coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तमलोपा निर्वाचन आजबाट

नवलपरासी–परासीमा जारी तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बुधबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनले ७१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्ने वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र सदस्यसहितका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा महन्थ ठाकुरले दोहोरिने इच्छा गरेका छन् भने महामन्त्री गोविन्द चौधरीले पनि उम्मेदवारी दिने बताएका छन् । यद्यपि सहमति प्रयास भइरहेको तमलोपाले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले पुनः सोही पदमा उम्मेदवारी दिने इच्छा गरेका छन् । पार्टीमा वरिष्ठसहित तीन उपाध्यक्ष रहने प्रावधान छ । उपाध्यक्षमा बृजेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला र जीतेन्द्र सोनलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
तीन महामन्त्रीका लागि बृजेश गुप्ता, उमाकान्त झा, जंगीलाल यादव र चन्दा चौधरीबीच प्रतिस्पर्धा हुने कार्यकर्ताबीच चर्चा छ । सहमहामन्त्रीमा सुरेश मण्डल, राजेन्द्र साह, कृष्णा सिंह, अन्जु गुप्ता, पुष्पा ठाकुर र जेपी ठाकुर दाबेदार देखिएका छन् ।
वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष निर्वाचनबाट छानिने र एकजना मनोनीत हुने प्रावधान छ । त्यसैगरी एक कोषाध्यक्ष निर्वाचनबाट आउने प्रावधान छ भने सहकोषाध्यक्ष मनोनीत हुने प्रावधान छ ।
२९ जिल्लाका कुल १ हजार ६७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । कार्यसमिति गठनका लागि उच्च ओहदाका नेताले सर्वसम्मत हुन खोजे पनि अरु उम्मेदवारले अडान नछाडेका कारण सर्वसम्मतिबाटै नेतृत्व चयन हुने सम्भावना देखिएको छ ।
महाधिवेशनको दोस्रो दिन मंगलबार पार्टीको संशोधित विधान, राजनीतिक दस्तावेज र नीति तथा कार्यक्रम पारित भएको छ । बृजेश गुप्ता संयोजक रहेको समितिले तयार पारेको राजनीतिक दस्तावेज र सर्वेन्द्रनाथ शुक्ला संयोजक रहेको समितिले तयार पारेको नीति तथा कार्यक्रम बन्दसत्रमा उठेका विभिन्न बँुदा समावेश गर्दै पारित गरिएको हो । कार्यक्रममा कृषि, सिँचाइ, ऊर्जा, सडक तथा पूर्वाधार, उद्योग, व्यापार, सहकारी, पर्यटन, शिक्षा, स्वाथ्य, वन, भूमि, श्रम, महिला तथा बालबालिका एवं वृद्धवृद्धा, युवा तथा सूचना र सञ्चार गरी १७ वटा बुँदा पारित गरिएको अध्यक्ष महन्थ ठाकुरले बताए ।
नेपाली राजनीति, मधेसी समाज, मधेसी राज्य, आदिवासी तथा जनजातिको अन्तरसम्बन्ध, देशी–विदेशीको प्रभावलगायत एजेन्डामाथि छलफल भएको उनले जानकारी दिए ।

 

प्रकाशित: ८ असार २०७३ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App