coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पहिले हार अहिले बदला

गुल्मी १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली पराजित भए। आफू पराजित भएपछि निर्वाचित नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीलाई भेटेर शुभकामना दिँदै ठट्यौली पारामा उनले भने, ‘फुटबल चलिरहेको छ। २–२ को बराबरी भयो।’  

कतारमा विश्वकप फुटबल चलिरहेको छ। ‘फुटबल’ शब्द जोडिए पनि ज्ञवालीले भनेको तथ्य भने फुटबलसँग सम्बन्धित होइन। उनले भण्डारी र आफूबीचको निर्वाचनमा भएका जितहारका शृंखलालाई जोडेर ‘२–२ को बराबरी’ भएको तथ्य दर्साउन खोजेका हुन्। दुवैजनाले यसअघिसम्म तीन निर्वाचनमा आपसी भिडन्त गरेका थिए। यसपटक उनीहरूको चौथो भिडन्त हो। पहिला तीनमध्ये दुईमा ज्ञवालीले जितेका थिए भने एकमा भण्डारीले। अहिले भण्डारीले थप एक जित्दै २–२ को बराबरी गरेका हुन्।

यसपटक भण्डारी ३३ हजार ७ सय ४४ मतसहित विजयी हुँदा ज्ञवालीले ३२ हजार १ सय ५२ मत पाएका छन्। भण्डारी र ज्ञवाली पहिलोपटक पहिलो संविधानसभा निर्वाचन २०६४ मा भिडेका थिए। तत्कालीन गुल्मी २ मा भिड्दा पहिलो बाजी ज्ञवालीले मारे।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा भण्डारीले जित्दा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने ज्ञवाली निर्वाचित भएका थिए। भण्डारी र ज्ञवालीजस्तै जितहारको सिलसिला संखुवासभाबाट उम्मेदवार रहेका एमालेका राजेन्द्रप्रसाद गौतम र कांग्रेसका दीपक खड्काबीच पनि जारी रह्यो। दुवैजना दोस्रो संविधानसभा निर्वाचन २०७० मा आमनेसामने भएका थिए। तत्कालीन संखुवासभा २ मा भिड्दा खड्काले बाजी मारेका थिए। त्यसको बदला गौतमले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लिए र जहाँ गौतम ३२ हजार ७ सय ६९ मतसहित विजयी हुँदा खड्काले ३१ हजार ६ सय ३९ मत पाएका थिए। गौतमको त्यो बदला यसपटक खड्काले पुनः उल्टो बनाइदिएका छन्। अहिले खड्का ३२ हजार १ सय ६१ मतसहित विजयी हुँदा गौतम २६ हजार ७ सय २१ मतमा रोकिएका छन्।  

प्रतिनिधिसभा निर्वाचनमा जितहारको यति लामो शृंखला नचले पनि यसपटक अघिल्लो पटकको हारको बदला लिनेहरूको सूची भने लामै छ।  

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बूले एमालेका घनश्याम खतिवडासँग २०७४ को हारको बदला लिएका छन्। अघिल्लोपटक खतिवडा ३७ हजार ५ सय २४ मतसहित विजयी भएका थिए भने लिम्बूले ३१ हजार ४ सय ३६ मत पाएका थिए। अहिले लिम्बुले २६ हजार ८ सय ६७ मत पाउँदा खतिवडाले २२ हजार २ सय ९७ मत पाएका छन्। यस्तै मोरङ ३ मा कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकालसँग बदला लिएका छन्। २०७४ सालमा ढकाल ४२ हजार ४ सय १३ मतसहित विजयी हुँदा शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए। अहिले शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरी बदला लिँदा ढकाल २५ हजार ८ सय ९५ मतमा रोकिएका छन्।  

मोरङ ६ मै कांग्रेसका डा. शेखर कोइरालाले पूर्वमन्त्री एवं एमालेका नेता लालबाबु पण्डितसँग २०७४ मा बेहोरेको झिनो हारको बदला लिएका छन्। उतिबेला पण्डितले ३३ हजार ९ सय ४१ मतसहित विजयी हुँदा कोइरालाले ३३ हजार २ सय ६६ मत पाएका थिए। अहिले कोइरालाले फराकिलो जित निकालेका छन्। ३५ हजार २ सय २४ मतसहित उनी विजयी हुँदा पण्डितले २२ हजार ९ सय ४६ मत पाएका छन्। २०७४ को निर्वाचनमा ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा एमालेका यज्ञराज सुनुवारसँग हारेका थिए। उतिबेला सुनुवारले ३२ हजार ५ सय ८० मतसहित जित निकाल्दा खतिवडा २७ हजार ३ सय २७ मतमा रोकिएका थिए। अहिले खतिवडाले उनै सुनुवारलाई पराजित गरेर बदला लिएका छन्। ३३ हजार ५ सय ५६ मतसहित खतिवडाले जित निकाल्दा सुनुवार २६ हजार ७ सय ३८ मतमा रोकिएका छन्। २०७० मा सुनुवार ओखलढुंगा–१ र खतिवडा–२ बाट निर्वाचित संविधानसभा सदस्य हुन्।  

