coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले किल्ला सिन्धुपाल्चोक गठबन्धनको ‘क्लीन स्वीप’

एमालेका परम्परागत लालकिल्ला मानिने सिन्धुपाल्चोक कांग्रेस–माओवादीको गठबन्धनले ‘क्लीन स्वीप’ गरेको छ।  

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा सबै सिट गठबन्धनले सुरक्षित गरेको छ। बलियो गठबन्धनको कारण यो पटक आफ्नो गढमा एमालेले ‘बीउ’ जोगाउन सकेन। एक÷एक प्रतिनिधि सभा र दुई÷दुई प्रदेश सभा सिट बाँडेर चुनावमा होमिएको गठबन्धनले एमालेलाई क्लीन स्वीप गरिदियो। एक्लै चुनावी मैदानमा होमिएको एमालेले गठबन्धनलाई बलियो टक्कर भने दियो।  

गठबन्धनबाट क्षेत्र नं. १ मा माओवादीका माधव सापकोटा (सुवोध) निर्वाचित भए। यो क्षेत्रको (क) मा कांग्रेसकी मसिना खड्का र (ख) मा माओवादीका सरलसहयात्री पौडेल विजयी भए। क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुँदा (क) मा माओवादीका युवराज दुलाल र (ख) मा कृष्णकुमार तामाङ निर्वाचित भए।  

क्षेत्र नं. १ मा गठबन्धनका सापकोटाले एमाले उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले पराजित गरे। सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत मात्र पाए। यो सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको क्षेत्र हो। गठबन्धनका कारण बस्नेत क्षेत्र नं. २ मा पुगे भने सभामुख सापकोटाले युवालाई ठाउँ दिने भन्दै ठाउँ खाली गरिदिएपछि युवा नेता सापकोटाले मौका पाएका थिए । गठबन्धनको बलमा उनले पहिलो अवसरमै संसदको यात्रा तय गरे।  

माओवादी पोलिट्व्यूरो सदस्य सापकोटा जनयुद्धबाट लडाकु पृष्ठभूमि हुँदै राजनीतिमा स्थापित भएका नेता हुन्। उनी नाताले सभामुख सापकोटाका भतिज हुन्। पराजित नेपाल एमाले केन्द्रीय सदस्य हुन्। बागमती प्रदेशका निवर्तमान सांसद र पूर्वमन्त्री रहेका हेविभेट उम्मेदवार उनी आफ्नै गढमा गठबन्धनका कारण पराजित भए।  

क्षेत्र नं. १ को (क) प्रदेशमा कांग्रेसकी खड्काले एमालेका युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन्। खड्काले तामाङ १ हजार ६२ मतान्तरले हराइन्। खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत मात्र पाइन्। निर्वाचित खड्काले समाजसेवीको पृष्ठभूमिबाट चार वर्षअघि मात्र कांग्रेसको राजनीति थालेकी थिइन्। कांग्रेस बागमती सदस्य रहेकी उनी जिल्लामा प्रदेशतर्फ प्रत्यक्ष चुनाव लडेर सांसद बन्ने पहिलो महिला हुन्।  

(ख) प्रदेशमा माओवादीका पौडेल एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई पराजित गर्न सफल भए। ४ हजार २ सय ४३ मतान्तरसहित पौडेलले १७ हजार २ सय ५६ मत ल्याए। उनका निकतटम प्रतिस्पर्धी श्रेष्ठले १३ हजार १३ मत मात्र पाए। निर्वाचत पौडेल माओवादी बागमती प्रदेश अध्यक्ष हुन्। उनलाई बागमती प्रदेशमा माओवादीको तर्फबाट सम्भावित मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ।  

२०७० को संविधान सभा सदस्य निर्वाचनमा पौडेल माओवादीबाट साविक क्षेत्र नं. १ को उम्मेदवार बनेर तेस्रो स्थानमा रहँदै पराजित भएका थिए। यसपटक प्रदेशमा झरेर उनले बाजी मारे। उनी माओवादी पूर्वजनमूक्ति सेनाका कमाण्डर हुन्। पराजित श्रेष्ठले जुगल गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन्।

क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकाले। संसदीय चुनावमा यसअघि यो क्षेत्रबाट कांग्रेसले कहिल्यै जितको स्वाद चाख्न सकेको थिएन। एमाले उम्मेदवार शेरबहादुर तामाङलाई भारी मतले हराउँदै बस्नेतले क्षेत्र नं. २ मा पहिलो पटक कांग्रेसको जितको खाता खोलेका हुन्। शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए। बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे।  

