८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद शाहीले थाले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल

प्रमुख जिल्ला अधिकारीसँग संवाद गर्दै सांसद नरेश कुमार शाहीसहित। तस्बिर: नागरिक

नवनिर्वाचित प्रदेशसभा सदस्य नरेश कुमार शाहीले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल सुरु गरेका छन्। मतपरिणाम आएको हप्तादिन नबिल्तै शाहीले चारवटा स्थानीय तह रहेको क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना हुन पर्ने माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत जानकारी गराएका हुन्।

शाही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभा (क) बाट निर्वाचित बनेका हुन्। निर्वाचित भएको प्रमाण पत्र बुझेकै दिन शाहीले स्थानीयको सहजता र सुविधाका लागि बर्षौदेखि माग गरिएको र अति आवश्यक पर्ने इलाका प्रशासन कार्यालय तत्काल स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका छन्।

कोल्टी क्षेत्रको पीलुचौर वा कोल्टी जुनसुकै स्थानमा भएपनि इलाका प्रशासन कार्यालय सञ्चालन गर्नु पर्ने माग यस अघि पनि उठ्दै आएको थियो। निवर्तमान सांसद बल्देव रेग्मी सहितको पालिका नेतृत्वले समेत कुण्डा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रतिवद्धताहित आधाबढी प्रक्रिया समेत पुरा भएको छ।

जनताको सेवाका लागि निर्वाचित भएपछि जनताको काममा नै प्रतिवद्ध हुने गरि आफूले काम अघि बढाउने नवनिर्वाचित सांसद शाहीले बताएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य शाहीले निर्वाचित प्रमाण पत्र बुझेकै दिन जनताको कामको थालनी गरेका हुन्।

जवाफमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया थालनी गर्न सहयोग गर्ने बताएका छन्। शाहीले मार्तडी कोल्टी सडकखण्डअन्तरगत पर्ने दाँङसागु र अनाईखोलामा बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन, मार्तडी कोल्टी सडकको भाडा दर व्यवस्थापन गर्न कोल्टी क्षेत्रको टेलिफोन सेवा सहज र केन्द्रीय प्रशारण लाईन विस्तार अघि बढाउन आग्रह गरेका हुन्।

नवनिर्वाचित सांसद नरेश शाहीसहित समाजवादी पार्टीका जिल्ला अध्यक्ष पुरबहादुर रावत, धर्म बहादुर शाही लगायत सहभागी थिए। शाहीले थालेको पहल कदमी प्रति स्थानीयले सामाजिक सञ्जाल मार्फत धन्यवाद व्यक्त गरेका छन्।  

प्रकाशित: २१ मंसिर २०७९ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App