coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकालेका छन्। संसदीय चुनावमा यसअघि यो क्षेत्रबाट कांग्रेसले कहिल्यै जितको स्वाद चाख्न सकेको थिएन।

एमाले उम्मेदवार शेरबहादुर तामाङलाई भारी मतले हराउँदै बस्नेतले क्षेत्र नं. २ मा पहिलो पटक कांग्रेसको जितको खाता खोलेका हुन्। शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए। बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे।  

तेस्रो पटक जित निकाल्दै बस्नेतले संसद यात्रा तय गरेका हुन्। यसअघि उनी प्रतिनिधिसभा क्षेत्र नं. १ बाट २०५६ संसदीय र २०७० संविधान सभा निर्वाचनमा विजयी भएका थिए। गठबन्धनको कारण गृहक्षेत्र माओवादीको भागमा परेपछि उनी क्षेत्र नं. २ मा आएका थिए। लगातार तीन संसदीय चुनाव जितेर ह्याट्रिक गर्नबाट तामाङलाई रोक्दै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य रहेका बस्नेतले तेस्रो जित निकाले।

एमाले पोलिट्व्यूरो सदस्य रहेका तामाङले यसअघि क्षेत्र नं. २ बाटै २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए। बस्नेत र तामाङ दुबै पूर्वमन्त्री भएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई सुरुवातदेखि नै चासोका साथ हेरिएको थियो।  

यो क्षेत्रबाट उम्मेदवार बनेपछि बस्नेतले पार्टीले आफूलाई पहिलो जितको खाता खोल्न पठाएको प्रतिक्रिया दिँदै आएका थिए। २०७९ को बाहेक २०४८ यता भएका ६ संसदीय चुनावमा यो क्षेत्रबाट तीन पटक राप्रपा, एक पटक माओवादी र दुई पटक एमालेले जितेका थिए।  

२०४८, २०५१ र २०५६ मा भएका निर्वाचन लगातार जित्दै राप्रपा नेता पशुपति शम्शेरले ह्याट्रिक गरेका थिए। २०६४ को संविधान सभा निर्वाचन माओवादीका दावा लामाले जिते। २०७० र २०७४ को चुनाव एमालेका तामाङले जिते। २०७४ सम्म यो क्षेत्रबाट प्रतिस्पर्धा गरेका राणा यो पटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएनन्। राप्रपाको परम्परागत मुटु मानिएको यो क्षेत्र एमालेले लाल किल्लामा परिणत गरेको थियो। क्षेत्र परिवर्तन गर्दै बस्नेतले माओवादीको साथमा यो पटक एमाले गढ भत्काइ दिए।  

निर्वाचित भएपछि बस्नेतले पार्टीको तर्फबाट आफूले पहिलो पटक जितको खाता खोलेकोमा खुशी व्यक्त गर्दै क्षेत्र नं. २ को विकासमा आफू क्रियाशील हुने प्रतिवद्धता जनाए। ‘चुनावी अभियानमा धेरै आश्वासन बाँडेको थिइन। गर्नेपर्ने केही कामको सूची मतदाताबीच लगेर बाचा गरेको थिएँ। एकएक गरी बाचा पूरा गर्छु,’ उनले भने।

प्रकाशित: ९ मंसिर २०७९ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App