८ वैशाख २०८१ शनिबार
राजनीति

आधार ईलाकामा माओवादी!

रोल्पाको थवाङमा माओवादीले बनाएको स्केच। फोटो दिनेश: नागरिक

गएको स्थानीय तह निर्वाचनमा गठबन्धन सहित चुनावी मैदानमा आएको माओवादीलाई परेको सकस अहिलेको आम निर्वाचनमा फलामको च्युरा जस्तै बन्यो। उसको आधार ईलाका नै सुरक्षित बनेन। रुकुम पश्चिम बाहेक अन्य जिल्लामा माओवादीको उपस्थिती संतोषजनक देखिएन। शान्ति प्रकृयाको १७ बर्ष मै विरासत जोगाउन माओवादीलाई हम्मे हम्मे पर्‍यो।

देशैभर १७ सिट जितेको माओवादीले लुम्बिनी प्रदेशका १२ जिल्ला अन्र्तगत २६ सिट मध्ये ३ सिट जितेको छ। प्रदेश सभातर्फ रहेका ५२ सिट मध्ये माओवादीको उसले ५ सिटमा चित्त बुझाउनु परेको छ। रुकुम पूर्वको एक प्रतिनिधि सभातर्फ माओवादीका पूर्ण घर्ती विजयी भएका छन्। तर प्रदेश (क) मा स्वतन्त्रका सुरुल पुन र प्रदेश (ख) मा कांग्रेसका धनबहादुर केसी निर्वाचित भए। माओवादीकै अर्को आधार ईलाका मानिएको जाजरकोटका दुवै प्रदेशमा कांग्रेसले जित हासिल गर्‍यो। यद्यपी प्रतिनिधि सभामा माओवादीका शक्तिबहादुर बस्नेतले सफलता पाए।  

रोल्पाको प्रतिनिधि सभामा बर्षमान पुन निर्वाचित भए भने प्रदेश (ख) मा स्वतन्त्रका दीपेन्द्र कुमार पुन विजयी भए। रोल्पाको प्रदेश (क)मा भने माओवादीका जोखबहादुर महरा निर्वाचित भएका छन्। पश्चिम रुकुमको जनार्दन शर्माका लागि पाटिमा बार्गेनिङ गर्न लायक बन्यो। यहाँ भने प्रतिनिधि सभा र प्रदेश सभामा माओवादीको एकाधिकार रह्यो।

गठबन्धनका कारण सल्यानमा प्रतिनिधि सभा नेकपा समाजवादीका प्रकाश ज्वालालाई दिएपछि यहाँ माओवादीको एउटा प्रदेशमा मात्र जनायो। प्युठानमा एमालेका सूर्य थापाले जिते सँगै माओवादी उपस्थिती प्रदेश सभामा पनि रहेन। प्रतिनिधि सभा जनमोर्चाका लागी छोडेपछि प्रदेशमा चित्त बुझाएको माओवादीलाई त्यो उपस्थिती पनि जनाउन सकेन।

गठबन्धनका बलमा दाङको क्षेत्र न. २ मा माओवादीबाट रेखा शर्माले झिनो मतका साथ जित हासिल गरे पनि यहाँका ६ प्रदेशसभा मध्ये २ वटामा उसको उपस्थिती रह्यो। अर्को आधार ईलाका पाल्पामा माओवादी जनप्रतिनिधिको उपस्थिती रहेन। दैलेखमा माओवादीका कुनै पनि जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने छैनन्। कालिकोटको प्रतिनिधि सभा र एउटा प्रदेशमा उसको उपस्थिती रहने छ।  

विगतमा भन्दा यो पटक मतदान कम भएको छ। फेरि पनि गठबन्धनले माओवादीलाई आधार ईलाकाका यी क्षेत्रमा साख बचाउन केहि सहज भने बनायो। गठबन्धन नै भए पनि उसको भागमा परेको मत तुलनात्मक हिसाबले धेरै घटेको देखिन्छ। राजनीतिलाई बुझ्नेहरुले यो पटकको निबर्वाचन माओवादीका लागी आधार ईलाका मै फलामको च्युरा बनेको छ।

प्रकाशित: ११ मंसिर २०७९ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App