७ वैशाख २०८१ शुक्रबार
राजनीति

को बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसक्नै लाग्दा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ।

संघीय राजधानी काठमाडौँसमेत समेटिएकाले बागमती प्रदेशको सम्भावित नयाँ सरकार गठनबारे चासो बढ्नु स्वभाविकै हो। दलहरुले पनि संघीय सरकारपछि बागमती प्रदेश सरकार निर्माणलाई बढी चासो र महत्व दिने गरेका छन्।

चुनावी नतिजाअनुसार संघमा जस्तै बागमतीमा पनि एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। दलहरुले गठबन्धन नै बनाएर सरकार बनाउनु पर्ने अवस्था छ। जुन–जुन दल मिलेर संघीय सरकार बन्छ, तिनै दलले बागमती सरकार बनाउने देखिन्छ। यसको ‘क्लियर पिक्चर’ आइसकेको भने छैन।

मिलेर चुनाव लडेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनले नै संघ र प्रदेशको सरकार बनाउने सम्भावना बलियो देखिएको छ। एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा छ। बागमती प्रदेशमा निर्वाचित प्रभावशाली नेताहरु मुख्यमन्त्री बन्ने दौडमा निस्किसकेका छन्। आकांक्षीहरुले जोसँग गठबन्धन भए पनि बागमती प्रदेश आफ्नो पार्टीको भागमा पार्न र मुख्यमन्त्रीमा आफूलाई अघि सार्न नेतृत्वलाई दबाव दिन थालेका छन्।

१ सय १० सदस्यीय बागमती प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ निर्वाचित हुँदै छन्। यहाँ कांग्रेस पहिलो शक्ति बन्ने देखिएका छ। क्रमशः एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बन्ने निश्चित छ। बहुमतको सरकार बनाउन यहाँ ५६ सिट आवश्यक पर्छ। सत्ता गठबन्धनले ५६ भन्दाबढी सिटसहित स्पष्ट बहुमत ल्याउने देखिन्छ।

कांग्रेसबाट बागमतीको मुख्यमन्त्री बन्न प्रभावशाली दुई नेताबीच मुख्य प्रतिस्पर्धा छ। उनीहरु हुन्, कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामा। बानियाँ मकवानपुर २ (ख) र लामा नुवाकोट २ (ख) बाट निर्वाचित भएका हुन्। दुबै नेता पार्टी संस्थापन पक्षका हुन्।

यीमध्ये बानियाँको मुख्यमन्त्री हुने प्रवल सम्भावना छ। उनी बागमती प्रदेशसभामा कांग्रेसका निवर्तमान संसदीय दलका नेता पनि हुन्। २०७४ को प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्री बन्न उनी प्रतिनिधिसभा छोडेर प्रदेश सभामा उम्मेदवार बनेर निर्वाचित भएका थिए। तत्कालीन नेकपाले बहुमत ल्याएर सरकार गठन गरेपछि उनी मुख्यमन्त्री बन्न रोकिएका थिए। राजेन्द्र पाण्डे बागमतीको तेस्रो मुख्यमन्त्री बन्दा पनि बानियाँले बलियो दाबेदारी प्रस्तुत गरेका थिए। बाँकी रहेको आधा कार्यकाल मुख्यमन्त्री पाउने शर्तमा उनी पछाडि हटेका थिए। पाण्डेले पूरै कार्यकाल चलाएपछि उनी तेस्रो पटक पनि मुख्यमन्त्री बन्नबाट रोकिए।

यो पटक ‘कन्फर्म’ मुख्यमन्त्री बनाउने गरी बानियाँलाई पुनः प्रदेशमै रोकिएको हो। नत्र उनी यो पटक प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहन्थे। उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मध्येका नेतामा पर्छन्। तर पछिल्लो पटक उनको सम्वन्ध देउवासँग चिसिएको बानियाँ निकट नेताहरु नै बताउँछन्। 

स्थानीय चुनावमा सभापति देउवालाई समेत नटेरेर उनले प्रदेशभरि एकटौली उम्मेदवार चयन गरेको बानियाँमाथि आरोप छ। त्यही बेलादेखि बानियाँ–देउवा सम्वन्ध चिसिएको हो। ‘पैसा र बल’मा राजनीतिक गरेको अर्को आरोप पनि उनीमाथि छ। जुन देउवासहित संस्थापन खेमाका शीर्ष नेतृत्वलाई पटक्कै मन परेको छैन। बानियाँ मुख्यमन्त्री हुने कि नहुने भनेर अब महालक्ष्मी उपाध्याय (¬डिना)को पराजय पनि सँगै जोडिएर आएको छ।

उपाध्यायको पराजयले उनको आगामी यात्रामा ‘आगोमा घ्यू थप्ने’ काम गरेको छ। मकवानपुर १ बाट उम्मेदवार बनेकी उपाध्याय राप्रपाका दीपकबहादुर सिंहसँग झण्डै २४ सय मतान्तरले पराजित भइन्। सार्वजनिक असन्तुष्टि नपोखे पनि उनले निकट नेताहरुसँग बानियाँको असहयोगका कारण आफू पराजित भएको बताउने गरेकी छिन्। 

