७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेश: नेपाली कांग्रेस पहिलो शक्ती, एमाले खुम्चियो, माओवादी शुन्य,नागरिक उन्मुक्तीको उदय

निर्वाचनको परिणाम अनुसार सुदूरपश्चिममा नेपाली काग्रेस पहिलो शक्ती बनेको छ। यहाँ गठबन्धनबाट प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीलाई फाइदा पुगेपनि माओवादी केन्द्रलाई भने धक्का लागेको छ।  

वि.सं. २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा ३ सिट जितेको माओवादी केन्द्र यस पटक शुन्य भएको छ।

१६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १५ निर्वाचन क्षेत्रको निर्वाचन परिणाम अनुसार नेपाली काग्रेसले ७ सिट जित जितेको छ। वि.सं. २०७४ सालमा नेपाली काग्रेसले १ स्थानमा मात्र जितेको थियो। सत्तारुठ गठबन्धनबाट यस प्रदेशमा प्रतिनिधि सभामा एकिकृत समाजवादीलाई फाइदा पुगेको देखिन्छ। प्रतिनिधिसभामा भागबण्डा पाएका ३ वटै स्थानमा नेकपा एसले जित हासिल गर्न सफल भएको छ।  

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा नेपाली काग्रेसलाई ९, माओवादी केन्द्रलाई ४ र नेकपा एस लाई ३ सिट गरेर भागबण्डा मिलाइएको थियो। भागमा परेको कैलाली २, कैलाली ३, कंचनपुर १ र बैतडी गरेर ४ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले हार वेहोरेको हो। भागबण्डामा परेको डोटी, बझाङ र अछाम १ गरि ३ वटै क्षेत्रमा नेकपा एसले जितेको छ। नेपाली काग्रेसले कैलाली १ मा हार वेहोरेको छ भने डडेल्धुरा, कैलाली ४, कैलाली ५, कंचनपुर २, कंचनपुर ३, दार्चुला, अछाम २ मा जितेको छ । बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ।

वि.सं. २०७४ मा ११ सिट जितेको नेकपा एमाले भने खुम्चिएको छ। नेकपा एमालेले मत परिणाम आएका १५ निर्वाचन क्षेत्रमा २ वटा स्थानमा मात्र जितेको छ। कंचनपुर १ र बैतडीमा नेकपा एमालेले जित हात पारेको छ। केहि महिना अघि मात्र गठन भएको नागरिक उन्मुक्तीपार्टीको यस प्रदेशमा उदय भएको छ।

५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूला राजनीतिक दललाई पछाडी पार्दै नागरिक उन्मुक्ती पार्टीले ३ स्थान जितेको छ।

कैलालीको क्षेत्र नम्वर १ मा नागरिक उन्मुक्ती पार्टीका रंजिता क्षेत्र विजयी भएका छन्। कैलाली निर्वाचन क्षेत्र २ मा नागरिक उन्मुक्ती पार्टीका अरुण चौधरी र कैलाली ३ मा नागरिक उन्मुक्ती पार्टीका गंगा चौधरी विजयी भएका छन्। कैलाली निर्वाचन क्षेत्र ४ मा नेकपा एमालेका सचिब लेखराज भट्टलाई पराजित गर्दै नेपाली काग्रेसका विरबहादुर वलायर र कैलाली ५ मा नेकपा एमालेका नारदमुनी रानालाई पराजित गर्दै नेपाली काग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। अघिल्लो निर्वाचनमा ३ स्थान जितेको नेकपा एमाले कैलालीमा शुन्य भएको छ।

३ वटा निर्वाचन क्षेत्र रहेको कंचनपुरको निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका प्रचण्ड बुहारी बिना मगरलाई हराउदै नेकपा एमालेका तारालामा तामाङ विजयी भएका छन्। कंचनपुर २ मा नेपाली कांग्रेसका नेता एन पी साउँद विजयी भएका छन्। उनले अघिल्लो निर्वाचनमा आफूलाई पराजित गरेका नेकपा एमालेका युवा नेता नरबहादुर धामीलाई हराउदै जित हात पारेका हुन्।  

कंचनपुृुर निर्वाचन क्षेत्र ३ मा नेकपा एमालेका नेतृ निरु पाललाई पराजित गर्दै नेपाली काग्रेसका रमेश लेखक विजयी भएका छन्। डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार बढी मत अन्तरले पराजित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। बैतडी जिल्लामा नेकपा एमालेका प्रदेश समिती अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन्।  

दार्चुलामा नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्दै नेपाली काग्रेसका दिलेन्द्रप्रसाद बडु विजयी भएका छन्। डोटीमा नेकपा एमालेका गौरि ओलीलाई पराजित गर्दै नेकपा एकिकृत समाजवादीका प्रेम आले विजयी भएका छन्। अछाम निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका झपट बोहरालाई पराजय गर्दै एकिकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।  

अछाम क्षेत्र नम्वर २ मा नेपाली काग्रेसका पुष्प शाह विजयी भएका छन्। बझाङमा नेकपा एमालेका युवा नेता ऐन महरलाई पराजित गर्दै नेकपा एकिकृत समाजवादीका भानुभक्त जैशी विजयी भएका छन्। १ निर्वाचन क्षेत्र बाजुरामा भने मतदानका दिन भएको विवादका कारण मतपरिणाम आउन बाँकी रहेको छ।

बि.स.२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका कारण सुदूरपश्चिममा नेपाली काग्रेसले १ निर्वाचन क्षेत्र मात्र जितेको थियो। डडेल्धुराबाट देउवाले मात्र जितेका हुन। कैलाली क्षेत्र नम्वर १ बाट राजपाका रेशमलाल चौधरीले जितेका थिए भने ११ निर्वाचन क्षेत्रमा एमाले र ३ मा माओवादी केन्द्रले जितेको थियो। कैलाली निर्वाचन क्षेत्र ३, कैलाली ४ र कंचनपुर निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रले जितेको थियो। अन्य निवार्चन क्षेत्रमा एमालेले जितेको थियो।

प्रकाशित: ९ मंसिर २०७९ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App