१३ माघ २०७९ शुक्रबार
राजनीति

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ। पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ।  

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ। अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३.२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६.७५ प्रतिशत मात्रै प्राप्त गरेको छ। अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६.४९ प्रतिशत कम मत उसले पाएको छ। त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको कांग्रेसले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिनिधिसभा समानुपातिकतर्फ मत गुमाएको छ। अघिल्लो चुनावमा ३२.७७ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले यसपटक २५.४९ प्रतिशत मत पाएको छ। कांग्रेसले अघिल्लो चुनावको तुलनामा यसपटक समानुपातिकतर्फ ७.२८ प्रतिशत मत गुमाएको हो।  

त्यस्तै माओवादी केन्द्रले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ थोरै मत प्राप्त गरेको छ। माओवादी केन्द्रले यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ ११.१७ प्रतिशत मत पाएको छ। उसले २०७४ सालको चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ १३.६५ प्रतिशत मत पाएको थियो। अघिल्लो चुनावको तुलनामा यसपटक उसले प्रतिनिधिसभा समानुपातिकतर्फ २.४८ प्रतिशत कम मत पाएको छ।  

मत यसपटक ठुला दलले गुमाएको मत अन्य केही दल (जो राष्ट्रिय पार्टीका रूपमा उदाएका छन्) मा गएको देखिन्छ। २०७४ सालमा प्रतिनिधिसभा समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसपटक ५.६३ प्रतिशत मत पाइसकेको छ। यसपटक नयाँ दलका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले समानुपातिकतर्फ गणना भएको सदर मतमा ३ प्रतिशतको ‘थ्रेस होल्ड’ पार गरिसकेका छन्। रास्वपा र जनमत दुवै नयाँ दल हुन्। निर्वाचनबाट यी दुवैले राष्ट्रिय  

मान्यता पाउने निश्चित भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले पनि थ्रेस होल्डको सीमा ३ प्रतिशत मत कटाएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ शनिबारसम्मको मतगणनाअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, रास्वपा चौथोे, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं स्थानमा छन्। यी सबैले राष्ट्रिय दल बन्ने पक्का भएको छ। मतगणना भने जारी छ।

प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचनबाट चुनिन्छन्। दलहरूले समानुपातिकतर्फ पहिला नै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेका छन्। दलहरूले बुझाएको बन्दसूचीका आधारमा समानुपातिक पद्धतिबाट ३३ प्रतिशत महिला पुग्नेगरी प्रतिनिधिसभा सदस्य छानिनेछन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ करिब १ करोड १० लाख मत खसेको छ। त्यसमध्ये सदर मत १ करोड ६ लाख हुने अनुमान गरिएको छ। यसलाई आधार मान्दा अझै डेढ लाख मत गन्न बाँकी छ। प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फ पनि त्यत्ति नै मत खसेको निर्वाचन आयोगको अनुमान छ। अहिलेसम्म उसले यकिन तथ्यांक भने सार्वजनिक गरेको छैन। प्रत्यक्षतर्फभन्दा अस्थायी मतदाता (निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी) का कारण समानुपातिकतर्फ करिब १ लाख बढी मत खसेको आयोगको आकलन छ। निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलाई समानुपातिक निर्वाचनतर्फ मत खसाल्न दिइएको थियो।

समानुपातिकतर्फ सिट पाउन राजनीतिक दलहरूलाई तोकिएको न्यूनतम मत कटाउनैपर्ने बाध्यता छ। यसपटक सदर मतको ३ प्रतिशत अर्थात् करिब ३ लाख १७ हजार मत कटाउने दलले समानुपातिकमा सिट पाउने र राष्ट्रिय दल हुने निश्चित देखिएको छ। प्रत्यक्षतर्फ बाजुरा, स्याङ्जा २ मा मतगणना जारी छ। दोलखामा पनि पुनः निर्वाचनपछि मतगणना भइरहेको छ। प्रत्यक्षतर्फ अन्य स्थानमा मतगणना सकिएको छ।  देशभरका १६५ निर्वाचन क्षेत्रमा भएको समानुपातिक मतगणनाको तथ्यांक अपलोड गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता अर्यालले बताए। आयोगले समानुपातिक मतगणनामा फेरबदल गरेको आरोपका सम्बन्धमा अर्यालले भने, ‘पहिलेजस्तो छैन। मतगणना पछि लेखेर भेरिफाई गर्नुपर्छ। गणना सबै दलका प्रतिनिधिले हेरिरहेका छन्। आयोगले तलमाथि गर्ने भन्ने सोच्नै सकिँदैन।’ सदर, बदरको संख्या लेखेर मात्रै तथ्यांक कम्प्युटरमा राखिने उनले बताए। ‘हरेक दल, बन्दसूचीमा बस्ने, मतगणनामा बस्ने प्रतिनिधि पनि उत्तिकै चनाखो छन्,’ उनले भने।  

