चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्।
शुक्रवार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार ६९१ मत अन्तरका साथ विजयी भएका हुन्। पाण्डेले ३४ हजार ३६२ मत पाएका छन्। उनका निकटतम प्रतिस्प्रर्धी नेकपा (नेकपा माओवादी केन्द्र) का उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत पाए।
पाण्डे यसअघि २०७० को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर, २०७४ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग ९ हजार ३४१ मतले पराजित भएका भए। अहिले सो बढी मत ल्याएर विजयी भए। सो समयमा नेकपा एमाले र माओवादी केन्द्र विच गठबन्धन भएको थियो भने, कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो।
पाण्डे यस क्षेत्रबाट २०५६ सालदेखि निर्वाचन लड्दै आएका छन्। उनका निकटतम प्रतिस्प्रधी अधिकारी चिकित्सक पेसाबाट लागेका व्यक्ति हुन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जीता बरालले १४ हजार ७७९ र स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए। कोइरालालाई एमालेले समर्थन गरेको थियो। तर, एमालेको उनले पुरै भोट खाएको देखिदैन। चितवन ३ मा ९२ हजार २६ मत खसेको थियो।
प्रकाशित: ९ मंसिर २०७९ १७:०९ शुक्रबार