७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस नेतृत्वको गठबन्धनमा गडबडी दाहाल ‘मिसन प्रधानमन्त्री’

नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन्। निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बनाउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँट हुनुपर्ने दाबी प्रस्तुत गर्न थालेका छन्।  

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन्। नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ। माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ।  

सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि दाहालले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका छन्। नेकपा एस भने दाहाल एमालेतिर नजिक हुन खोजेपछि कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्नेमा उभिएको छ। ‘माओवादीको स्वभाव मिसन प्रधानमन्त्री देखियो। उसले गठबन्धन छाड्ने अवस्था आउन लाग्यो। जसले गर्दा हामीले यही गठबन्धनलाई जोगाएर जानुपर्छ भनेर सचिवालय बैठकबाट निर्णय गरायौं’, नेकपा एसका एक पदाधिकारीले भने। माओवादी पदाधिकारी बैठकले आइतबार सरकार गठनका लागि सबै पक्षसँगको सहकार्यलाई खुला गरेपछि नेकपा एस झस्किएको छ। गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेको नेकपा एस प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्नेमा दृढ रहेको ती नेताले बताए।  

माओवादी अध्यक्ष दाहालले आफैं प्रधानमन्त्री हुन सक्रियता बढाएपछि गठबन्धनको भविष्य अन्योलमा परेको नेकपा एसका ती पदाधिकारीले बताए। ‘एकातर्फ कांग्रेस सबैभन्दा ठुलो छ, प्रधानमन्त्रीमा उसको दाबी छ। गठबन्धनभित्रकै माओवादीले पनि प्रधानमन्त्री दाबी गरेको छ। यस्तो अवस्थामा एमालेले मिलेर सरकार बनाउने भन्यो भने माओवादी लचिलो हुन सक्छ’, ती पदाधिकारीले भने।  कांग्रेस सभापति शेरबहादुर देउवा भएकाले उनी पनि प्रधानमन्त्रीका स्वाभाविक दाबेदार हुन्।

कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेल, गगन थापा, शेखर कोइरालाले उम्मेदवारी दिने बताइरहेका छन्।  माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीको दाबी गर्दा नेकपा एसका अध्यक्ष माधव नेपाल भने मौन छन्। नेपालले आफ्नो पार्टीले राष्ट्रपति वा सभामुखमध्ये एक पद पाउनुपर्नेमा जोड दिएको स्रोतले बतायो।  

नेकपा एस स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने भने आफ्नो दल, एमाले र माओवादीसमेत मिलेर सरकार बनाउनुपर्ने धारणा राख्छन्। ‘पछिल्लो अवस्था हेर्ने हो भने अहिलेसम्म कम्युनिस्ट पार्टीको मत खिइएको छ, यस्तो बेलामा वामपन्थीहरूको सरकार बनाए सबैभन्दा उपयुक्त हुन्थ्यो’, उनले भने। उनले नेकपा एसले गठबन्धन सरकारमा आफ्नो उपस्थिति कायम राख्न प्रमुख पदमा दाबी गर्ने तर गठबन्धन नै भत्काएर जानुपर्छ भन्ने अवस्था नरहेको बताए। ‘नयाँ सरकार गठनको बेला केही उल्झन आउँछन् तर पनि वामपन्थीहरू मिलेर सरकार चलाउन अब नेताहरूले सोच्नुपर्छ भन्ने मेरो धारणा हो’, न्यौपानेले भने।  

निर्वाचनअघि नै माओवादी अध्यक्ष दाहालले परिणामपछि माओवादीकै नेतृत्वमा पहिलो कार्यकाल सरकार बन्नुपर्ने प्रस्ताव देउवासँग राखेका थिए। अहिले माओवादीले प्रधानमन्त्री माग्नु त्यसकै निरन्तरता भएको माओवादी नेता बताउँछन्।

नेकपा एसको हिसाबले फेल खायो  

नेकपा एसले निर्वाचनबाट आफ्नो पार्टीले रामो नतिजा ल्याउने दाबी गरेको थियो। तर उसको हिसाब फेल खायो। नेकपा एसका प्रभावशाली नेताहरू जगन्नाथ खतिवडा, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायतले निर्वाचनमा हारे। नेकपा एसले प्रतिनिधिसभा समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पनि प्राप्त नगर्ने देखिएको छ। समानुपातिक मतगणना अन्तिम चरणमा छ। हिसाबले फेल खाएपछि सत्ता साझेदारी गर्दा प्रमुख पदहरूमा दाबी गर्न उसको धरातल कमजोर बन्न पुगेको छ। अहिले नेकपा एससँग कांग्रेसलाई सरकार बनाउ सहयोग गर्नुको विकल्प छैन। माओवादीसँगको पार्टी एकता पनि निर्वाचन परिणामकै कारण रोकिएको छ। ‘माओवादीले सहकार्य तोडेर बाहिर जान खोजेपछि हामीले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्यौं। माओवादीसँग पार्टी एकता भने तत्काललाई रोकिएको छ’, नेकपा एसका एक नेताले भने। चार दिनअघि नेकपा एसका महासचिव वेदुराम भुसालले पनि विज्ञप्ति जारी गरेर माओवादीसँग तत्काल एकता नहुने जनाएका थिए।  

सरकार बनाउन अहिलेको सत्ता गठबन्धनबाट पुग्ने अवस्था छ। २७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ। सत्ता गठबन्धनले केही साना दल वा स्वतन्त्र सांसदको सहयोगमा सामान्य बहुमत पु¥याउन सक्छ।  

प्रकाशित: १९ मंसिर २०७९ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App