७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसद कोषको रकम खर्च भएन

ललितपुर- ललितपुर जिल्लाका सांसद विकास कोषको अधिकांश रकम फ्रिज हुने सम्भावना बढेको छ। सांसद विकास कोषबाट आएको ६ करोड १० लाख रुपैयाँमध्ये हालसम्म जम्मा १ करोड ७० लाख रुपैयाँमात्र खर्च भएको ललितपुर जिल्ला विकास समितिले जनाएको छ। ललितपुरमा गत वर्ष कोषबाट आएको ५ करोड रुपैयाँ फ्रिज भएको थियो।

आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माण गर्न सांसदलाई निश्चित रकम उपलब्ध गराइन्छ। चालु आर्थिक वर्ष सकिन एक महिना पनि नभएका बेला विकास निर्माणका लागि आएको रकम सांसदले समयमै परिचालन गर्न नसक्दा फ्रिज हुने सम्भावना बढेको हो।

हरेक सांसदले तोकिएको मापदण्ड र नियम अनुसार सांसद विकास कोषबाट आएको ५० प्रतिशत रकम पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने हुन्छ। त्यस्तै कोषको रकम १२ वटा योजनामा २० लाखका दरले रकम खर्चिनुपर्ने व्यवस्था छ। तर सांसद आवको अन्त्यमा बजेट खर्च सक्न लागिपरेका छन्। आवको अन्त्यमा कोषबाट आएको पूर्ण बजेटमध्ये २० प्रतिशत भन्दा पनि न्यून रकम खर्च भएकाले सांसदमार्फत् विकास निर्माणका लागि दिइएको रकम समेत फ्रिज हुने डर देखिएको छ।

कोषले प्रत्यक्ष निर्वाचित सांसदलाई १ करोड ७० लाख र समानुपातिक प्रणालीबाट मनोनित सांसदलाई २० लाखका दरमा स्थानीय विकास मन्त्रालयमार्फत् रकम विनियोजन गर्दै आएको छ। कोषबाट आएको रकम आव सकिनैलाग्दा हतार गरी विकास निर्माणमा खर्च गर्दा दीगो र टिकाउ निर्माण कार्य नहुने र झारा टार्ने काम मात्रै हुने विज्ञको भनाइ छ। ३ वटा निर्वाचन क्षेत्र रहेको ललितपुर जिल्लामा यसवर्ष समानुपातिक र प्रत्यक्ष निर्वाचित सासंदलाई ६ करोड १० लाख रुपैयाँ रकम कोषबाट विनियोजन भएको थियो। जसमध्ये अधिकांश सांसदले विनियोजित बजेट कार्यान्वयन गर्न चासो दिएका छैनन्।

ललितपुर क्षेत्र नं ३ का सांसद मदन अमात्यले कोषबाट आएको रकममध्ये करिब ६५ लाख रुपैयाँ जिल्लाका विभिन्न विकास निर्माणका काममा खर्च भएको बताए। उनले गत वर्ष वैशाखमा गएको भूकम्पले लडाएको हरिसिद्धि भवानीको मन्दिर पुनर्निर्माणमा २० लाख रुपैयाँ छुट्याएको र ज्यापु समाजको भवन निर्माणका लागि १५ लाख रुपैयाँ छुुट्याएको बताए। उनले आव सकिनै लागेकाले विकास निर्माणका काम दु्रत गतिमा भइरहेको बताए। सांसदहरूले जिल्ला विकास समितिमा बुझाएको प्रतिवेदन अनुसार भने अधिकांशले सम्पदा पुनर्निर्माण र पूर्वाधार विकासमा कोषको रकम खर्च गर्ने उल्लेख भए पनि केही दिनमात्र समय बाँकी भएकाले विकास निर्माणका काम पूरा गर्न नसकिने ललितपुरका स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताए। सांसदले छुट्याएको शीर्षकमा अहिलेसम्म रकम खर्च गरेका छैनन्।

आफ्नो क्षेत्रको विकासका लागि सांसदले सरकारबाट आएको रकमको उचित परिचालन गर्न नसक्दा रकम फ्रिज हुने गरेको एलडिओ दाहालले जानकारी दिए। उनले सांसदहरुले आफ्नो क्षेत्रको विकास निर्माण बजेट सम्बन्धित क्षेत्रमा खर्च गर्न खासै चासो नदिएको बताए। ललितपुर जिल्लामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ८ जना सांसद छन्।

जिल्लामा आफ्नो क्षेत्र विकासको लागि कतिपय सांसदहरु संासद विकास कोषबाट आएको रकम खर्च गर्नको लागि आफै खटिएका छन् भने कतिपय सांसदहरुले  आफ्ना नीजि सहायकलाई पूर्वाधार निर्माणको जिम्मा दिएका छन्। ललितपुर क्षेत्र नं २ का सांसद चन्द्र महर्जनले ज्यापु समाजको शौचालय निर्माणमा रकम खर्चिसकेका छन्। त्यस्तै पाटन क्याम्पसमा सोलार जडानमा रकम खर्चिएका छन्।

 नेपाली कांग्र्रेस ललितपुरका सचिव भीमसेन घिमिरेले सम्झौता ढिलो हुने गरेका कारण विकास निर्माणको लागि आएको बजेट फ्रिज हुने गरेको बताए। उनले कमजोर सरकारी नीति र कार्य प्रणालीका कारण आवको अन्त्यमा विकास निर्माणका गतिविधि सञ्चालन हुने गरेको जानकारी दिए।

त्यस्तै क्षेत्र नं १ का सांसद उदय शम्सेर राणा र सुशीला नेपालले ग्रामीण क्षेत्रको मोटरबाटो निर्माण भइरहेको जानकारी दिए। ललितपुरमा कोषबाट आएको रकम खर्चमा भवन निर्माण, विद्यालय मर्मत, खानेपानी, मठमन्दिर र स्थानीयस्तरका सडक निर्माण कार्यले प्राथमिकता पाउने गरेको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको बताउँछन्।

कोषको रकम सम्पदा निर्माणमा

गत बर्ष वैशाख १२ गते भएको भूकम्पले ललितपुरको हरिसिद्धिमा रहेको भवानीको मन्दिर भत्काएपछि उक्त मन्दिर पुर्नर्निमाण भइरहेको छ। सांसद विकास कोषबाट आएको रकमबाट उक्त मन्दिर पुनर्निर्माण गर्न लागिएको हो। सांसद विकास कोषबाट आएको रकम ललितपुर क्षेत्र नं का सांसद मदन अमात्यले गत बर्ष वैशाख १२ गते गएको भूकम्पले भत्काएको मन्दिर निर्माणमा खर्चेका छन्। ललितपुरको हरिसिद्धिमा रहेको हरिसिद्धि भवानी मन्दिर निर्माणको लागि सांसद अमात्यले २० लाख रकम छुट्याएका हुन्। आर्थिक बर्ष सकिनै लाग्दा मन्दिरको पुर्ननिर्माणलाई ध्यानमा राख्दै दु्रत गतिमा पुर्ननिर्माणको काम थालनी गरेको सांसद मदन अमात्यले जानकारी दिए। उनले जिल्लाकोे गरिमा बोकेको भवानी मन्दिर निर्माणको लागि आफूले २०  लाख रकम छुट्याएको र यदि अपुग भए रकम थप्दै जाने बताए। गत वैशाख १२ गते गएको भूकम्पले उक्त मन्दिरको आधा भाग लडाएको थियो। मन्दिरको १ महिनामा पुर्ननिर्माण गराइसक्ने लक्ष्य लिइएको छ।

प्रकाशित: ७ असार २०७३ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App