७ वैशाख २०८१ शुक्रबार
राजनीति

गीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन्। 

उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताए। त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने उनको भनाई छ।

नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गिय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनको निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताए। 

उनले भने ‘हाम्रो मौलिकताको आधार नारायणगोपाल गुरुवाचार्य हुनुहुन्छ। हामीले नारायण गोपाल अर्को जन्माउनु जरुरी छ मौलिकता बचाउने हो भने। हामीले आफ्नो मौलिकता बिर्सेर अर्कैतिर दौडिएका छौँ कि? गम्भिर प्रश्न छ। मौलिकता सँग नजोडिएको सभ्यता, संस्कृति, मानव बस्ती आफ्नो पहिचान बोकेको हुन सक्दैन। पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्न यो क्षेत्रमा पछिल्लो पुस्ता पनि जन्मिनु जरुरी छ। त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्छ।’

नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए। गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पुर्‍याउनुपर्ने बताए। 

उनले भने ‘गीत संगीत भनेको कुनै दलको हुँदैन। कुनै भाषा अथवा कुनै धर्मको हुँदैन। त्यो राष्ट्रको हुन्छ। गीतकार, संगीतकारहरुले राष्ट्रको प्रतिविम्व झल्काउने गर्नुहुन्छ। त्यस अनुसार हामीले उहाँहरुलाई सम्मान गर्न सकिरहेका छैनौँ। त्यो कुरालाई आगामी दिनमा महशुस गर्ने स्थिति निर्माण गर्न सक्नुपर्छ। स्वर राम्रो हुनेले राम्रो शब्द प्राप्त गर्नुपर्छ। शब्द र स्वर दुवै राम्रो भएर पनि पुग्दैन, संगीत पनि राम्रो हुनुपर्छ। यो त्रिकोणात्मक विधामा जसले योगदान गर्नुभयो। त्यसले राष्ट्रको मौलिकता जोगाउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ। पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेका छन्। तर हामी त्यो कुरामा पछाडी परिरहेका छौँ।’

उनले पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भएपनि नेपाली गीत, संगीत पछि परिरहेको बताए। उनले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १९ मंसिर २०७९ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App