८ वैशाख २०८१ शनिबार
राजनीति

चेतन अयडी हत्याका आरोपीलाई कारबाही गर्न माओवादीको माग

विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा माओवादीले माग गरेको छ। सातादिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएकाहरुलाई पक्राउ समेत नगरिएको प्रति नेकपा माओवादी केन्द्र बाजुरामा आवद्ध जनसंगठनले ध्यानाकर्षण गराएका छन्।

पार्टी नेता तथा जनसंगठनका तर्फबाट सयुक्त रुपमा जारी प्रेस विज्ञप्ती मार्फत माओवादीले हत्यारालाई पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। घरभित्रबाट बाहिर तानेर कुटीकुटी हत्या गर्ने हत्यारालाई कुनै पक्षबाट पनि संरक्षण गरिए त्यो मानवता माथिकै अन्याय हुने तर्फ सचेत हुन विज्ञप्ती मार्फत ध्यानाकर्षण गराइएको छ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष एवं समानुपातिक तर्फका उम्मेदवार कमल कुमारी शाह, अनेमसंघ क्रान्तिकारीका अध्यक्ष जानकी बुढा, अखिल क्रान्तिकारीका अध्यक्ष खेमराज साउँद, वाइसीयलका जिल्ला इन्चार्ज निर्मला कुमारी विष्ट र गणेश राज गिरीको सयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी गरेको छ।

चेतन अयडी हत्या काण्डमा माओवादी पहिलो पटक आधिकारीक रुपमा बोलेको हो। निर्मम तरिकाले कुटपीट गरि हत्या गरिएको प्रति नेकपा माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको र हत्यारालाई कारबाहीका लागि प्रहरी प्रशासनका तर्फबाट ढिलासुस्ती नगर्न पनि आग्रह गरेको छ।

मंसिर ४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडी र चेतन अयडी दुबै जनाको परिवारलाई क्षतिपूर्ति, दोषीलाई कारबाही र घटनाको निष्पक्ष छानवीनको माग माओवादीले गरेको छ। शव समेत बुझ्ने वातावरण नबनाउनु दुखद विषय भएकोले सबै पक्ष जिम्मेवार र सचेत हुन विज्ञप्ती मार्फत आग्रह गरिएको छ।

प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको शव बुझेर आफन्तले दाह संस्कार गरिसकेका छन् भने चेतन अयडीको शव बाजुरा जिल्ला अस्पतालमै राखिएको छ। आफन्तले हत्यामा संलग्न २२ जनाको नाममा कर्तव्य जान मुद्दामा किटानी जाहेरी दिएका छन्। प्रहरीले अहिलेसम्म २ जना बाहेक नियन्त्रणमा लिएको छैन्। हत्या आरोपमा किटानी गरिएका व्यक्तिहरु सामाजिक सञ्जालमा देखिने गरेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन्।  

प्रकाशित: ११ मंसिर २०७९ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App