निर्वाचन सम्पन्न भएर प्रदेशसभाको प्रत्यक्षतर्फ दलहरूले पाएको सिट संख्या निश्चित भइसकेको छ। समानुपातिक तर्फ पनि दलहरूले पाएको मत टुंगो लागिसकेको छ।
प्रदेश १ मा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन्। बहुमत नभए पछि दुई वा दुई भन्दा बढी दलको सरकार बनाउनुपर्ने देखिएको छ। मिलीजुली सरकार बनाउनुपर्ने अवस्थामा कुन कुन दलको सरकार बन्ने भन्ने स्पष्ट भइसकेको छैन।
प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा पाएको मतका आधारमा नेकपा एमाले प्रदेश १ मा सबै भन्दा ठुलो दल बनेको छ। दोस्रो दल नेपाली कांग्रेस बनेको छ। प्रदेश १ को प्रत्यक्ष तर्फको कुल ५६ सिट मध्ये नेकपा एमालेले २५ सिट जितेको छ। नेपाली कांग्रेसले १७ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले ९, नेकपा एसले ३, राप्रपाले २ सिट जितेको छ। यस्तै समानुपातिक तर्फ नेकपा एमालेले ६ लाख ६५ हजार ४ सय ६०, नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, राप्रपा नेपालले १ लाख ९८ हजार ५ सय ११, जसपा नेपाले ६१ हजार ७ सय २३ र नेकपा एसले ५५ हजार ९ सय ५७ मत पाएका छन्।
प्रदेश १ मा समानुपातिक तर्फको ३७ सिट रहेको छ। समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा सेन्ट लग विधिबाट गणना गर्दा नेकपा एमालेले १५, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपा ४, जसपा १ र नेकपा एकीकृत समाजवादीले १ सिट पाउने देखिएको छ।
यस आधारमा प्रदेश १ को ९३ सांसद मध्ये नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राप्रपाले ६ नेकपा एकीकृत समाजवादीले ४ र जसपाले १ सिट पाउने देखिएको छ।
निर्वाचनमा प्राप्त सिटका आधारमा नेकपा एमाले गठबन्धनले बहुमत पुर्याउने देखिएको छ। नेकपा एमाले गठबन्धनमा एमाले, जसपा र राप्रपा रहेका छन्। तीन वटा दलले प्रदेश १ मा बहुमत ४७ सिट पाउने देखिएको छ। यस्तै सत्तारुढ गठबन्धनको प्रदेश १ मा ४६ सिट पुग्ने देखिएको छ। तर, दुवै गठबन्धनका नेताहरू सरकार गठनका लागि तयारी गरिरहेका भए पनि दुवै गठबन्धनमा आबद्ध दलहरूबिच विश्वासको संकट भने देखिएको छ।
ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहिरहेका छन्। उता प्रदेश १ मा नेकपा माओवादी पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने चाहनामा छ। नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलहरू पनि ठुला दलहरूसँग बार्गेनिङमा लागेका छन्। केन्द्रमा कस्तो समीकरण हुने, चुनावी गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने पनि अन्योल अथावत छ।
यति मात्रै हैन केन्द्रमा हुने पावर शेयररिङले प्रदेशमा पनि प्रभाव पार्ने भएकाले कुन दलको भागमा प्रदेश १ पर्ने हो भन्ने पनि यकिन भइसकेको छैन। यही कारण सत्ता गठबन्धनले अन्य दललाई आकर्षण गरेर बहुमत पुर्याएको अवस्थामा पनि मुख्यमन्त्री कुन दलको हुने भन्ने यकिन छैन। यता नेपा एमाले भित्र पनि चुनावी गठबन्धनले निरन्तरता पाउने हो वा हैन भन्ने यकिन भइसकेको छैन। एमाले गठबन्धनमा राप्रपाले साथ दिए पनि जसपाले साथ दिने अवस्था देखिएको छैन।
प्रदेश १ मा जसपाको भागमा परेको सिटमा नेकपा एमालेले बलमिचाई गरेको भन्दै जसपाका नेताहरू एमालेप्रति सशङ्कित छन्। नेकपा एमालेले मोरङमा जसपाको भागमा परेको तीन वटा मध्ये दुई वटा क्षेत्र नम्बर ४ (२) र क्षेत्र नम्बर ६(२) मा आधिकारिक रूपमै उम्मेदवारी दिएको थियो। यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पनि एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई एमालेका बागी उम्मेदवारले निर्वाचनमा पराजित गरेका छन्।
प्रदेश १ मा सरकार गठनको तयारी गरिरहेका दुई ठुला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसभित्र पनि को मुख्य मन्त्री बन्ने भन्ने अन्योल यथावतै छ। नेपाली कांग्रेसमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, अमृत अर्याल, भीम पराजुली लगायतका नेताहरू मुख्यमन्त्रीको आकाङ्क्षी देखिएका छन्। यस्तै नेकपा एमालेमा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र तिलकुमार म्याङ्वोको नाम चर्चामा छ। पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दलभित्र आन्तरिक रूपमा र गठबन्धनका अन्य दलहरूसँग पनि छलफल थालेका छन्।
यस्तै नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षीहरू पनि आन्तरिक तयारीमा लागेका छन्। दुवै दलमा मुख्यमन्त्री बन्नु भन्दा पहिले संसदीय दलको नेता बन्नुपर्ने हुन्छ। संसदीय दलको नेता बन्नका लागि दलभित्र पनि बहुमत पुर्याउनु पर्ने हुन्छ। यता नेकपा माओवादीले सरकारका लागि विकल्प खुल्ला गरेको चर्चा भइरहेको छ भने जसपाका अध्यक्ष उपेन्द्र यादवको एमालेसँगको सहकार्य टुटेको अभिव्यक्ति सार्वजनिक भएपछि कसको नेतृत्वमा कस्तो सरकार बन्ने भन्ने थप अन्योल सिर्जना भएको छ। सत्तारुढ गठबन्धन कायम रहिरहे र जसपाले एमालेसँगको सहकार्य छाडेर गठबन्धनलाई सहयोग गरे प्रदेश १ मा सत्तारुढ गठबन्धनकै सरकार बन्ने निश्चित छ।
प्रकाशित: १८ मंसिर २०७९ १२:५७ आइतबार