coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा कमजोर बन्दै जसपा र लोसपा

गत स्थानीय तहको निर्वाचन अघि राम्रै स्थितिमा रहेको जसपा नेपाल र लोसपा अहिले कपिलवस्तुमा निकै कमजोर बनेको छ।

निर्वाचन अघि सो दलमा रहेका नेताहरू एमाले कांग्रेस प्रवेश गरे पछि जसपा र लोसमा जिल्लामा निकै कमजोर देखिएको हो। लगातार ३ पटक सांसद जितेको बृजेश कुमार गुप्ता र जसपा नेता मंगल प्रसाद गुप्ता, लोसपा नेता मधुसुदनशरण चौधरी लगायतका नेता एमालेमा प्रवेश गरे पछि त्यसको नजिता अहिले देखिएको छ।

यस्तै जसपा नेता सहरसार यादव कांग्रेसमा र जसपा नेता बजरगी चौधरी एमालेमा प्रवेश गरेका थिए। यस्तै जसपा नेता निसार अहमद खाले पार्टी त्याग गरेर सहराम यादवको पक्षमा लागेका थिए। ती लगायत अन्य नेताहरू पनि एमाले कांग्रेसमा प्रवेश गरे पछि अहिले जसपा र लोसपा कमजोर बनेको हो। अहिले पनि जसपा कै उम्मेदवार सुदीप पौडेल कपिलवस्तु नगरपालिका मेयर र लोसपा कै उम्मेदवार कमलेशरण चौधरी सुद्धोदन गाउँपालिकाका प्रमुख हुन।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जसपा र लोसपा निकै कमजोर देखिएका छन्। समानुपातिक तर्फको मत परिणाममा यी दुवै पार्टीलाई हालै गठन भएको जनमत पार्टीले उछिन्न सफल भएको छ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ १५ हजार २०५ मत ल्याएको छ। जिल्लामा चौथो स्थानमा आउन सफल जनमत पार्टी भन्दा जसपा झन्डै आधा मतान्तरले पछाडि छ। जसपाले प्रतिनिधि सभाको समानुपातिक तर्फ ८ हजार ८४१ मत पाएको छ। लोसपाले ६ हजार ४२३ मत पाएको छ। लोसपा बहुजन शक्ति पार्टी भन्दा एक स्थान माथि छ। प्रदेश सभा तर्फ पनि जनमत पार्टी जसपा र लोसपा भन्दा अगाडी छ। जनमत प्रदेश सभाको समानुपातिक तर्फ जिल्लामा तेस्रो राजनीतिक शक्ति बनेको छ। जनमतले १७ हजार २१६ मत पाएको छ। जसपाले १० हजार ३२४ मत पाउँदा लोसपाले ५ हजार ३६८ मत पाएको छ।

हालको जसपा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल हो। पार्टी निर्माण भएको डेढ दशकमै पार्टी विभाजन र एकताको श्रखला पार गर्दै फोरम नेपाल अहिले जसपा बनेको छ। २०६४ र २०७० को चुनावमा जिल्लामा दबदबा राख्ने यो पार्टी २०७९ सम्म आइपुग्दा सङ्कटमा परेको देखिन्छ। महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको एक रूप हो। तराई मधेसका आधा दर्जन दल मिलेर निर्माण भएको लोसपाको पनि लामो टुटफुटको श्रृखंला छ।

०६४/ ०७० का दुवै निर्वाचनमा यो दलले जिल्लामा एकछत्र जित निकालेको थियो । बृजेश कुमार गुप्ता, ईश्वर दयाल मिश्र, दान बहादुर चौधरी लगायतका नेताहरू यो पार्टीबाट चुनाव लडेर जितेका थिए। अहिले यी कुनै पनि नेता यो दलमा छैनन्। उता प्रदेश सभा ३ को १ मा लोसपाका उम्मेदवार रबि दत्त मिश्र एमालेका अर्जुन कुमार केसीसँग जम्मा ६ मतले पराजित भएका थिए।

प्रकाशित: १७ मंसिर २०७९ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App