८ वैशाख २०८१ शनिबार
राजनीति

पहिलो प्रधानमन्त्री म बन्छु भनेर देउवालाई भनिसकेको दाहालको दाबी

साना दल सगँ मोर्चाको तयारी

माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनलाई कायम राखेर अब बन्ने सरकारको पहिलो प्रधानमन्त्री आफू बन्ने चाहना राखेका छन्। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर आफूले नयाँ सरकारको नेतृत्व दाबी गरिसकेको समेत उनले खुलाए।

‘यही गठबन्धनलाई कायम राखेर अघि बढ्ने हो। पहिलो प्रधानमन्त्री भने मै बन्ने हो,’ आराम गर्न सिन्धुपाल्चोकको सुकुटे आएका उनले यहाँका नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीय नेतासँग समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जाने बताए। 

सबै चुनावी नतिजा आइसकेपछि गठबन्धनका दलबीचमा पावर सेयरिङ लगायत विषयमा छलफल हुनेसमेत दाहालले बताए।

छलफलमा सहभागी एक माओवादी पोलिट्व्यूरो सदस्यका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग बसेर पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाबी प्रस्तुत गरिसकेको बताए। ‘गठबन्धन सरकारको पहिलो प्रधानमन्त्री म बन्छु भनेर देउवासँग भनिसकेको छु। उहाँ (देउवा) बोल्नु भएन। मौन बस्नु भयो,’ देउवासँगको भेटबारे जानकारी दिँदै दाहालले भने।

यही गठबन्धनलाई अघि बढाउने दोहोर्‍याउँदै उनले केही साना दलहरु माओवादीसँग एकता प्रक्रियामा आउने तयारी भइरहेको समेत जानकारी दिएको छलफलमा सहभागी सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटाले बताए। ‘अरु केही पार्टीहरुसँग माओवादीले मोर्चा बनाउँदै छ,’ दाहालको भनाइ उद्धृत गर्दै उनले भने। 

पहिला आफूलाई प्रधानमन्त्री बनाउन उपेन्द्र यादव, सिके राउत र रेशम चौधरीको पार्टी गठबन्धनलाई सघाउन तयार रहेको दाबी दाहालले गरे। 

‘पहिला मलाई प्रधानमन्त्री दिने शर्तमा यो गठबन्धलाई सपोर्ट गरेर जान उहाँहरु सहमत हुनुहुन्छ,’ उनले थपे, ‘अन्तिम परिणाम आएपछि सबैसित बसेर पावर सेयरिङ गरेर अघि बढ्ने विषयमा छलफल गर्छौँ।

छलफलमा सहभागि जनप्रतिनिधि तथा नेताहरुले पनि अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको दाबी नछोड्न सुझाव दिए। ‘२३ सिटे कांग्रेसलाई अहिले पहिलो पार्टी माओवादीले नै बनाएको हो। कांग्रेसमा नैतिकताको राजनीति छ भने अब सर्लक्क प्रधानमन्त्री माओवादीलाई छोड्नु पर्छ,’ दाहाललाई उनीहरुले भने। 

माओवादी अध्यक्ष दाहाल रिफ्रेस हुन भन्दै परिवारका सदस्यसहित बुधबार सुकुटे आएका थिए। सुनकोसी नदीमा र्‍याफ्टिङ गरेर एक रात सुकुटेमै बिताएका उनी बिहीबार राजधानी फर्केका छन्।

प्रकाशित: १५ मंसिर २०७९ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App