coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्। 

नेपाल मजदुर किसान पार्टी जिल्ला निर्वाचन परिचालन समितिले शनिबार मतदाताहरुलाई गरेको धन्यवाद र्‍यालीको क्रममा ठाउँंठाउँंमा बोल्दे सुवालले स्वदेशमै मल कारखाना खोल्न आफूहरुले नियमित रुपमा सरकारलाई दवाव दिंंदै आएको स्मरण गरे। र्‍यालीको क्रममा सुवालले गोल्मढी, सुकुलढोका, साकोठा, टौमढी, नासमना, सिद्धपोखरीलगाउतका ठाउँंहरुमा सम्बोधन गरेका थिए।  

उनले जनताले दिएको विश्वासको मत अनुसार देश नै संकटमा पर्ने नागरिकता विधेयक खारेज गराउन जनतासँग बरोबर छलफल गरी संसद र सडकमा संघर्ष गर्ने प्रतिवद्धता जनाए। संसदमा नीतिनियम तथा कार्यक्रम, विभिन्न किसिमका विधेयक तथा अन्तराष्ट्रिय सन्धी सम्झौतामाथि छलफल गर्नुपर्ने बताउँदै सुवालले, भारतीय अतिक्रमित भूभाग फिर्ता, भारतीय सेना फिर्ता तथा असमान सन्धी सम्झौता खारेज गराउन संसदमा संघर्ष जारी राख्ने बताए।

र्‍याली पार्टी कार्यालय गोल्मढीबाट विहान सुरु भएको थियो। र्‍याली सुरु हुनु अघि पार्टी कार्यालय परिसरमा भएको भएको धन्यवाद ज्ञापन मन्तव्यमा पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपामा जनताको निस्वार्थ रुपले सेवा गर्ने भावना रहेको कारण जित हासिल गर्दै आएको बताए। उनले भक्तपुरमा निर्वाचन धाँंधलीरहित हुने भएकाले पनि पार्टीले अत्यधिक बहुमत ल्याएको बताए।  

र्‍यालीको क्रममा पार्टीकोतर्फबाट प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले भ्रष्टाचारी, चेलीबेटी बेचबिखन तथा मानव तस्कर गर्नेहरुलाई मृत्युदण्ड दिन संविधान संशोधनको लागि अझै संघर्ष गर्नुपर्ने बताइन्।  बागमती प्रदेशसभामा निर्वाचित नेमकिपाका सुरेन्द्रराज गोसाईले जनताको भावना अनुरुप निस्वार्थ रुपले देश र प्रदेशको लागि आवश्यक नीति निर्माणमा मन, बचन र कर्मले लाग्ने बाचा गरे। भक्तपुर क्षेत्र नं १ (क) का उम्मेदवार मीनबहादुर बाटा, प्रदेश २ (क) र (ख) का सरोजराज गोसाई र रमेश वैद्यले जनताबाट प्राप्त मतले आफूहरुलाई अझ वढी देश र जनताका लागि निस्वार्थ रुपमा लाग्ने प्रेरणा मिलेको बताए।  

धन्यवाद र्‍याली विभिन्न टोलका धिमेबाजा, बाँसुरी बाजा, गीतसंगीत तथा नाचगानको झाँकीका साथ भव्य भएको थियो। र्‍यालीको क्रममा ठाउँंठाउँमा जनताले सगुन र आशिष दिएका थिए। विहानै सुरु भएको र्‍यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो। जुलुश पार्टी केन्द्रिय कार्यालय गोल्मढीबाट सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुगेको थियो। त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रिय कार्यालय गोल्मढीमा पुगेको थियो। विहानबाट सुरु भएको याली राति मात्रै पार्टी कार्यालय गोल्मढीमै पुगेर समापन भएको थियो।  

पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको थियो। यो कार्यक्रम चार दिनको लागि तय गरिएको छ। पहिलो दिन भक्तपुर क्षेत्र नं १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो। शनिबार भक्तपुर नगरभरि कार्यक्रम गरिएको थियो। आइतबार र सोमबार फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ।  

भक्तपुर क्षेत्र नं १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए। यहाँं एमालेका नवराज गेलाललेल ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ नेपाली कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए।  

प्रकाशित: १० मंसिर २०७९ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App