८ वैशाख २०८१ शनिबार
राजनीति

१९ मन्त्री पराजित

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा १९ जना बहालवाला मन्त्री पराजित भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार रहेका संघीय र सातवटा प्रदेश सरकारका गरी १९ जना मन्त्री पराजित भएका हुन्। उम्मेदवार बनेका केही मन्त्रीको अझै नतिजा आएको छैन।

संघीय सरकारका पाँच जना बहालवाला मन्त्री पराजित भएका छन्। जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी र राज्यमन्त्री उमेश श्रेष्ठ छन्।

सत्ता गठबन्धनको सहयोगमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट उम्मेदवार बनेका पर्यटनमन्त्री श्रेष्ठ काठमाडौं ८ मा पराजित भए। उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन्। यस्तै सत्ता गठबन्धनकै सहयोगमा नेकपा माओवादी केन्द्रबाट ललितपुर ३ मा उम्मेदवार रहेकी ऊर्जामन्त्री भुसाल रास्वपाकी डा. तोसिमा कार्कीसँग पराजित भइन्। भुसाल तेस्रो स्थानमा सीमित भइन्।

बाँके १ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रबाट उम्मेदवार रहेका खेलकुदमन्त्री गहतराजलाई एमालेका सूर्य ढकालले पराजित गरे। नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका खानेपानीमन्त्री चौधरी बारा १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीसँग पराजित भए। कांग्रेसबाटै चितवन २ मा उम्मेदवार रहेका राज्यमन्त्री श्रेष्ठ रास्वपाका सभापति रवि लामिछानेसँग फराकिलो मतान्तरले पराजित भए। संघ सरकारकै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाण शुक्रबार साँझसम्म पछाडि परेका छन्।

यसैगरी प्रदेश १ सरकारका पनि दुई मन्त्री पराजित भइसकेका छन् भने एकजना मतगणनामा पछाडि छन्। प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव मोरङ ५ (ख) मा कांग्रेसका अमृत अर्यालसँग पराजित भएका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार थिए।

यस्तै माओवादी केन्द्रबाट झापा ४ (क) मा उम्मेदवार रहेका कृषिमन्त्री झलकबहादुर मगर पनि पराजित भए। उनलाई एमालेका राधाकृष्ण खनालले हराए। नेकपा एसबाट मोरङ १ (ख) मा उम्मेदवार रहेका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे एमालेका खड्कबहादुर बस्नेतभन्दा पछाडि परेका छन्। यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगको तथ्यांकअनुसार उनी ५७५ मतले पछाडि छन्।

मधेस प्रदेश सरकारका चारजना मन्त्री पराजित भइसकेका छन्। सिरहा २ (क) मा जसपाबाट उम्मेदवार रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव जनमत पार्टीका सञ्जयकुमार यादवसँग पराजित भएका छन् भने जसपाबाटै सप्तरी २ (क) मा उम्मेदवार रहेका प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पनि पराजित भएका छन्। उनलाई जनमत पार्टीकै सतीशकुमार सिंहले पराजित गरेका हुन्।

यस्तै मधेस सरकारकै कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्रराय यादव पनि पराजित भएका छन्। जसपाबाट रौतहट १ (ख) मा उम्मेदवार रहेका उनी कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवसँग पराजित भएका हुन्। उता प्रदेश सरकारका वन राज्यमन्त्री नागेन्द्र यादव पनि रौतहट ३ (ख) मा पराजित भएका छन्।

नेकपा एसबाट उम्मेदवार रहेका यादवलाई स्वतन्त्र उम्मेदवार केशवराय चौधरीले पराजित गरेका छन्।

यस्तै वाग्मती प्रदेशका श्रम, रोजगार तगा यातायातमन्त्री घनश्याम दाहाल चितवन २ (क) मा पराजित भएका छन्। अघिल्लोपटक माओवादीबाट यही क्षेत्रमा निर्वाचित उनी यसपटक दोहोरिएर उम्मेदवार बनेका थिए। उनलाई एमालेका कृष्णप्रसाद सिलवालले पराजित गरे। उता गण्डकी प्रदेश सरकारका बहालवाला अर्थमन्त्री रामजी बराल पनि पराजित भए। माओवादी केन्द्रबाट कास्की ३ (क) मा प्रतिनिधिसभामा उम्मेदवार रहेका उनलाई एमालेका दामोदर पौडेल बैरागीले पराजित गरे।

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल, भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाही पनि प्रदेशसभा सदस्य बन्नबाट वञ्चित भए। वनमन्त्री हमाल कांग्रेसबाट बाँके २ (ख) मा उम्मेदवार थिए। उनी जसपाका आदेशकुमार अग्रवालसँग पराजित भएका हुन्। भौतिकमन्त्री यादव कपिलवस्तु १ (ख) मा एमालेका मधुसूदनशरण चौधरीसँग पराजित भएका छन्।

अघिल्लोपटक संघीय समाजवादी फोरमबाट यही क्षेत्र जितेका उनी यसपटक कांग्रेसबाट उम्मेदवार थिए। यस्तै उद्योगमन्त्री शाही नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार थिए। सो क्षेत्रमा कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन्। शाही सातौं स्थानमा समेटिएका छन्।

कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया पनि पराजित भएका छन्। नेकपा एसबाट उम्मेदवार रहेका रोकाया एमालेका टेकराज पछाईंसँग पराजित भएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेश सरकारका पनि दुई जना बहालवाला मन्त्री पराजित भएका छन्। कांग्रेसको संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल कैलाली १ (ख) मा पराजित भएका छन्। उनलाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पराजित गरेका छन्।

कांग्रेसबाट डडेलधुरा प्रदेशसभा (ख) मा उम्मेदवार रहेका प्रदेशसभा सरकारका सामाजिक विकासमन्त्री गोविन्द्र बोहरा पनि पराजित भए। उनलाई नेकपा एसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद जोशीले पराजित गरेका हुन्।

प्रकाशित: १० मंसिर २०७९ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App