८ वैशाख २०८१ शनिबार
राजनीति

इलाममा पहिलो र दोस्रोबाहेक सबै उम्मेदवारको गुम्यो धरौटी

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ अधिकतर उम्मेदवारको धरौटी गुमेको छ। कुल सदर मतको १० प्रतिशत पनि नल्याउँदा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित तथा निकटतम् उम्मेदवारबाहेक कसैले पनि निर्वाचन आयोगमा राखेको धरौटी फिर्ता नपाउने भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ दुवै क्षेत्रमा २५ उम्मेदवार रहेकामा २१ जनाको धरौटी गुमेको छ। प्रदेशसभातर्फ २९ उम्मेदवार रहेकामा २१ जनाले धरौटी गुमाएका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवारले आयोगमा जनही १० हजार र प्रदेशसभाको उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान छ। तर, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका–२०७९ ले महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकम ५० प्रतिशत छुट हुने व्यवस्था गरेको छ।  

प्रतिनिधिसभा क्षेत्र १ मा खसेको कुल मतमध्ये ५७ हजार १८ सदर भएको थियो। यहाँ ११ जनाले उम्मेदवारी दिएकामा नेकपा (एमाले)बाट निर्वाचित महेश बस्नेत र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले मात्रै धरौटी बचाएका छन्। बस्नेतले २५ हजार ७ सय ५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत ल्याए।  

क्षेत्र १ मा उम्मेदवारी दिएर धरौटी गुमाउनेमा जनता समाजवादी पार्टीका कमलकुमार राई (१,३१३ मत), राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयनाथ शर्मा सापकोटा (१,५९९), मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे (२,४४२), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया (१५१), राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू (२६५), नेपाली कांग्रेस बिपीका गणेशप्रसाद पौडेल (३४७) र स्वतन्त्र उम्मेदवारहरू निमातेञ्जिङ शेर्पा (६४०), नेत्रप्रसाद रेग्मी (२३५) तथा विक्रम पाण्डे (१,१८४ मत) छन्।

प्रतिनिधिसभा क्षेत्र २ मा पनि निर्वाचित उम्मेदवार एमालेकै सुवासचन्द्र नेम्बाङ र निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मात्रै धरौटी बचाएका छन्। यो क्षेत्रमा कुल सदर मत ६६ हजार १ सय ८५ थियो । यहाँ १४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा नेम्बाङले ३० हजार २० र खड्काले २९ हजार ९ सय ६ मत ल्याए।  

जसपाका उम्मेदवार यामप्रसाद लिम्बू (७२४), राप्रपाका गणेशप्रसाद दुलाल (५१०), लोकतान्त्रिक समाजवादी पार्टी नेपालका निरमणि माङ्मु लिम्बू (६९), मंगोलका मनीबहादुर लिम्बू (१,३६३), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू (६८४), राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा (१,२७२) र नेपाली कांग्रेस बिपीका डाकप्रसाद गौतम (५४)ले प्रतिनिधिसभा क्षेत्र २ मा धरौटी गुमाएका छन्।  यस्तै, सामाजिक लोकतान्त्रिक पार्टीका तिलबहादुर मगर (४५), नेपाल कम्युनिस्ट पार्टीका याकबहादुर लिम्बू (४८), राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा (१,३८०) र स्वतन्त्र उम्मेदवारहरू जुनु माखिम (१९) तथा दिपेश बोहोराले ९१ मत ल्याएका छन्।  

प्रदेशसभातर्फ पनि क्षेत्र १ (१)मा २९ हजार ४० मत सदर भएको छ। यो क्षेत्रमा प्रतिस्पर्धामा रहेका ८ उम्मेदवारमध्ये निर्वाचित नेकपा (एस)की खिनु लङ्वा लिम्बू र निकटतम् प्रतिद्वन्द्वी एमालेकी शोभा पराजुलीले मात्रै धरौटी बचाए। लिम्बूको १३ हजार ३ सय ७१ र पराजुलीको ११ हजार ३ सय ९५ मत आएको छ। क्षेत्र १ (२)मा ६ जना प्रतिस्पर्धामा रहेकामा निर्वाचित उम्मेदवार कांग्रेसका समशेर राई र निकटतम् प्रतिद्वन्द्वी एमालेका दीपककुमार थेबेको मात्रै धरौटी बचेको छ। २८ हजार ३ सय ७६ मत सदर भएकामा राईले १२ हजार ७ सय ८० र थेबेले १२ हजार १ सय ४२ मत ल्याए।  

क्षेत्र २ (१)मा ३५ हजार ६ सय ९६ मत सदर भएकामा विजयी कांग्रेसका गोविन्द गिरीले १६ हजार ६ सय ५८ र निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद बरालले १५ हजार ४ सय ४७ मत ल्याएर धरौटी बचाए भने अरू ५ उम्मेदवारको गुमेको छ। क्षेत्र २ (२)मा ८ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा निर्वाचित उम्मेदवार एमालेका रामबहादुर रानामगर र निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का हर्क लावती कान्छाको मात्रै धरौटी बचेको छ। यो क्षेत्रमा ३० हजार ९ सय ८७ मत सदर भएकामा रानामगरले १३ हजार ७ सय ५४ र लावतीले ११ हजार १ सय ६७ मत ल्याएका छन्।  

प्रकाशित: १६ मंसिर २०७९ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App