यस्तै धनुषा–१ मा नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवसँग २०७४ मा बेहोरेको हारको बदला जनता समाजवादी पार्टी (जसपा) का नेता दीपक कार्कीले लिएका छन्। २०७४ मा यादवले २६ हजार ४ सय १८ मतसहित विजयी हुँदा कार्कीले १७ हजार २ सय ९६ मत पाएका थिए। अहिले कार्कीले २७ हजार ४ सय ३१ मत ल्याएर विजयी हुँदा यादव २१ हजार ४ सय ८३ मत प्राप्त गरेका छन्। यस्तै धनुषा २ मा उमाशंकर अरगरियासँग कांग्रेसका रामकृष्ण यादवले बदला लिएका छन्। २०७४ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका अरगरिया ३२ हजार ४४ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रका रामचन्द्र झा १८ हजार ७ सय १५ मतसहित दोस्रो र कांग्रेसका यादव १५ हजार ४ सय ४२ तेस्रो स्थानमा थिए। अहिले यादव २० हजार १ सय १२ मतसहित विजयी हुँदा एमालेबाट लडेका अरगरिया १९ हजार ९ सय ५५ मतमा रोकिएका छन्।  

यस्तै महोत्तरी–१ मा पूर्वमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पराजित भएका छन्। उनीसँग २०७४ मा संघीय समाजवादी फोरमबाट लडेर हारेका लक्ष्मी महतो कोइरी अहिले एमाले प्रवेश गरेर हराउन सफल भएका छन्। २०७४ मा पोखरेल २३ हजार ७ सय ७६ मतसहित विजयी हुँदा महतोले १९ हजार ४ सय ९२ मत पाएका थिए। अहिले पोखरेल २२ हजार ३ सय ७२ मतमा सीमित हुँदा महतोले २३ हजार ४ सय २ मत पाए।  

महोत्तरी ४ मा कांग्रेसका महेन्द्रकुमार रायले जसपाका सुरेन्द्रकुमार यादवसँग २०७४ को हारको बदला लिएका छन्। २०७४ मा यादव १८ हजार ३ सय ५३ मतसहित विजयी हुँदा रायले १३ हजार २५ मत पाएका थिए। अहिले रायले २५ हजार ४ सय २० मतसहित विजयी भए भने यादव २१ हजार २ सय ९६ मतमा रोकिए। त्यस्तै बारा १ का बहालवाला खानेपानी तथा सरसफाइमन्त्री एवं कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसँग एमालेका अच्यूतकृष्ण मैनाली २०७४ को हारको बदला लिन सफल भएका छन्। २०७४ मा चौधरी २४ हजार ४ सय ५० मतसहित विजयी हुँदा मैनालीले २२ हजार ३० मत पाएका थिए। अहिले मैनालीले ३९ हजार १ सय ९२ मतसहित जित निकाल्दा चौधरी ३० हजार ५६ मतमा रोकिएका छन्।  

त्यस्तै ललितपुर १ मा कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालसँग बेहोरेको हारको बदला लिन सफल भएका छन्। २०७४ मा एमालेबाट उम्मेदवारी दिएका सिलवालले २६ हजार ९ सय ५१ मत प्राप्त गर्दै २० हजार ७ सय २९ मत पाएका राणालाई हराएका थिए। अहिले राणा २३ हजार ८ सय ९२ मतसहित विजयी हुँदा सिलवाल १९ हजार २ सय ७८ मतमा रोकिए। यस्तै मनाङमा एमालेका पोल्देन छेपाङ गुरुङलाई हराउँदै कांग्रेसका टेकबहादुर गुरुङले २०७४ को हारको बदला लिएका छन्। उतिबेला पोल्देन २ हजार ३ सय मतसहित जित्दा टेकबहादुरले २ हजार २१ मत पाएका थिए। अहिले टेकबहादुरले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देन २ हजार २ सय ४७ मतमा रोकिएका छन्।  

