coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एयर लिफ्ट गरी दुई घाइते दिल्ली लगियो, उद्धार टोली तयारी अवस्थामा

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पाैडेल। तस्विरः विजय गजमेर

काठमाडौं— काबुलमा भएको आत्माघाती बम आक्रमणमा घाइते भएकामध्ये दुई जनालाई एयर लिफ्ट गरी थप उपचारका लागि नयाँ दिल्ली पुर्‍याइएको छ। बमले लागेर घाइते भएका चितवनका मानबहादुर थापा र चितवनकै कृष्णकुमार देउजालाई दिल्ली लगिएको हो।

घाइते उनीहरुलाई दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य तीन जनालाई भोलि उद्धार गरी नयाँ दिल्ली पुर्‍याउने तय भएको बताइएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलका अनुसार घटनाका अन्य ५ घाइतेको पनि उद्धार प्रयास भइरहेको छ। सोमबार बिहान काबुलमा भएको आत्मघाती बम विस्फोटमा १२ नेपालीको मृत्यु भएको थियो। ७ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता पौडेलले बताए।

'घाइतेमध्ये नुवाकोटका च्याङ्बा तामाङको अवस्था गम्भीर छ। डाक्टरले जहाजमा लैजान अनुमति दिएमा उनलाई पनि थप उपचारका लागि उद्धार गर्नेछौं', परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने।

जहाज पठाउन कुटनीतिक अनुमतिको पर्खाइ

अफगानिस्तानमा मारिएका १२ नेपालीको शव नेपाल ल्याउन नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। जहाज पठाउनका लागि अफगानिस्तानसँग ल्यान्डिङ अनुमति तथा भारत र पाकिस्तानसँग आकासको अनुमति लिन अनुरोध पठाइसकिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

'प्लेन जाँदा रुटमा अरु देशहरु पनि पर्दछन्। उनीहरुको आकाश प्रयोग गर्न तथा ल्यान्डिङका लागि अफगानिस्तानसँग अनुमति लिन कुटनीतिक च्यानलबाट अनुरोध गइसकेको छ', उनले भने, 'अनुमति पाउना साथ हामी यहाँबाट जहाज पठाउछौं।'

घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत तीर्थ सिग्देल अफगानिस्तान पुगिसकेको जानकारी दिँदै प्रवक्ता पौडेलले हवाइ उडानका लागि अनुमति पाउना साथ काठमाडौंबाट जहाज पठाइने बताए। उद्धारका लागि काबुल जान नेपाली उद्धार टोली तयारी अवस्थामा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

उद्धार तयारीबारे यसअघि परराष्ट्र मन्त्रालयमा गृह, परराष्ट्र र नागरिक उड्डयन, नेपाली सेना, नेपाल प्रहरी तथा वैदेशिक रोजगार विभागका प्रतिनिधिबीच छलफल भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ नेपालीको शव नेपाल ल्याउन निगमको जहाज पठाउन मंगलबार निर्देशन दिएका थिए। पाकिस्तानबाट गएको नेपाली टोलीले अफगानिस्तानमा सबै कानुनी प्रक्रिया पूरा गरेपछि परराष्ट्रमा जानकारी गराउने र त्यसपछि नेपाल वायुसेवा निगममो जहाज मृतकको शव लिन काठमाडौंबाट काबुल जाने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रमोद दाहालले जानकारी दिए।

सोमबार काबुलमा भएको आत्मघाती आक्रमणमा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ७ असार २०७३ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App