५ वैशाख २०८१ बुधबार
राजनीति

चारलेन सडकमा सांसदहरुको चासो: एक महिनामा थप ६ प्रतिशत काम गर्ने कागज

तस्बिरः सडक निर्माण बारे सरोकारवाला पक्षसंग छलफल गर्दै प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रदेशसभाद्वय प्रचण्ड न्यौपाने र राजु खनाल।

लामो समयदेखि निर्माण अलपत्र परेको घोराही तुलसीपुर चारलेन सडक निर्माण बारे नवनिर्वाचित सांसदहरुले चासो देखाएका छन्। उनीहरुले निर्माणमा भैरहेको ढिलाइको कारण बुझ्दै तत्काल निर्माणको कामलाई गती दिन सरोकारवालालाई भनेका छन्। सांसदहरुको चासो पश्चात निर्माण कम्पनिले तत्काल कामलाई गती दिने लिखित कागज गरेको छ।  

आइतबार दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, दाङ २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य राजु खनाल, २ (२) बाट निर्वाचित प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ ले निर्माण व्यवसायी, सडक आयोजनाका प्रतिनिधि,प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसंग सडक निर्माणमा भैरहेको बिलम्ब बारे छलफल गरेका हुन्।  

छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कोभिड संक्रमण, आर्थिक जोहो नहुँदा काम हुन नसकेको बताएका थिए। यो सडक निर्माणको जिम्मा भारतीको मुम्बई स्थित तथ्य ईन्जिनीयरिङ एवं ईनफ्रास्ट्रक्चर प्रालीले लिएको छ। यो कम्पनी मार्फत अहिले यो सडक निर्माणको जिम्मा काठमाडौँ स्थित श्रेष्ठ कन्सट्रक्सनले लिएको छ। अहिले कामका लागि बहाना गर्न नहुने भन्दै सांसदहरुले तत्काल कामलाई निरन्तरता दिन आग्रह गरेका थिए। छलफलमा निर्माण कम्पनीले अब नतिजा देखिने गरि काम सुरु गर्ने प्रतिवद्धता गरेको छ।  

१५ दिन भित्र थप १ प्रतिसत काम गर्ने कम्पनीले पहिलो लिखित सम्झौता गरेको छ। यसैगरि थप १५ दिन पछि थप ५ प्रतिसत प्रगती देखिने गरि काम गर्ने सम्झौता भएको छ। ‘आजका मिति देखि १५ दिन भित्रमा थप १ प्रतिशत प्रगती गर्ने र त्यसको थप १५ दिन पछि थप ५ प्रतिशत प्रगती देखिने गरि काम गर्ने लिखित सम्झौता निर्माण कम्पनीले गरेको छ,’ छलफलमा सहभागी लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले भने ‘यसो हुन नसके ठेक्का सम्झौता तोड्ने कागज भएको छ।’ उनले यो वा त्यो बहानामा सडक निर्माणको काम अलपत्र पार्न नहुने भन्दै सडक निर्माणको कामलाई गती दिनै पर्ने बताए।  

आगामी एक महिनामा ६ प्रतिशत भौतिक प्रगती देखिने गरि काम गर्ने लिखित सहमती गरेको कम्पनीले सोही अनुसार काम गरेको खण्डमा यो सडकको कुल प्रगती झण्डै १६ प्रतिशत हुने छ। अहिले सम्म यो सडक निर्माणको काम ९.८२ प्रतिसत मात्रै भएको छ। 

‘एक महिनामा थप ६ प्रतिसत प्रगती देखिए यो सडकको निर्माणको काम झण्डै १५ प्रतिशत पुग्ने छ,’ निर्माण कम्पनि र सांसदहरुका बिचमा भएको लिखित सम्झौतामा उल्लेख छ।’  

यदी यो समझौता अनुसार काम नभएको निर्माण ठेक्का सम्झौता तोड्ने सम्मको लिखित कागज ठेक्का कम्पनीले गरेको छ। ‘यदि लिखित कागजमा भएको सहमती अनुसार काम नभएको खण्डमा सडक बिभाग, सडक सुधार तथा विकास आयोजनाबाट ठेक्का सम्झौता रद्द गर्ने प्रकृया अगाडी बढाउने र निर्माण व्यवसायी यसविरुद्ध मुद्धा तथा अदालती प्रकृयामा जाने छैन’ उक्त लिखितमा भनिएको छ।

छलफलमा बोल्दै सांसदहरुले निर्माण व्यवसायीलाई सडक निर्माणको काम अगाडी बढाउन सुझाव दिँदै निर्माणका क्रममा देखिने हरेक समस्या समाधानका लागि आफुहरुले समन्वय गर्ने बताएका थिए। ‘तपाईहरुले निर्माणको काम थाल्नुस्, कहाँ के समन्वय गर्नु पर्ने हो, हामी गर्छौँ,’ प्रतिनिधिसभा सदस्य रेखा शर्माले भनिन् ‘तर यो वा त्यो बहानामा काममा ढिलाई गर्ने र जनतालाई दुख दिने छुट कसैलाई हुनुहुँदैन।’ यसैगरि प्रदेशसभा सदस्य राजु खनालले सडक निर्माण नहुँदा जनताले सास्ती पाइरहेको भन्दै यो सडक ज्यानमारा सडकका रुपमा रहेको बताए। ‘सडक खनिएको छ, खाल्डा पारिएका छन्,’उनले भने ‘ति खाल्डामा परेर कैयन सर्वसाधारणहरुले ज्यान गुमाईसके, सडक निर्माणका क्रममा खनिएका ज्यानमारा खाल्डाहरु पुरियोस्।’  

यसैगरि अर्का प्रदेशसभा सदस्य प्रचण्ड बिक्रम न्यौपानेले अहिले निर्माण व्यवसायीले एक महिनामा ६ प्रतिशत थप प्रगती हुने गरि काम थाल्ने कागज गरेको तर यतिमा मात्रै सिमित नभई यो सडकको पुरा निर्माणको काम चाडो सम्पन्न गर्ने गरि हुनुपर्नेमा जोड दिए। ‘यो सडक निर्माणको कामलाई जति सक्यो चाँडो कसरी सम्पन्न गर्न सकिन्छ, त्यता तर्फ सबैको ध्यान जानु पर्छ,’ उनले भने ‘सडक निर्माणका क्रममा आउने समस्या समाधानका लागि हामी जनप्रतिनिधिहरुले कहाँ , को संग कसरी समन्वय गर्नु पर्छ, हामी त्यसका लागि तयार छौँ।’

छलफलमा श्रेष्ठ कन्सट्रक्सनका सुबाश श्रेष्ठले लिखित सहमती बमोजिम काम गर्न आफूहरु समक्ष रहेको एक महिनाको अवधिमा थप ६ प्रतिसत देखिने गरि काम गर्ने बताएका थिए।  

भारतीय निर्माण कम्पनीले ३ वर्ष अघी यो निर्माणको जिम्मा लिएको थियो। ३० महिना भित्रै काम पुरा गर्ने सम्झौता बमोजिम निर्माणको जिम्मा लिएको यो कम्पनीले सडक निर्माणको काम पेटी ठेकेदार तुलसीपुरका अनुप पाण्डेलाई दिएको थियो। तर पाण्डेले काम नगरेपछि उनीसंगको ठेक्का तोडिएको थियो। त्यसपछि यो भारतीय निर्माण कम्पनिले अन्य ठेक्का कम्पनीलाई पेटी ठेक्का दिएको छ ।  

प्रकाशित: ११ मंसिर २०७९ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App