यस्तै स्याङ्जा १ मा कांग्रेसका राजु थापाले ३१ हजार ९ सय ९९ मतसहित २८ हजार ७ सय ४४ मतमा रोकिएका एमालेका नारायणप्रसाद मरासिनीसँग बदला लिएका छन्। २०७४ मा थापाले २८ हजार ६ सय ६२ मत पाउँदा मरासिनी ३९ हजार २ सय २६ मतसहित विजयी भएका थिए। नवलपरासी (बर्दघाट सुस्तापूर्व) २ मा कांग्रेसका विष्णुकुमार कार्कीले एमालेका तिलबहादुर महत क्षेत्रीसँग बदला लिएका छन्। २०७४ मा ३९ हजार ५३ मतसहित क्षेत्रीले जित्दा कार्कीले ३७ हजार ७ सय २० मत पाएका थिए। अहिले कार्कीले ३६ हजार १ सय ३२ मत पाउँदा क्षेत्री ३४ हजार १ सय १० मतमा रोकिए।  

त्यस्तै रूपन्देही ४ मा कांग्रेसका प्रमोदकुमार यादवसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल बदला लिन सफल भएका छन्। अहिले शुक्ल २८ हजार मतसहित विजयी हुँदा यादव २२ हजार ७ सय ४ मतमा रोकिएका छन्। २०७४ मा यादव ३१ हजार ७ सय १८ मतसहित विजयी भएका थिए भने शुक्ल २० हजार ४ सय १६ मत पाउँदै निकटतम प्रतिद्वन्द्वीमा सीमित बनेका थिए। २०७४ मा कपिलवस्तु २ मा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर लडेका वृजेशकुमार गुप्तले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई हराएका थिए। उतिबेला गुप्त ३५ हजार १ सय ४७ मतसहित विजयी हुँदा आचार्य ३१ हजार ५ सय ६६ मतमा रोकिएका थिए। अहिले आचार्यले ३९ हजार १४ मतसहित जितेका छन् भने गुप्त ३८ हजार ६ सय ९७ मतमा रोकिएका छन्।

त्यस्तै कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाहसँग एमालेका मंगलप्रसाद गुप्ताले २०७४ को हारको बदला लिएका छन्। उतिबेला संघीय समाजवादी फोरमबाट कांग्रेस प्रवेश गरेर टिकट लिँदा गुप्ता कांग्रेसबाट शाहले छाडेको पार्टी प्रवेश गरेर लडेका थिए। जसमा शाह २० हजार १ मतसहित विजयी हुँदा गुप्ता १५ हजार ८ सय २६ मतमा रोकिएका थिए। अहिले एमालेबाट लडेका गुप्ता २२ हजार ६ सय १९ मतसहित विजयी हुँदा शाह १८ हजार ९ सय ८२ मतमा रोकिएका छन्। सुर्खेत १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले एमालेका ध्रुवबहादुर शाहीसँग २०७४ को हारको बदला लिन सफल भएका छन्। उतिबेला शाही ३६ हजार ७ सय ५९ मतसहित विजयी हुँदा खड्का ३३ हजार ३ सय ७७ मतमा रोकिएका थिए। अहिले खड्काले ४२ हजार ६ सय ७ मतसहित जित निकाल्दा शाही ३० हजार ९ सय ८८ मतमा रोकिएका छन्।  

कञ्चनपुर २ मा कांग्रेस नेता एनपी साउँदलाई २०७४ मा एमालेका नरबहादुर धामीले हराएका थिए। उतिबेला धामीले ३३ हजार ९ सय २० मत प्राप्त गर्दा साउँद २४ हजार ८ सय ९३ मतमा रोकिएका थिए। अहिले २८ हजार १ सय ३६ मतसहित साउँद विजयी भएका छन् भने धामीले २१ हजार ६ सय ८२ मत पाएका छन्। अछाम २ मा एमालेका यज्ञबहादुर बोगटीसँग कांग्रेसका पुष्पबहादुर शाहीले बदला लिएका छन्। २०७४ मा बोगटी २१ हजार ९ सय ६५ मतसहित विजयी भएका थिए भने शाहीले १९ हजार १ सय ६ मत पाएका थिए। अहिले शाही २२ हजार ९ सय ५४ मतसहित विजयी हुँदा बोगटी १६ हजार १ सय १४ मतमा रोकिएका छन्। सुनसरी ३ मा एमालेकी भगवती चौधरी कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारसँग दुईपटकको हारको बदला लिने स्थितिमा देखिएकी छन्। अहिलेसम्मको गणनामा चौधरीले गच्छदारलाई भारी मतान्तरले पछाडि पारेकी छन्।

प्रकाशित: १३ मंसिर २०७९ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App