१६ चैत्र २०८० शुक्रबार
राजनीति

शव ल्याउन एयरबस चार्टर

काठमाडाैं-सरकारले अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन बुधबार बिहान साढे तीन बजे विशेष टोली त्यसतर्फ पठाउँदैछ ।
परराष्ट्र मन्त्रालयमा मंगलबार बिहान ११ बजे बसेको बैठकले नेपाल वायुसेवा निगमको एयरबस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको विशेष ब्युरोका अधिकारीको टोली काबुल जाने तय भएको हो ।

गृहप्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश दाहालसहित वैदेशिक रोजगार प्रवद्र्धन विभाग र पर्यटन मन्त्रालयका एक जना प्रतिनिधि टोलीमा रहने जानकारी दिए ।
काबुल जाने टोलीमा नेपाली सेनाका दुई चिकित्सक र पारामेडिकल अफिसर र एयर लाइजन अफिसर पनि रहनेछन् । यस्तै, विशेष ब्युरोका एसपी सुदीप गिरीको नेतृत्वमा एक जना डिएसपी र एक जना नायब निरीक्षक रहनेछन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले सरकारको निर्देशनअनुसार सेनाले चार जनाको इभाकेसन टिम बनाएको जानकारी दिए ।
विमानस्थल स्रोतका अनुसार नेपाल वायुसेवाको (कलसाइन आरए २४३१) विमान काठमाडौंबाट काबुलका लागि बिहान उड्ने र बुधबार साढे १० बजे सोही विमान फिर्ता हुने तय भएको छ ।निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तान गएर फर्किंदा करिब १ करोड रुपैयाँ उडान खर्च लाग्छ । काठमाडौं–काबुलको एकतर्फी उडान करिब तीन घन्टा हुनेछ । निगमले १५८ सिट क्षमताको एयरबस ‘ए३२०–२००’ सिरिजको जहाज पठाउँदै छ ।    

‘हामीले ल्याडिङ र ओभरफ्लाइट अफगानिस्तान र बाटोमा पार्ने देशमा कूटनीतिक च्यानलबाट अनुमतिका लागि प्रक्रिया अघि बढाइसकेका छौं,’ परराष्ट्र प्रवक्ता भरत पौडेलले भने ।
सरकारले आवश्यक तयारीका लागि पाकिस्तानस्थित कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्याल मंगलबार काबुल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘अर्यालले सम्बन्धित काममा लगाउने कम्पनी, सरकारी अधिकारी, घाइतेसँग भेटिसक्नुभएको छ ।’
शव लिन जाने विमानले वैदेशिक रोजगारीका सिलसिलामा अफगानिस्तान रहेका नेपालीलाई फर्कन चाहे निःशुल्क ल्याउनेछ ।
सोमबार बिहान आतंकवादी समूह तालिबानले काबुलमा गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते छन् । तीमध्ये मानबहादुर थापा र कृष्णबहादुर देउजालाई मंगलबारै नयाँदिल्ली ल्याई एपोलो अस्पताल भर्ना गरिएको छ । ‘थप तीन जनालाई भोलि (बुधबार) नयाँदिल्ली ल्याइनेछ,’ पौडेलले भने, ‘सम्बन्धित कम्पनीले नै उपचारका लागि दिल्ली पठाएको हो ।’ घाइतेमध्ये च्याङ्बा तामाङको अवस्था गम्भीर रहेकाले चिकित्सकको अनुमतिपछि मात्रै थप उपचारका लागि बाहिर लगिने बताइएको छ ।

क्यानडेली दूतावासको सुरक्षागार्डका रुपमा कार्यरत नेपाली बेलायती सुरक्षा कम्पनीअन्तर्गत अफगानिस्तान पुगेका थिए ।
‘उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीज्यूले अफगानी समकक्षीसँग सोमबार गर्नुभएको टेलिफोन वार्तामा त्यहाँ रहेका नेपाली कामदारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ,’ पौडेलले भने, ‘वैधानिक माध्यम प्रयोग गरेर काम गर्न गएकाहरु यसअघि पनि क्षतिपूर्ति प्राप्त गरेका छन् ।’ द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा ९ हजारभन्दा बढी नेपाली कानुनी रुपमा पुगेका छन् भने त्योभन्दा ठूलो संख्यामा गैरकानुनी ।
यसअघि प्रधानमन्त्री केपी ओलीले अफगानिस्तानमा आत्मघाती आक्रमणमा मृत्यु भएका नेपालीको शव लिन निगमको जहाज पठाउन निर्देशन दिएका थिए ।

घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाएको छ । शव ल्याउने तयारीका लागि मंगलबार दिउँसो पराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, श्रममन्त्री दीपक बोहोरासहित नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाली सेना, नेपाल प्रहरीसहितको प्रतिनिधिको बैठक भएको थियो ।

 

प्रकाशित: ८ असार २०७३ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App