१५ चैत्र २०८० बिहीबार
राजनीति

कर्णाली प्रदेशसभामा नयाँ अनुहार धेरै

कर्णाली प्रदेशसभाले चारजनाबाहेक सबै नयाँ सदस्य पाउने भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार हुन्। समानुपातिक बन्दसूचीमा पनि सबै राजनीतिक दलले नयाँ अनुहारलाई राखेका छन्।

प्रदेशसभामा दोहोरिएका चारजनामध्ये एक मुख्यमन्त्रीसहित तीनजना बहालवाला मन्त्री छन्। मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट, आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट सुर्खेतुबाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही डोल्पाबाट निर्वाचित भएका छन्। यस्तै नेकपा एमालेबाट सुर्खेतुबाट यामलाल कँडेल दोहोरिएका छन्। कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समान ९–९ सिट जितेका छन् भने नेकपा एमालेले ५ तथा स्वतन्त्रले एक स्थानमा जित निकालेका छन्। प्रत्यक्षतर्फ जितेका कांग्रेसका नौमध्ये आठजना नयाँ अनुहार प्रदेशसभामा प्रवेश गर्दैछन्। सल्यानबाट सुरेश अधिकारी, कालिकोटबाट हिक्मतबहादुर विष्ट, जाजरकोटबाट बेदराज सिंह र राजीवविक्रम शाह, दैलेखबाट पूर्णबहादुर खत्री, कृष्णकुमार विसी, घनश्याम भण्डारी र सुर्खेतबाट खड्कबहादुर पोखरेल नयाँ अनुहारका रूपमा प्रदेशसभामा प्रवेश गर्दैछन्।

यस्तै माओवादी केन्द्रबाट सल्यानबाट भीमप्रकाश शर्मा, मुगुबाट मंगलबहादुर शाही, कालिकोटबाट दुर्गाबहादुर रावत, हुम्लाबाट रनसिंह परियार, सुर्खेतबाट कृष्णबहादुर जिसी, रूकुम पश्चिमबाट महेन्द्र केसी र राजकुमार शर्मा प्रदेशसभाका लागि नयाँ अनुहार हुन्। कालिकोटबाट निर्वाचित रावत भने २०७४ सालको निर्वाचनमा संघीय सांसद थिए।  

नेकपा एमालेबाट डोल्पाबाट निर्वाचित शेरबहादुर बुढा, मुगुबाट निर्वाचित जीतबहादुर मल्ल, जुम्लाबाट निर्वाचित टेकबहादुर पछाई र दैलेखबाट निर्वाचित विनोदकुमार शाह पनि नयाँ अनुहार हुन्। यस्तै स्वतन्त्र उठेर जितेका जुम्लाका देवेन्द्रबहादुर शाही पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दैछन्। कांग्रेसबाट टिकट नपाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

४० सदस्यीय प्रदेशसभामा १६ जना समानुपातिकबाट सांसद बन्नेछन्। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मतपरिणाम अनुसार कर्णाली प्रदेशसभामा समानुपातिकतर्फ नेपाली कांग्रेस र नेकपा एमालेले पाँच–पाँच, माओवादी केन्द्रले चार र नेकपा एकीकृत समाजवादी र राप्रपाले एक–एक सांसद पाउँछन्। प्रत्यक्षतर्फ कुनै पनि दलबाट महिला सांसदले निर्वाचन नजितेकाले समातुपातिकतर्फ १६ मध्ये १३ जना अनिवार्य महिला हुनुपर्छ।

प्रदेशसभा सिंगारियो

प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै कर्णाली प्रदेशसभा सांसदको स्वागतका लागि तयारी अवस्थामा छ। प्रदेशसभा सचिवालयले कार्यालय व्यवस्थापन, विभिन्न कार्यकक्ष सजावट, रङरोगन, बगैंचा गोडमेल तथा मर्मत सम्भारलगायत काम गरिरहेको छ।  ‘प्रदेशसभाको पहिलो कार्यकाल ठाउँ सार्दैमा बित्यो, अहिले स्थायी भवनबाटै नयाँ आउने प्रदेशसभा सदस्यलाई स्वागत गर्ने तयारी थालेका छौं,’ प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘हामीले लगभग सबै तयारी पूरा गरिसकेका छौं।’

