coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमका ठूला आयोजना प्राथमिकतामा: प्रधानमन्त्री देउवा

सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री देउवा। तस्बिरः पुष्पराज जोशी/नागरिक

सरकारले सुदूरपश्चिमका ठूला आयोजनालाई प्राथमिकता दिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पञ्चेश्वर, चमेलिया र पश्चिम सेती परियोजना निर्माण हुने र भइरहेको बताए। उनले भने,‘पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिनुभएको छ, पश्चिम सेती पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ।’ पश्चिम सेती आएको खण्डमा सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए। ‘पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्छ,’ उनले भने,‘जसले गर्दा यहाँको आर्थिक उन्नति हुने निश्चित छ।’

उनले यहाँको विकासका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना, महाकाली तेस्रो सिँचाइ आयोजना, दोधरा चाँदनी सुख्खा बन्दरगाह निर्माणमा सरकारले पहिलो प्राथमिकता दिएको बताउँदै उनले भने,‘सुदूरपश्चिमका ठूला र आर्थिक महत्व राख्ने आयोजनामा सरकारको पहिलो प्राथमिकता रहेको छ र रहने छ।’ उनले धनगढीसँग जोडिएको भारतीय नाका गौरीफन्टालाई ठूलो नाकाका रुपमा विकास गर्न भारतका प्रधानमन्त्रीसँग कुरा गरेको बताउँदै भने,‘यो नाकाका विषयमा पहिले पनि कुरा गरेको थिएँ, पुनः कुरा गर्छु। मलाई विश्वास छ केही न केही समाधान निस्कन्छ।’ दुधुवा नेश्नल पार्क अन्तर्राष्ट्रिय जैविका मार्ग भएकाले त्यसलाई बचाएर उपाय निकाली ठूलो नाकाका रुपमा विकास गर्न पहल गर्ने उनले बताए।

सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको धनगढीमा आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सवले यस क्षेत्रमा उत्पादन भएको कृषि उपजको बजारीकरणमा मद्दत पुग्ने उनले बताए।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सवको सञ्चालन भएको हो। महोत्सवको उद्घाटन गर्न आइपुगेका प्रधानमन्त्री देउवालाई सुदूरपश्चिमका विभिन्न माग राख्दै १५ केजीको माला लगाइएको थियो। उद्योग वाणिज्य संघले प्रदेशको गौरीफन्टा नाकालाई ठूलो नाका बनाइनु पर्ने, धनगढी विमानस्थलको स्तरोन्नति गरिनुपर्ने, औद्योगिक ग्राम स्थापना गर्नुपर्ने, गौरीफन्टादेखि मानसरोवर जोड्ने सडक निर्माण गरिनुपर्ने, धनगढीमा प्रदर्शनीस्थलको व्यवस्था गरिनुपर्ने, आइटी हब निर्माण गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्री देउवालाई १५ केजीको माला पहिर्‍याइएको थियो।  

प्रकाशित: २२ मंसिर २०७९ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App