा एसले जस्तोसुकै निर्णय लिन सक्ने पनि बताए। उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भनेर आम चासोको विषय बनेको पनि बताए। ‘आगामी सरकार गठबन्धनकै बन्नेछ, वाम गठबन्धनको बन्दैन,’ अध्यक्ष नेपालले भने। अहिलेको अवस्थामा शक्ति सन्तुलनको विषय भएकाले यो विषयमा छलफल हुनै बाँकी रहेको उनको भनाइ थियो। ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्ने कुरा चासोको विषय छ। कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खालि पुलाउ मात्रै हो,’ अध्यक्ष नेपालले भने, ‘कसैले वामपन्थीको मात्रै सरकार बनाऔं भनेर सोचिरहेको छ। त्यो अल्मल्याउने कुरा मात्रै हो। यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौं।’

उनले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरूले आफ्नो शक्ति आर्जन गर्नु चुनौती भएको पनि बताएका थिए। गणतन्त्रविरुद्ध राजतन्त्रलाई फेरि पुनःस्थापित गर्ने कुराको पक्षमा कुनै कदम नचाल्न उनको भनाइ थियो।  

यसैबीच नेकपा एसको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। साृमबार बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन्। दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन्। नेकपा एसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १० सिट जितेको छ। ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा उक्त पार्टीले समानुपातिकतर्फ भने थप सांसद सिट पाउन सकेन।

अगुवा नेतालाई प्रशिक्षण दिँदै एमाले  

मंसिर ४ गतेको निर्वाचनपछि मुलुकको दोस्रो ठुलो दल बनेको एमालेले देशभरका अगुवा नेताहरूलाई बोलाएर प्रशिक्षण दिने भएको छ। सरकार गठनमा ‘पर्ख र हेर’को अवस्थामा रहेको एमालेले नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका पराजित उम्मेदवारको भेला बोलाएर प्रशिक्षण दिने भएको हो। देशभरका नेताहरूलाई काठमाडौंमा बोलाएर एमालेले प्रशिक्षण दिन लागेको हो।  

एमालेले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिकाबारे प्रशिक्षित गराउन भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए पनि पार्टीले खेल्नुपर्ने भूमिकाबारे नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने एमालेले जनाएको छ। रिजालका अनुसार भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन्। भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ। प्रदेशतयर्m एमालेलाई प्रत्यक्षतर्फ ९१ र समानुपातिकमा ७० सिट विजय प्राप्त गरेको छ।

प्रकाशित: ५ पुस २०७९ ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App