८ वैशाख २०८१ शनिबार
राजनीति

हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएः निर्वाचन आयोग

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औंपचारिक जानकारी गराएको हो।  

जस अनुसार एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भईसकेको छ। आयोगका प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकि रहेको स्पष्ट पारे। उनले भने, ‘हालसम्म आज २०७९ साल मंसीर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको डाटा आयोगमा इन्ट्रि भईसकेको अवस्था छ। सिष्टममा इन्ट्री भईसकेको आधारमा त्यो गणना भएको मतको आधारमा ७ वटा राजनीतिक दलहरुले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छ। सम्भवत दोलखा, बाजुरा र स्याङजा जिल्लाको मत गणना समाप्त भईसकेपछि समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको दलले प्राप्त गरेको समानुपातिक मत निक्र्यौल गर्न सकिन्छ। सम्भवतः अव धेरै दिन नलाग्ला। मत गणना सुरु भईसकेको छ ती ठाउँहरुमा पनि। अव हामी अनुमान गरौं–२० गते भित्र समानुपातिक निर्वाचन प्रणाली अन्तरगत राजनीतिक दलहरुले प्राप्त गरेको मत संख्या निक्र्यौल गर्न सकिन्छ भन्ने लाग्छ मलाई।’

आयोगले ४ दिन भित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ। दलहरुले पाएको मत संख्या अनुसार उनीहरुले बन्द सूचिमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन। त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको संख्या पठाउने र दलहरुले आफूले बन्द सूचिमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन। त्यसो गर्दा एक तिहाई महिलाहरुको संख्या भने राजनीतिक दलहरुले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए। 

प्रकाशित: १६ मंसिर २०७९ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App