coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘स्थायी राजधानी कार्यान्वयन भयो’

२०७७ असोज २० गते तत्कालीन ५ नम्बर प्रदेशको नामाकरण र स्थायी मुकाम प्रदेशसभाको दुई तिहाई बहुमतले पास गर्यो ‘नाम: लुम्बिनी, स्थायी राधजानी देउखुरी उपत्यका।’ दुई तिहाई बहुमतबाट पास भएको स्थायी राधजानी कार्यान्वयनको पाटो दुई बर्ष भन्दा बढि समय सम्म अन्यौलमा रह्यो। कारण – भौतिक पूर्वाधारको समस्या। प्रदेशको स्थायी मुकाम यहाँ रहेको राप्ती प्राविधिक शिक्षालयको भवनलाई केन्द्रमा राखेर हेरिएको थियो। तर यो प्राविधिक शिक्षालयको स्थानान्तरको कानुनी प्रकृया पूरा हुन समय लाग्यो।  

संघीय सरकार मातहतको यो शिक्षालयको भौतिक पूर्वाधारको भोगाधिकार प्राप्तीका लागि प्रदेश सरकारलाई उपल्लो सरकारको अनुमती अपरिहार्य थियो। गढवा गाउँपालिकामा रहेको सरस्वती माविको भवनमा प्राविधिक शिक्षालयलाई स्थानान्तरण गर्ने विकल्प सहित प्रदेश सरकारले संघीय सरकार समक्ष शिक्षालयको भौतिक संरचना भोगाधिकारका लागि अनुमती दिन माग गर्यो। संघीय सरकारले यो प्रस्तावलाई पास गरिदियो र प्राविधिक शिक्षालयको सम्पूर्ण संरचनाको भोगाधिकार प्रदेश सरकारले पायो। अनि प्रदेश सरकारलाई स्थायी राजधानी कार्यान्वयनको बाटो खुला भयो।

भौतिक संरचनाको भोगाधिकार प्राप्ती पछि राजधानी कार्यान्वयनको तीब्र तयारी थालिएको स्थायी राजधानी कार्यान्वयनको कामले मंगलबार औपचारिकता पाएको छ। मुख्यमन्त्री कार्यालय अस्थायी मुकाबाट स्थायी थलोमा स्थानान्तरण भएपछि स्थायी राजधानी कार्यान्वयनको काम औपचारिक भएको प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी बताउँछन्। ‘अब स्थायी थलोमा स्थायी राजधानी कार्यान्वयन भयो,’ उनले भने ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्थानान्तरण भएपछि स्थायी राजधानी कार्यान्वयन भएको भनेर भन्न सकिने भयो।’  

उनका अनुसार बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयको मुकाम बन्द गरिएको छ। अब मुख्यमन्त्रीको कामकाज स्थायी थलोबाटै हुने छ। ‘बुटवलमा अब मुख्यमन्त्रीको सम्पर्क कार्यालय पनि छैन,’ मन्त्री चौधरीले भने ‘अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै हुनेछ।’ मुख्यमन्त्री कार्यायलय स्थानान्तरण भएसंगै अब यस मातहतका निकायहरुपनि स्थायी राजधानीमै स्थानान्तरण हुनेछन्। मुख्यमन्त्रीको कार्यालय मातहतका प्रदेश योजना आयोगको कार्यालय,प्रमुख नयायाधिवक्ताको कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अब तत्कालै स्थानान्तरण गर्ने तयारीमा सरकार छ। ‘मुख्यमन्त्रीको कार्यालय आईसकेपछि अब यस मातहतमा रहने निकायहरु तत्कालै स्थानान्तरण हुनेछन्,’ स्वास्थ्य मन्त्री चौधरीले भने ‘यि निकायहरुको व्यवस्थापनका लागि भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेको छ।’  

यसैगरि अर्थ मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषी मन्त्रालय पनि तत्कालै स्थानान्तरण गरिने सरकारले जनाएको छ। ‘यी मन्त्रालयहरुको सञ्चालनका लागि भवनहरुको मर्मतको काम भैरहेको छ,’ मन्त्री चौधरीले भने ‘मर्मत, डेकोरेशनको काम सकिनासाथ यी मन्त्रालयहरु पनि स्थायी राजधानीमा आईहाल्छन्।’ अहिले सम्म स्वास्थ्य मन्त्रालय देउखुरीमा आईसकेको छ भने शहरी विकास मन्त्रालयको भवन पनि देउखुरीमा छ। स्वास्थ्य मन्त्रालयको कामकाज देउखुरीबाटै भैरहेको छ तर शहरी विकास मन्त्रालयको कामकाज भने बुटवलबाटै हुँदै आएको छ।

प्रकाशित: २० मंसिर २०७९ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App