coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाजुराको मतगणना अनिश्चित, सर्वदलिय बैठकमा सहभागि भएन एमाले

फाइल तस्बिर

बाजुुरा जिल्लाको मत गणना सुरु गर्ने सहमतिका लागि बसेको बैठक निष्कर्ष विहिन सकिएको छ। निर्वाचन आयोगले मत गणनाका लागि निर्देशन जारी गरेपनि बाजुरामा सर्वपक्षिय सहमति नहुँदा अन्योल बनेको छ।    

मतगणना बारे छलफल गर्न सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले नआएपछि भोलि विहान ७ बजे पुनः बस्ने र बैठकमा नेकपा एमालेलाई समेत आह्वान गर्ने निर्णय गरिएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्।  

नेकपा एमालेको उपस्थिति नभए मतगणना सुरु गर्ने कि नगर्ने भन्नेमा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरिसकेको छैन्। हत्यारा पक्राउ नगरेको र कब्जा बुथको प्रमाण हुँदा हुँदै पुन मतदानका विरुद्धमा निर्णय गरेको प्रति नेकपा एमाले थप आक्रोशीत बनेको छ।  यता नेकपा एमालेले भने प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिसँग भएको सहमति कार्यान्वन नभएसम्म सर्वदलिय बैठकमा सहभागि नहुने अडान लिएको छ। स्थानीय प्रहरी प्रशासन र नेकपा एमालेबीच भएको सहमति कार्यान्वन नगरेसम्म कुनै बैठकमा सहभागि नहुने पार्टी सचिव भरत थापाले बताएका छन्।

थापाका अनुसार काँग्रेस कार्यकर्ताबाट हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ गर्ने, विना कारण पक्राउ गरिएका अनेरास्ववियुका ११ जना विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्ने, बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीया माथि आक्रमण गर्ने गिरोहलाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको थियो। तर प्रमुख जिल्ला अधिकारीले कुनै सर्त र सहमति पालना नगरेपछि नेकपा एमाले बैठकमा सहभागि हुने र मतगणना प्रक्रिया अघि बढाउने पक्षमा नरहेको पार्टी सचिव थापाले बताएका छन्। थापाले नेकपा एमालेलाई सहमतिमा नलिई कुनैपनि कुरामा जबरजस्ती गर्न खोजिए एमाले बाजुराको शक्ति देखाउने समेत चेतावनी दिएका छन्।

नेकपा एमालेले १६ वटा बुथमा कब्जा गरिएकोले पुन मतदानको माग गरेको थियो। १६ बुथ मध्येपनि बुढीगंगा नगरपालिका ४, त्रिवेणी ३ र ७,  हिमाली ६ मा अवैध मतदान गरिएको आरोप एमालेको छ। हिमाली गाउँपालिका ६ मा मतदान सकिएपछि प्रतिनिधी सभाका उम्मेदवार बद्री पाण्डे आफै गएर ६ सय मत पछि कोठामा खसाइएको आरोप छ। भने त्रिवेणी ३ मा मतपत्रमै अरुले हस्ताक्षर गरेर मत खसाएको र ७ मा मान्छे मार्ने र मर्ने अवस्था ल्याएर बुथ कब्जा गरिएको आरोप नेकपा एमालेको छ।  

यस्तै बुढीगंगा नगरपालिका ४ मा शिल नगरिकनै मतपेटिका मार्तडी पुर्याइएको थियो। तर नेपाली काँग्रेसले भने बुढीगंगाको ९ बाट नेकपा एमालेले नै बुथ कब्जा गर्न सुरु गरेको बताएको छ।  निर्वाचन आयोगले भने मतगणना गर्न निर्देशन दिइसकेको छ।  

प्रकाशित: १४ मंसिर २०७९ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App