coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा पाँच महिला निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट पाँच महिला उम्मेदवार निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार बिहीबार साँझसम्म देशभरका पाँच निर्वाचन क्षेत्रबाट महिला उम्मेदवारहरू निर्वाचित भएका हुन्। आयोगका अनुसार काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा ललितपुर ३ मा तोसिमा कार्की, कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई, दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा र कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ निर्वाचित भएका छन्।

संविधानले प्रतिनिधिसभा तथा प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराउनुपर्ने व्यवस्था गरे पनि प्रमुख राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरे। जसका कारण यसपटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन गराउने उम्मेदवारमध्ये महिला करिब ९ प्रतिशत मात्र छन्। आयोगले निर्वाचनमा महिला प्रतिनिधित्वलाई लिएर पटकपटक राजनीतिक दलको ध्यानाकर्षण गराएको दाबी गरेको छ। ‘निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई लिएर आयोगले पटकपटक राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका थियौं,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगले राजनीतिक दलहरूलाई एक तिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएको थियो। आयोगको निर्देशनपछि राजनीतिक दलहरूले एक तिहाइ पुर्‍याउन समानुपातिकतर्फ महिला उम्मेदवारको बढी प्रतिनिधित्व गराएका छन्।’

आयोगको तथ्यांक अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ सिटका लागि २२५ र प्रदेशसभा प्रत्यक्ष तर्फका ३३० सिटका लागि २८० जना महिलाले उम्मेदवारी दिएका थिए। यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९१ उम्मेदवारको नाम बन्दसूचीमा कायम छ।

त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। प्रदेशसभाको समानुपातिकतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम बन्दसूचीमा कायम गरिएको छ। यसपटक प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ५ हजार ६३६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् भने समानुपातिकतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम बन्दसूचीमा कायम छ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनबाट २५ महिलाले प्रत्यक्षतर्फ चुनाव लड्ने अवसर पाएका छन्। एमालेले ११, माओवादी केन्द्रले सात, कांग्रेसले पाँच, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एकएक महिलालाई उम्मेदवार बनाएका छन्। नेकपा एमालेले देशभर निर्वाचनमा उठाएका कुल उम्मेदवारमध्ये करिब ८ प्रतिशत, सत्ता गठबन्धनको माओवादी केन्द्रले करिब १६ प्रतिशत र नेपाली कांग्रेसले करिब ५ प्रतिशत महिलालाई उम्मेदवारीको अवसर दिएका छन्। दल र स्वतन्त्रबाट २२५ महिला उम्मेदवार यसपटक प्रत्यक्ष निर्वाचनमा उठेका छन्। यो कुल उम्मेदवारको करिब ९ प्रतिशत हुन्छ।

२०७४ सालको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कास्की २ बाट निर्वाचन जितेकी विद्या भट्टराई यसपटक पनि सोही क्षेत्रबाट विजयी भएकी हुन्। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय मकवानपुर १ र पूर्वउपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट निर्वाचनमा पराजित भइसकेका छन्।

नेकपा एमालेकी मन्जु शर्मा चालिसे बाग्लुङ २, निरुदेवी पाल कञ्चनपुर ३ र गौरी ओली डोटी १ बाट पराजित भएका छन्। त्यस्तै माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पुम्फा भुसाल ललितपुर ३, पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २, मानुषी यमी भट्टराई काठमाडौं ७, कल्पना धमला काठमाडौं ९ र अञ्जना विशंखे काठमाडौं १० बाट पराजित भइसकेका छन्। एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी २ मा पराजित भएकी छन्। राप्रपाकी कुन्तीकुमारी शाही दैलेख १ र काठमाडौं २ बाट कुन्तीदेवी पोखरेल पराजित भएका छन्। काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाको यसपटक जमानत नै जफत भएको छ।

कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ, मोरङ २ मा सुजाता कोइराला र सिरहा २ मा चित्रलेखा यादव, एमालेबाट स्याङ्जा २ मा पद्मा अर्याल, दाङ ३ मा कोमल वली, सुनसरी ३ मा भगवती चौधरी, बारा ३ मा ज्वाला साह, उदयपुर १ मा मञ्जु चौधरी, धनुषा ३ मा जुलीकुमारी महतो र दाङ १ मा शान्ता चौधरी उम्मेदवार रहेका क्षेत्रको मतगणना भइरहेको छ।

२०७४ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ८४ जना गरी ९० जना महिला संसद्मा पुगेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०, समानुपातिकतर्फ १५९ र मन्त्रिपरिषद्बाट मनोनीत ४ गरी १७६ जना महिला संसद्मा पुगेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३०, समानुपातिक निर्वाचन प्रणालीतर्फ १६१ र मन्त्रिपरिषद्बाट मनोनीत ६ जना गरी १९७ महिला संसद् पुगेका थिए। २०७४ सालको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३.६ प्रतिशत महिला विजयी भएका थिए। २०७० सालको दोस्रो संविधासभा निर्वाचनमा चार दशमलव १६ प्रतिशत र २०६४ को संविधानसभा निर्वाचनमा १२.५ प्रतिशत महिला प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App