सभाभुख र उपसभामुखसहित संसदीय दलका विभिन्न कार्यकक्ष आकर्षक बनाइएका छन्। अघिल्लो कार्यकालभन्दा योपल्ट दुई दलका संसदीय कार्यालय थपिने छन्। यसअघिको प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राप्रपाका लागि संसदीय दलको कार्यालयको व्यवस्था गरिएको थियो। नेकपा एकीकृत सामाजवादी र स्वतन्त्र सांसदका लागि पनि कार्यालय व्यवस्थापन गरिएको उनले जानकारी दिए।

प्रदेशसभा सचिवालयले पुराना गाडी पनि मर्मत गरिरहेको छ। प्रदेशसभाले अघिल्लो कार्यकालका प्रदेशसभा सदस्य, सभामुख, उपसभामुखलगायतलाई बिदाइ पनि गरेको छैन। प्रदेशसभाले नयाँलाई स्वागत र पुरानालाई बिदाइ कार्यक्रम सँगै राख्ने तयारी थालेको छ।

अधिकांश सांसद ५० वर्षमाथिका

कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये अधिकांश ५० वर्षमाथिका छन्। निर्वाचन आयोगका अनुसार ५० देखि ७० वर्ष उमेर समूहका १७ जना छन् भने ४० देखि ५० वर्ष उमेर समूहका ६ जना छन्। यस्तै ३० देखि ४० वर्ष उमेर समूहका एकजना छन्।  

आयोगका अनुसार दैलेखबाट निर्वाचित नेकपा एमालेका विनोदकुमार शाह सबैभन्दा बढी ६६ वर्षका हुन् भने सबैभन्दा कान्छा सांसद दैलेखबाट निर्वाचित नेपाली कांग्रेसका घनश्याम भण्डारी हुन्। भण्डारी ३९ वर्षमा हिँड्दै छन्। ६०–७० वर्ष उमेर समूहको सूचीमा सुर्खेतबाट निर्वाचित सांसद यामलाल कँडेल, कालिकोटबाट निर्वाचित हिक्मतबहादुर विष्ट र जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही छन्। कँडेल ६१, विष्ट ६१ र शाही ६० वर्षका हुन्।

त्यस्तै ५०–५९ वर्ष उमेर समूहमा रूकुम पश्चिमबाट निर्वाचित महेन्द्र केसी (५०), राजकुमार शर्मा (५१) छन्। सुर्खेतुबाट निर्वाचित खड्गबहादुर पोखरेल (५९), दैलेखबाट निर्वाचित पूर्णबहादुर खत्री (५५) र कृष्णकुमार बिसी (५८), जाजरकोटबाट निर्वाचित राजिवविक्रम शाह (५४), हुम्लाबाट निर्वाचित जीवनबहादुर शाही (५८), सल्यानबाट निर्वाचित सुरेश अधिकारी (५४), कालिकोटबाट निर्वाचित दुर्गाबहादुर रावत (५४), मुगुबाट निर्वाचित मंगलबहादुर शाही (५४), डोल्पाबाट निर्वाचित वीरबहादुर शाही (५५), सल्यानबाट निर्वाचित भीमप्रकाश शर्मा (५८), मुगुबाट निर्वाचित जीतबहादुर मल्ल (५२) वर्षका हुन्।

यसैगरी ४०–४९ वर्ष उमेर समूहमा सुर्खेतबाट निर्वाचित कृष्णबहादुर जिसी र विन्दमान विष्ट (४३), हुम्लाबाट निर्वाचित रनसिंह परियार (४६), जाजरकोटबाट निर्वाचित वेदराज सिंह (४२) जुम्लाबाट निर्वाचित टेकराज पछाई (४२) र डोल्पाबाट निर्वाचित शेरबहादुर बुढा ४५ वर्षका छन्।

प्रकाशित: २४ मंसिर २०७९ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App