२०७४ सालमा १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता थिए। २०७४ सालमा समानुपातिकतर्फ ९५ लाख ८ हजार १ सय ४४ मत सदर भएको थियो। त्यसबेला खसेको १० प्रतिशतजति मत बदर भएको थियो। यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक छ।  

समानुपातिकमा कसले कति सिट पाउलान् ?

प्रतिनिधिसभा समानुपातिक निर्वाचनतर्फ शनिबार बेलुकीसम्म भएको गणनाअनुसार ‘थ्रेस होल्ड’ कटाउने दलको संख्या ७ छ। समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, रास्वपाले १४, राप्रपाले ७, जसपा र जनमतले ५÷५ सिट पाउने देखिन्छ। अन्य दलले ३ प्रतिशत मत कटाएको खण्डमा र कुनै पनि दलले मत बढाए सिटमा घटबट हुने देखिन्छ।  

२०७४ को अवस्था कस्तो थियो ?  

संघीयता कार्यान्वयनपछि पहिलोपटक २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावबाट एमाले पहिलो दल बनेको थियो। प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० क्षेत्रमा जितेको थियो। उसले समानुपातिकतर्फ ४१ सिट पाएको थियो। २०७४ मा समानुपातिकतर्फ पाँच दलले मात्रै सिट पाएका थिए। प्रतिनिधिसभा समानुपातिकततर्फ ‘थ्रेस होल्ड’ कटाउने पाँच दलको मतलाई शतप्रतिशत मान्दा एमालेले ४०.३४ प्रतिशत पाएको थियो। अघिल्लो निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो। उसले समानुपातिकतर्फ ४० सिट जितेको थियो। कांग्रेसले ३२.४२ प्रतिशत मत पाएको थियो। त्यो निर्वाचनमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो। उसले समानुपातिकतर्फ १७ सिट जितेको थियो। माओवादीले १५.६३ प्रतिशत मत पाएको थियो। अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी चुनाव लडेका थिए। अघिल्लोपटक तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले समानुपातिकतर्फ ६/६ सिट जितेका थिए।

समानुपातिकमा आउने सिटको आधार

दलले पाएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट उसको सिट संख्या निर्धारण हुन्छ। समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा ११० जना चुनिन्छन्। राजनीतिक दलले पाएको सदर मतको अनुपातमा सिटको बाँडफाँट गरिन्छ। समानुपातिकमा प्रणालीमा सिंगो मुलुकलाई एक निर्वाचन क्षेत्र मानिन्छ। त्यसअन्तर्गत मतदाताले देशभरिबाट राजनीतिक दललाई मत दिन्छन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ यदि कुनै ‘क’ दलले प्रत्यक्षतर्फ एक सिट जित्यो र समानुपातिकमा २.९ प्रतिशत मत प्राप्त गरेको खण्डमा उसले संसद्मा सामान्य दलका रूपमा प्रतिनिधित्व गर्छ। उसले समानुपातिकमा पाएको २.९ मतको कुनै गणना हुनेछैन। त्यस्तै कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याएको खण्डमा पनि उसले संसद्मा सामान्य दलका रूपमा प्रतिनिधित्व गर्छ। कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फ पनि ३ प्रतिशतभन्दा कम मत ल्याएमा त्यो दलको सबै मत खेर जान्छ। उसले पाएको मतको कुनै गणना हुँदैन। प्रतिनिधिसभा समानुपातिकमा दलहरूले पाएको सदर मतका आधारमा समानुपातिकतर्फ सिट बाँडफाँट हुन्छ। यसका लागि दलहरूले सदरमतको ३ प्रतिशत पाउनैपर्छ। प्रदेशसभामा समानुपातिकतर्फ सिट पाउन दलहरूले सदर मतको १.५ प्रतिशत ल्याउनुपर्छ।

प्रकाशित: १८ मंसिर २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App