८ वैशाख २०८१ शनिबार
राजनीति

किन हारे महेश बस्नेत?

विजयी भएका आफ्ना प्रतिस्पर्धी कांग्रेसका दुर्लभ थापालाई सल्लाघारीस्थित थापा निवासमा बधाई दिँदै बस्नेत। तस्बिर: नागरिक

२०७४ सालको आमनिर्वाचनमा भक्तपुर–२ बाट एमालेका महेश बस्नेतले निकटम प्रतिस्पर्धीभन्दा दोब्बर बढी अर्थात् ३६ हजार चार सय १२ मत ल्याएर सानदार जित हासिल गरेका थिए। कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ७५ मत ल्याउँदा बस्नेत भारी अन्तरका साथ विजयी हासिल गर्न सफल भएका थिए। तर २०७९ को निर्वाचनमा बस्नेतको मत मात्रै घटेन, पराजयसमेत व्योहोर्न बाध्य भए। भक्तपुर–२ मा खसेको कुल ६५ हजार सात सय ७५ मतमध्ये कांग्रेसका दुर्लभ थापाले २४ हजार दुई सय ३९ मत ल्याउँदा बस्नेतले २३ हजार दुई ८२ मत मात्र पाए र पराजित भए।

मतगणनाको प्रारम्भदेखि थापाको अग्रतालाई बस्नेतले चिर्न सकेनन्। बस्नेतले अघिल्लो निर्वाचनको तुलनामा झन्डै १३ हजार मत गुमाए। यद्यपि २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा बस्नेतलाई माओवादी केन्द्रको साथ थियो। यसपटक माओवादीले कांग्रेसलाई साथ दिएको थियो भने एमाले टुक्रिएर बनेको एकीकृत समाजवादीको मत पनि थापालाई नै गयो। तर बस्नेतले गुमाएको १३ हजार मत यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग थिएन।

गएको स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकामा एक्लै प्रतिस्पर्धा गरेको माओवादी केन्द्रका उम्मेदवारले प्रमुखतर्फ एक हजार मत पनि पुर्‍याउन सकेका थिएनन्। मध्यपुर थिमी नगरपालिकामा उपप्रमुखमा कांग्रेसको सहयोगमा माओवादी विजयी भयो। एकीकृत समाजवादीले भने दुवै नगरपालिकामा वडाध्यक्षतर्फ एक हजारभन्दा केही बढी मत मात्र पाएको थियो। बस्नेतले २०७४ सालमा पाएको मत किन यसपटक गुमाए? जबकि यो क्षेत्रलाई एमालेले नै ‘जित्न सक्ने’ सूचीमा राखेको थियो।

महेश बस्नेतकै क्षेत्र भक्तपुर गुन्डुका पत्रकार विजय विस्फोटको विश्लेषण छ, ‘बस्नेतको हारका धेरै कारणमध्ये सार्वजनिक रुखो बोली, धाक-धम्की र बालकोटको बलमा गर्दै आएको भ्रष्टाचार हो।’ यही कारण कांग्रेसका थापाको जितमा खुसी हुनेहरूभन्दा बस्नेतको हारमा रमाउनेहरूको संख्या केवल भक्तपुर मात्र नभई देशैभर देखिएको उनको विश्लेषण रहेको छ।

२०७४ सालमामा महेश बस्नेतको प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगाना स्थानीय थिएनन्। काठमाडौंको बत्तिसपुतली निवासी थिए। तर यो पटकका उम्मेदवार थापा भने भक्तपुरकै स्थानीय हुन्। थापा कांग्रेस भक्तपुर जिल्ला सभापति हुन्। २०७४ मा कांग्रेसले टुरिस्ट उम्मेदबार उठाउनुले पनि महेशको भोट बढी आएको विश्लेषण एकथरीको छ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रको वामगठबन्धनका साझा उम्मेदवार थिए बस्नेत। एमाले पनि एक थियो। २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेको थियो। तर पार्टी एकता प्रक्रिया नटुंगिँदै २०७७ पुस १५ गते दुई पार्टी पूर्ववत् अवस्थामा पुगे। २०७८ भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भयो। कम्युनिस्ट पार्टीहरूमा आएको फुटको प्रभाव बस्नेतको मतमा समेत परेको देखिन्छ।

बस्नेतको वडा सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्थानीय राजनीतिक विश्लेषक अधिवक्ता यज्ञबहादुर कार्की पहिला-पहिला स्थानीय निकायको निर्वाचनमा मतदाताहरूले व्यक्ति हेर्ने गरेकोमा अहिले संसद्को निर्वाचनमा पनि व्यक्तित्व हेर्न थालेकाले बस्नेत पराजय भएको विश्लेषण गर्छन्।

विकासको नाममा बस्नेतले गरेको पक्षपातपूर्ण व्यवहार पनि हारको कारक रहेको उनको बुझाइ छ। आफ्नो क्षेत्र अझ गुन्डुलाई मात्रै प्राथमिकता दिनु, विकासका नाममा आफ्नो नजिकका मान्छेलाई काखा र अरूलाई पाखा गर्ने गर्नु बस्नेतको हारको कारक बनेको उनको ठम्माइ छ।

‘भाषण गर्दा भक्तपुरमा ६० अर्बभन्दा बढी बजेट ल्याएर विकास गरेको सुनियो तर त्यो पैसा कहाँ गयो थाहा छैन,’ मध्यपुर थिमिका एकजना मतदाता भन्छन्, ‘मध्यपुरमा त कुनै काम उनले गरेका छैनन्। एक त उनको रवैयाको कारण पनि अलोकप्रिय भए। बौद्धिक वर्गमा उनको छवि राम्रो भएन। सांसद अपहरणकारीको ट्यागदेखि उनको छुद्र बोलीलाई धेरैले मन पराएनन्।’

यसका अलावा उनले दिएका विवादित काम र अभिव्यक्ति बस्नेतको हारका कारक रहेको स्थानीयको बुझाइ छ। बस्नेतले दिएका अभिव्यक्ति र भाषण ५ वर्षमा धेरैपटक विवादित बने। त्यस्तै कोभिड–१९ महामारीका बेला सांसद अपहरण गरेको आरोपसमेत बस्नेतलाई लागेको थियो।

हनुमन्ते खोला सार्ने विषयमा विवादमा पनि बस्नेत आलोचित बने। त्यस्तै, सूर्यविनायकको जंगल मासेर काठमाडौं वर्ल्ड स्कुललाई जग्गा दिएको, बाटाको लागि डाँडा काट्दा निस्केको माटो बेचेको जस्ता आरोप समेत उनलाई लागेको थियो। काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहविरुद्ध बोलेकाले पनि बस्नेतको छवि बिग्रिएको यहाँका स्थानीयको बुझाइ छ।

यस्तै देशभरि नै ब्रान्ड बनेको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको सर्टिफिकेट नक्कली भएको र त्यहाँका शिक्षक अयोग्य भएको भनी लापरबाही बोल्नुले पनि काम गरेको यहाँका स्थानीयहरूको बुझाइ छ।

प्रकाशित: ९ मंसिर २०७९ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App