coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सत्तामोह’ले निरन्तर खुम्चँदै माओवादी

लेखनाथ न्यौपाने र लीलामणि पोखरेल।

१० वर्षे शसस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आउँदै गर्दा माओवादी नेतृत्व र आन्दोलनप्रति आम जनतामाझ धेरै अपेक्षा थिए। परम्परावादी शक्ति र दलप्रति बढ्दो अविश्वास र असन्तुष्टिबीच नयाँ दलका रूपमा माओवादी उदाउँदा निम्नवर्गीय ग्रामीण समुदायले मात्र होइन, सहरिया जनताले पनि उसलाई पत्याएका थिए। २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंमा माओवादीसँग सहकार्य गर्न नमान्दा एमाले शून्य भयो । भर्खर शान्तिपूक्रियामा आएकोे माओवादी एक्लैले काठमाडौंमा सात सिट जित्यो।  

पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा उदाएको नेकपा माओवादीले प्रत्यक्षतर्फ १२० सिटसहित ३१ लाख ५४ हजार ५१९ र समानुपातिकतर्फ १०० सिटसहित ३१ लाख ४४ हजार २०४ मत पाएको थियो। माओवादी एक्लैले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा जित हासिल गरेको थियो।  

संसदीय राजनीतिमा प्रवेश गरेसँगै निरन्तर सत्ताको वरिपरि घुमिरहेको माओवादी दोस्रो संविधानसभाको निर्वाचन अर्थात् २०७० सालमा भने पहिलोबाट एकैपटक तेस्रो दल हुन पुग्यो। उक्त निर्वाचनमा एकीकृत नेकपा माओवादी १६ लाख ९ हजार १४५ मतसहित २६ सिटमा खुम्चिन पुग्यो। २०७० सालको निर्वाचनअघि विभाजनको सिकारसमेत भएको पार्टीले समानुपातिकतर्फ पनि १४ लाख ३९ हजार ६०९ मतसहित ५४ सिट जितेको थियो। २०७४ सालको संसदीय निर्वाचनमा नेकपा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट र समानुपातिकमा १७ सिट जित्दै तेस्रो दलकै हैसियत बनाएको थियो। निर्वाचनलगत्तै एमालेसँग पार्टी एकीकरण गरेर नेकपामा परिणत भए पनि अदालतको निर्णयले छुट्टाछुट्टै पार्टीमा विभक्त भएपछि माओवादी केन्द्रले संसद्मा तेस्रो दलकै भूमिका निर्वाह गरिरह्यो।  

हालै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनमार्फत निर्वाचन लडेको माओवादी केन्द्र संसद् संख्याका हिसाबले थप खुम्चिएको छ। प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ ठाउँमा जित हात पारेको छ  भने दोलखामा जरी मतगणनामा अग्रता लिएको छ । समानुपातिकतर्फ पनि माओवादीले जित्ने सिटसंख्या १४ आसपास हुने देखिन्छ। सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिको मार्गमा लागेको माओवादीले डेढ दशकमा संविधानसभा र संसद्का गरी चारवटा निर्वाचनमा भाग लिएको छ। तर नयाँ शक्तिका रूपमा उठाउँदा ठुलो दलका रूपमा स्थापित भएको माओवादी निर्वाचनपिच्छे खुम्चिँदै गएको छ। यसको कारण खोतल्दै माओवादी नेता लेखनाथ न्यौपाने भन्छन्, ‘हामी २०६३ पछि आफ्नै नेतृत्व र विभिन्न दलको नेतृत्वको सरकारमा निरन्तर सहभागी त हुँदै आएका छौं तर जनताको भावनाअनुसार काम गर्न नसक्दा निरन्तर जनमत गुमाइरहेका छौं।’