तेस्रो पटक जित निकाल्दै बस्नेतले संसद यात्रा तय गरेका हुन्। यसअघि उनी प्रतिनिधि सभा क्षेत्र नं. १ बाट २०५६ संसदीय र २०७० संविधान सभा निर्वाचनमा विजयी भएका थिए। लगातार तीन संसदीय चुनाव जितेर ह्याट्रिक गर्नबाट तामाङलाई रोक्दै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य रहेका बस्नेतले तेस्रो जित निकाले।  

एमाले पोलिट्व्यूरो सदस्य रहेका तामाङले यसअघि क्षेत्र नं. २ बाटै २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए। २०७९ को बाहेक २०४८ यता भएका ६ संसदीय चुनावमा यो क्षेत्रबाट तीन पटक राप्रपा, एक पटक माओवादी र दुई पटक एमालेले जितेका थिए।  

२०४८, २०५१ र २०५६ मा भएका निर्वाचन लगातार जित्दै राप्रपा नेता पशुपति शम्शेरले ह्याट्रिक गरेका थिए। २०६४ को संविधान सभा निर्वाचन माओवादीका दावा लामाले जिते। २०७० र २०७४ को चुनाव एमालेका तामाङले जिते। २०७४ सम्म यो क्षेत्रबाट प्रतिस्पर्धा गरेका राणा यो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएनन्। राप्रपाको परम्परागत मुटु मानिएको यो क्षेत्र एमालेले लाल किल्लामा परिणत गरेको थियो। क्षेत्र परिवर्तन गर्दै बस्नेतले माओवादीको साथमा यो पटक एमाले गढ भत्काइ दिए।  

२ को (क) प्रदेशबाट माओवादीका दुलालले दोस्रो पटक जित निकालेका हुन्। उनले एमाले उम्मेदवार अमानसिं तामाङलाई पराजित गरे। दुलालले २० हजार २ सय ६ मत ल्याए। माओवादी पृष्ठभूमिका तामाङले १२ हजार १ सय ३९ मत मात्र पाए। चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर तामाङले माओवादी त्यागेर एमाले प्रवेश गरेको डेढ महिनामै प्रदेश टिकट पाएका थिए।

जिल्लाका चार प्रदेशमध्ये दुलाल सबैभन्दा बढी लोकप्रिय मतसहित निर्वाचित हुने प्रदेश सांसद बने। उनले निकटतम प्रतिस्पर्धीको भन्दा ८ हजार ८ सय ३३ मत बढी ल्याए। २०७४ को प्रदेश सभा निर्वाचनमा दुलाल यहीँबाट निर्वाचित भएका थिए। बागमती प्रदेश सरकारको सुरुवाती ३३ महिना उनी सामाजिक विकास मन्त्री बने।  

माओवादी पोलिट्व्यूरो सदस्य रहेका ३९ वर्षीय दुलाल लडाकु कमाण्डरको पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनलाई बागमती प्रदेशमा माओवादीको तर्फबाट मुख्य मन्त्रीको बलियो उम्मेदवारको रुपमा हेरिएको छ।  

क्षेत्र नं. २ (ख) मा एमालेका हेभिवेट उम्मेदवार हस्तबहादुर पण्डितलाई पराजित गर्दै कांग्रेसका तामाङ निर्वाचित भएका हुन्। तामाङले पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले हराए। शुक्रबार सार्वजनिक मतपरिणामअनुसार तामाङले १७ हजार ७ सय ५८ मत ल्याए। पण्डितले १६ हजार २ सय ५३ मत मात्र पाए।  

राजनीतिमा भर्खरै बामे सर्दै गरेका तामाङ कांग्रेसका २९ वर्षका युवा हुन्। उनी वडा इकाइ सभापति छन्। गत वर्ष सम्पन्न कांग्रेस महाधिवेशनमा उनी क्षेत्रीय सभापतिको उम्मेदवार बनेर पराजित भएका थिए। पराजित पण्डित एमाले पूर्वजिल्ला अध्यक्ष हुन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणामअनुसार यो प्रदेश क्षेत्रमा एमाले २ हजार मतले मात्र पछि थियो।  

हेविभेट र लोकिप्रिय नेता रहेकाले यहाँबाट पण्डित निर्वाचित हुन सक्ने धेरैको अनुमान थियो। २०७४ को प्रदेश चुनाव जितेका बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई पछि पार्दै टिकटमा बाजी मारेका तामाङले अन्त्यत निर्वाचनै जितेर देखाइ दिए।  

 २०७४ को चुनावमा वाम गठबन्धन हुँदा कांग्रेस क्लीन स्वीप हुनबाट जोगिएको थियो। एक मात्र २ (ख) प्रदेश सभा जितेर निमा लामाले कांग्रेसको बीउ जोगाएका थिए। यसपटक पूरानो वाम गठबन्धनको एक घटक माओावदीको बलमा कांग्रसेले एमालेलाई शून्य बनाएर अघिल्लो चुनावको बदला लिन सफल भयो।

प्रकाशित: ९ मंसिर २०७९ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App