उपाध्याय पार्टी सभापति देउवाका विश्वासपात्रमध्येकी हुन्। ‘आकांक्षीमध्ये बानियाँ सबैभन्दा बलिया उम्मेदवार त हुन्, तर मुख्यमन्त्री हुने कि नहुने भन्ने सबै अब उपाध्यायका हातमा छ,’ एक नेताले भने, ‘देउबाले उपाध्यायकै कुरा खानु हुन्छ।’

केन्द्रीय सदस्य लामाको पनि मुख्यमन्त्रीमा बलियो दाबी रहने देखिएको छ। मुख्यमन्त्री बनाउने आश्वासन दिएर उनलाई प्रदेश उम्मेदवार बनाइएको थियो। नुवाकोटबाट प्रतिनिधिसभा सदस्य जित्दै आएका उनी यसपटक पनि संघमै प्रतिस्पर्धा गर्न चाहन्थे। सभापति देउवाले नै उनलाई मुख्यमन्त्री बनाउने गरी प्रदेशमा राजी गराएका थिए। उनी देउवा निकटतस्थ समेत हुन्। 

बागमती प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेर दोस्रो बनेको सत्ता गठबन्धनको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गर्न सक्ने देखिएको छ। मुख्यमन्त्री माओवादीबाट बन्ने अवस्था आए त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। शालिकराम जमरकट्टेल (धादिङ १, ख) सरलसहयात्री पौडेल (सिन्धुपाल्चोक १, ख) र युवराज दुलाल (सिन्धुपाल्चोक २, क) ले मुख्यमन्त्रीमा आकांक्षा राखेका छन्।

प्रदेश सदस्यमा पुनः निर्वाचित जमरकट्टेल बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन्। उनी यो पटक धादिङ १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न चाहन्थे। यो क्षेत्र एकीकृत समाजवादीका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेको भागमा परेपछि जमरकट्टेल पुनः प्रदेशतर्फ उम्मेदवार बने। मुख्यमन्त्री बन्ने शर्तमा उनी प्रदेशमा दोहोरिएका हुन्।

मुख्यमन्त्रीका अर्का आकांक्षी पौडेले माओवादी बागमती प्रदेश समितिका अध्यक्ष हुन्। प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनले सञ्चारमाध्यममार्फत पार्टी संसदीय दलको नेतामा आफ्नो दाबी गरिसकेका छन्। ‘कुन प्रदेश र को मुख्यमन्त्री भन्ने गठबन्धनले प्याकेजमा टुंग्याउला। प्रदेश अध्यक्षको नाताले दलको नेतामा मेरो स्वभाविक दाबी रहन्छ,’ उनले भने। चुनावी प्रचारका क्रममा गठबन्धन र उनकै दलका उम्मेदवारले पौडेललाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए।

प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका दुलाल पार्टीले अवसर पाउँदा मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन्। सार्वजनिक अभिव्यक्ति नदिए पनि उनले लबिङ थालिसकेका छन्। उनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री हुन्। दुलाल मन्त्री रहँदा सुरु गरेका एक विद्यालय एक नर्स, सामुदायिक विद्यालयलाई बस, प्रदेश नमुना विद्यालय कार्यक्रम, प्रदेश स्तरीय महाविद्यालय लगायत कार्यक्रमले उनी लोकप्रिय छन्। उनले सुरु गरेका कामबाट पार्टी नेतृत्वसमेत खुसी छ।

जमरकट्टेल र दुलाल पार्टी पोलिट्व्यूरो सदस्य हुन्। मुख्यमन्त्रीको दौडमा रहेका यी तीनै नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन्। पौडेल र दुलाल त उनका विश्वासशीला थोरै युवा नेतामध्येमा पर्छन्। पार्टी शान्ति प्रक्रियामा आएपछि लामो समय पौडेल र दुलालले अध्यक्ष दाहालको सुरक्षा युनिटमा रहेका काम गरेका थिए। यस्तोमा पार्टीले अवसर पाउँदा तीन नेताबाट मुख्यमन्त्री छान्न दाहाललाई निकै सकस पर्ने देखिन्छ।

सत्ता गठबन्धकै एकीकृत समाजवादीले बागमती प्रदेशमा प्रत्यक्षतर्फ पाँच सिट जितेको छ। उसले समानुपातिकबाट केही सिट पाउने छ। समाजवादीबाट प्रदेशसभा सदस्य निर्वाचितमध्ये कृष्णप्रसाद शर्मा खनाल (चितवन १, ख) र बसन्तप्रसाद मानन्धर (काठमाडौँ ७, ख) प्रभावशाली नेतामा पर्छन्। उनीहरुमध्ये एक पार्टी संसदीय दलको नेता चुनिने देखिएको छ। समाजवादीबाट मुख्यमन्त्री बन्ने अवसर आए खनाल र मानन्धरमध्ये एकको सम्भावना रहन्छ। उनीहरु दुबै समाजवादीका पोलिट्व्यूरो सदस्य हुन्।

बागमतीको दोस्रो ठूलो दल एमालेले प्रदेश सभा सदस्य निर्वाचितमध्ये प्रभावशाली नेता जगनाथ खतिवडालाई संसदीय दलको नेता बनाउने देखिएको छ। उनी चितवन १, (क) बाट निर्वाचित भएका हुन्। यस्तोमा एमालेले सरकार बनाउने अवस्था आए उनी मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।  

प्रकाशित: १८ मंसिर २०७९ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App