सत्तामा निरन्तर सहभागी हुँदा पनि जनअपेक्षाअनुसार काम गरेर जनताको मन जित्न नसक्दा माओवादी निरन्तर खुम्चिँदै गएको न्यौपाने बताउँछन्। अर्कातर्फ सत्तामा पुगेर काम गर्न नसकेपछि जनतामा सत्ताविरोधी भावनाको विकास हुँदा पनि माओवादीको मतमा असर परेको उनको बुझाइ छ। ‘हाम्रो अनुभवले के भन्छ भने हामी निरन्तर सत्तामा सहभागी हुँदा हाम्रो जनमत ओरालो लागिरहेको देखिन्छ,’ उनले भने। यसपटकको निर्वाचनमा माओवादी थप खुम्चिनुको कारण गठबन्धन दलबीच ‘भोट ट्रान्सफर’ नहुनु, माओवादीले उपयुक्त उम्मेद्वारको छनोट गर्न नसक्नु र माओवादीप्रति जनविश्वास पनि घटनु रहेको न्यौपानेको मूल्यांकन छ।  

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल पनि यसपटकको निर्वाचन पार्टीका लागि गठबन्धन प्रत्युत्पादक बनेको टिप्पणी गर्छन्। ‘हामीले निर्वाचनमा इमानदारीसाथ भोट दियौं तर कांग्रेसको अराजकतावादी सोचाइका कारण माओवादीमा भोट सरेन,’ उनले भने। गठबन्धनको उद्देश्य संविधानको रक्षा भएकाले यसको औचित्य भने नसकिएको पोखरेलको तर्क छ।

अबको बाटो के ?

सचिव पोख्रेल माओवादी केन्द्र अहिले पनि आकारका हिसाबले तेस्रो ठुलो दल भए पनि अब सरकारमा जाँदा भने औचित्य पुष्टि हुने गरेर मात्र जानुपर्ने बताउँछन्। ‘अहिले हामी तेस्रो ठुलो दल बनेका छौं। हामीबिना सरकार नबन्ने अवस्था होइन तर सहज पनि छैन। तर अब केही थान व्यक्तिलाई मन्त्री बनाउन मात्र सरकारमा जानुहुँदैन, गए पनि औचित्य पुष्टि गर्न सक्नुपर्छ,’ उनले भने।

नेता न्यौपाने पनि अहिले जनताले संसद्मा माओवादीलाई दिएको मत सरकारमा जान नभएको बताउँछन्। ‘अहिले हामीले प्राप्त गरेको संसद्को आकार सरकारमा जाने होइन। अबको पाँच वर्ष हामी सत्ताको प्राथमिकतालाई छाडेर पार्टी निर्माणमा लाग्नुपर्छ,’ उनले भने। यसपटक प्रत्यक्षमा माओवादीको मत घटे पनि समानुपातिकमा खासै फरक नपरेको दाबी गर्दै उनले माओवादीको पुनर्निर्माणका लागि यो पर्याप्त भएको बताए। ‘अबको पाँच वर्ष सत्ताभन्दा पार्टी निर्माणलाई जोड दिएर हेरौं न, पाँच वर्षपछि जनताले हामीलाई कसरी मूल्यांकन गर्छन्। त्यसैका आधारमा अघि बढौंला,’ उनले भने।  

न्यौपाने एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गरेपछि तत्कालीन अवस्थामा बनेको गठबन्धन संसद् पुनःस्थापनासँगै अन्त्य हुनुपर्नेमा निरन्तर अघि बढिरहनु पनि माओवादीका लागि प्रतिकूल भएको बताउँछन्। ‘वर्ग र विचारका हिसाबले दुई फरक ध्रुवका दलबीचको गठबन्धन सैद्धान्तिक रूपमा ठिक थिएन। जुन अहिले आएर पुष्टि भएको छ,’ उनले भने। न्यौपाने अब हुने पार्टीको बैठकमा यो विषयबारे समीक्षा हुन आवश्यक रहेको बताउँछन्।  

सचिव पोख्रेल निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गर्ने बताउँछन्। ‘हामी मत परिणामको समीक्षा गर्छाैं, संगठनको अवस्था र मतपरिणामले के दियो, राजनीतिक संगठन र संस्कृति तथा अब कसरी अघि बढ्ने भन्नेबारे पनि गम्भीर छलफल गर्छाैं,’ उनले भने।

प्रकाशित: १७ मंसिर २०७९ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App