coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सन्तोषजनक निर्वाचन सुरक्षा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा २६० वटा सुरक्षा चुनौतीका घटना भएका छन्। असोज २३ मा मनोनयन दर्ता भएयता मंसिर २० सम्म चलेको मतगणना सकिँदाका ५९ दिनसम्मको अवधिमा २६० वटा सुरक्षा चुनौतीका घटना भएको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

मनोनयन दर्ताअघिका केही दिनदेखि मतदानको अघिल्लो दिनसम्म प्रचार–प्रसारका अवधिमा ७९ घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ; जसमा सबैभन्दा बढी ४३ घटना ‘शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ’ फेलासम्बन्धी घटना भएका छन्। यस्तै प्रचार-प्रसारका अवधिमा दल तथा कार्यकर्ताबीच द्विपक्षीय झडपका १६ वटा घटना भएका छन् भने १६ वटा अन्य घटना भएका छन्। दुईवटा झडपका घटना प्रहरीसँगै भएका छन्।

यस्तै मतदानका दिन १५८ घटना भएका छन्; जसमा ‘शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ’ भेटिएका ५८, द्विपक्षीय झडपका २६, सुरक्षा निकायसँग झडपका दुई, मतपत्र च्यात्ने र मतपेटिकामा क्षति पुर्‍याउने १४, मतदानमा खटिएका कर्मचारीको लापरबाहीका ८ घटना भएका छन्। यस्तै मतपेटिका ढुवानीका क्रममा चारवटा घटना भएको प्रहरी तथ्यांक छ।

मतगणनाका क्रममा ११ वटा घटना भएको तथ्यांक छ भने विजय जुलुसमा ३ घटना भएका छन्। यस्तै ५ घटनामा पुनः मतदान भएको छ।

मधेसमा विस्फोटक पदार्थ नै भेटिएन

सबै प्रक्रियाका दौरान शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ भेटिएका १०१ घटना फेला परेको प्रहरीले जनाएको छ। यस्ता विस्फोटक पदार्थ सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २७, बागमती प्रदेशमा २३, लुम्बिनी प्रदेशमा १७, प्रदेश १ मा १६, कर्णाली प्रदेशमा १४, गण्डकी प्रदेशमा चारवटा फेला परेका छन्। यसपटक मधेस प्रदेशमा भने यस्ता घटना देखिएनन्।

त्यस्ता घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता पाइएको प्रहरीले जनाएको छ। ‘यसमा विप्लव समूहकै संलग्नता देखिन्छ। यद्यपि उहाँहरू स्वीकार गर्नुहुन्न’, नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने, ‘केही ठाउँमा हामीले यस्ता गतिविधिमा संलग्न विप्लव समूहका कार्यकर्ता पक्राउ गरेका छौं। त्यही कारण मूलतः यसमा उहाँहरूकै संलग्नता देखिन्छ।’

१२२ फायर गोली चल्यो, एकजनाको मृत्यु

निर्वाचन सुरक्षाकै दौरान १२२ राउन्ड गोली चलेको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ। यसमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ३९ राउन्ड चलेको छ भने दोस्रोमा ३८ राउन्ड सुदूरपश्चिम प्रदेशमा चलेको छ।

यस्तै बागमती प्रदेशमा ३० राउन्ड, प्रदेश १ मा ७ राउन्ड, मधेसमा ६ राउन्ड र गण्डकीमा २ राउन्ड गोली चलेको देखिन्छ। जिल्लागत रूपमा सबैभन्दा बढी हुम्लामा ३१ राउन्ड गोली चलेको प्रहरी तथ्यांकले देखाउँछ। यस्तै दोस्रोमा दोलखामा २९ राउन्ड र तेस्रोमा बाजुरामा २८ राउन्ड गोली चलेको देखिन्छ।

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा तनाव बढ्दै गएपछि प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका सञ्जीव अयडीको मृत्यु भएको थियो। सोही ठाउँमा द्विपक्षीय झडप हुँदा अर्का युवा चेतन अयडीको पनि मृत्यु भएको थियो।

यस्तै ताप्लेजुङ, सिरहा, रौतहट, चितवन, स्याङ्जा, डोल्पा, डोटी, दार्चुला, बझाङ र अछाममा पनि गोली चलेको थियो। बाजुराको एक राउन्डबाहेक बाँकी हवाई फायर मात्रै गरिएको प्रहरीले जनाएको छ।

सुरक्षामा खटिएका ७ प्रहरी र १ म्यादीको मृत्यु

यस्तै निर्वाचन सुरक्षामा खटिएका ७ प्रहरी र एकजना म्यादी प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सबै जनाको मृत्यु दुर्घटनामा परेर भएको हो।

मतदानको दोस्रो दिन बैतडीको पाटन नगरपालिका-४ थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने मंसिर ४ मा कपिलवस्तुको बाणगंगा नगरपालिका-३ सिउटीमा सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो।

यस्तै कात्तिक १७ गते गस्ती हिँडेकी एक म्यादी प्रहरीको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१ मा भीरबाट लडेर मृत्यु भएको थियो। यस्तै सुरक्षाकै क्रममा विभिन्न घटनामा परी १८ जना प्रहरी र १९ जना म्यादी प्रहरी घाइते हुन पुगेको पनि प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ।

केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी राई बताउँछन्। ‘हामी शून्य घटना नै चाहन्छौं। एक फायर चलाउनु नपरोस्, कुनै हताहती नहोस् भन्ने चाहन्छौं’, उनले भने, ‘त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।’

यसपटक अपेक्षा गरेअनुसार नै प्रतिस्पर्धी दल र उम्मेदवारबीचको द्वन्द्व नै प्रमुख समस्या देखिएको डिआइजी राईले बताए। उनले भने, ‘थोरै समन्वय र सद्भावको कमी देखिएको छ। आगामी दिनमा त्यो समाधान हुँदै जाला।’  

प्रकाशित: २२ मंसिर २०७९ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App