७ वैशाख २०८१ शुक्रबार
राजनीति

कर्णालीमा कसले कहाँ कहाँ जिते?

कर्णालीका ७ जिल्ला जिल्लाका केही निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। प्रदेशसभा सदस्य तर्फ २४ निर्वाचन क्षेत्रमध्ये १५ स्थानको नजिता आइसकेको छ। १२ प्रतिनिधिसभा सदस्यमध्ये कर्णालीमा  ६ वटा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ।  

जसमा डोल्पा, हुम्ला, कालिकोट, मुगु, रुकुमपश्चिम, सुर्खेत –१ को नतिजा आउन बाँकी छ। नजिता सार्वजनिक भएअनुसार कर्णालीमा नेपाली काँग्रेस २ स्थान, नेकपा माओवादी १ स्थान, एकिकृत समाजवादी २ र राप्रपा १ स्थानमा विजयी भएका छन्। पार्टीहरुले लिएको अग्रता अनुसार काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा आउने देखिन्छ।  

दैलेख –१ गठबन्धनका थापा विजयी

दैलेख निर्वाचन क्षेत्र नं –१ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन्। एकिकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन्। थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्।  त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पाटीकी उम्मेदवार  कुन्तीकुमारी शाहीले ४ हजार ६ सय २ मत प्राप्त गरेकी छन्।

को हुन् विजयी थापा  

सत्ता गठबन्धनबाट विजयी थापा तत्कालिन नेकपा एमालेको ३ कार्यकाल पार्टी सचिव भै संगठन विस्तार गर्दै जिल्लामा प्रभावशाली नेता हुन्। उनी २०६४ सालको आम निर्वाचनमा गणेशबहादुर खड्कासँग पराजित भएपनि २०७० को संविधान सभा सदस्यमा निर्वाचित भए। २०७४ को प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य हुँदै कर्णालीको ६ महिनासम्म भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री समेत भएका थिए। संसदमा नेकपा एमालेबाट फ्लोर क्रस गरेका थिए।

दैलेख – २ मा काँग्रेसका शाही विजयी

दैलेख –२ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली काँग्रेसका दिक्पाल कुमार शाही २० हजार १ सय ५८ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए। १ सय ५३ मतको झिनो मतान्तरले शाहीले चुनाव जितेका हुन्। शाही अघिल्लो पटकको प्रदेश सभा सदस्यमा पराजित भएका थिए।

दैलेख निर्वाचन क्षेत्र १ (क) काँग्रेसका विसी विजयी

दैलेख निर्वाचन क्षेत्र नं – १ (ख) मा नेपाली काँग्रेसका कृष्णकुमार विसी विजयी भएका छन्। सत्तारूढ गठबन्धनबाट  विसीले  १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन्। विसीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४६८ मत लिएका छन्। विसी पूर्व जिल्ला पार्टी सभापति हुन्। २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका विसी यसपटक १ हजार ७६ मतान्तरले विजयी भएका हुन्।  

दैलेख –२ (ख) मा एमालेका शाह विजयी

दैलेख– २ को (ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका बिनोदकुमार शाह ९ हजार ४ सय ६४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका  योगेन्द्र शाहीले ९ हजार ३ सय ८१ मत ल्याएका थिए। शाह र शाही बीच ८३ झिनो  मतान्तर रहेको छ। पराजित शाही एमालेबाट पाटी प्रवेश गरी माओवादीबाट अन्तिम समयमा चुनाव लडेका थिए।  

दैलेख –२ (क) मा काँग्रेसका भण्डारी विजयी

दैलेख निर्वाचन – २ प्रदेश (क) मा नेपाली काँग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३ सय ५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्। भण्डारीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलकप्रसाद रिजालले ९ हजार ४ सय ९४ मत लिएका छन्। भण्डारी अघिल्लो पटक दुल्लू नगरपालिकाको प्रमुख हुन्।

सुर्खेत – १ को (ख) जिसी र २ को (ख) मा विष्ट विजयी

सुर्खेत – १ (ख) प्रदेश सभामा माओवादी केन्द्रका कृष्ण जिसी विजयी भएका छन्। उनले एमालेका ढण्डीप्रसाद शर्मालाई ४ हजार १ सय ९६ मतान्तरका साथ विजयी भएका हुन्। जिसीले २० हजार ४ सय ५५ मत ल्याएभने शर्माले १६ हजार ३ सय १६ मत पाएका थिए। त्यस्तै सुर्खेत २ को (ख) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भएका छन्। उनले एमालेका ताराकेशर गौतम र नेकपा एसका मोहन बडुवालसंग प्रतिष्पर्धा गरेका थिए।  

सुर्खेत–२ (क) मा एमालेका कंडेल विजयी

सुर्खेत क्षेत्र नम्बर –२ (क) प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल निर्वाचित भएका छन्। बिहीबार बिहान आएको मत परिणाम अनुसार एमालेका उम्मेदवार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएका थिए । कँडेलले १ सय ६१ मतान्तरले शाक्यलाई पराजित गरेका हुन।

सुर्खेत –१ (क) मा पोखरेल विजयी

सुर्खेत निर्वाचन– १ (क) मा नेपाली काँग्रेसका खड्गबहादुर पोखरेल विजयी भएका छन्। नेकपा एमालेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। यो क्षेत्रमा ३४ हजार ८३२ मत खसेको थियो। त्यसमध्ये पोखरेलले  १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त  गरे। विष्ट माओवादीबाट एमालेमा प्रवेश गरेका हुन्। निर्वाचित पोखरेल सुर्खेतका पार्टी सभापति हुन्।

सल्यान (ख) प्रदेशमा काँग्रेसका अधिकारी विजयी

सल्यानको प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका सुरेश अधिकारी ३ हजार ७९० मतान्तर विजयी भएका छन्। अधिकारीले २० हजार ४ सय ८ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुलावजंग शाहले १६ हजार ६ सय १८ मत प्राप्त गरे। यसअघि अधिकारी शारदा नगर पालिकाका नगर प्रमुख हुन्।

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित

सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला विजयी भएका छन्। उनले स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९ सय ११ मतान्तरले पराजित गरेका हुन्। एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७ सय मत ल्याई विजयी हुँदा पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन्। त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन्।  

जाजरकोटबाट माओवादी नेता बस्नेत विजयी  

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता शक्ति बस्नेत ३४ हजार १ सय ५१ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज प्रसाद आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरे। २०७० र २०७४ सालको निर्वाचनमा पनि बस्नेत जाजरकोटबाट बिजयी भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App