६ वैशाख २०८१ बिहीबार
राजनीति

स्याङजा–२ः एमाले–कांग्रेसको विवादले गणना अन्योलमा

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै विवाद बढेपछि स्याङजा–२ को मतगणना अझै सुरु हुन सकेको छैन। एमालेले त्यहाँ पुनः मतदानको माग गरेको छ। त्यस्तै कांग्रेसले पनि एमालेलाई त्यही क्षेत्रका विभिन्न मतदान केन्द्रको बुथ कब्जा गरेको आरोप लगाएको छ। जिल्लाको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ।  

चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राममन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दावि रहेको छ। तीमध्ये दिसिङकोट आधारभूत विद्यालयका मतदाता १६ सय ४१ जना रहेका थिए। यो संख्यामा मृत्यु भएका र विदेशमा रहेका करिब तीनसय व्यक्तिको नाम पनि समावेश रहेको छ। तर, मतदानमा १५ सय ६० जनाको नाममा मत खसेको एमालेले दावी गरेको छ।

त्यस्तै राममन्दिर माविको मतदान केन्द्रमा पनि मृत्यु भएका र विदेशमा रहेका व्यक्तिको नाममा भोट खसाइएको एमालेको दावि छ। त्यहाँका १४ सय ६६ मतदाता मध्ये १४ सय ३८ जनाले मतदान गरेको एमालेको भनाई छ। अर्काे केन्द्र दिनदयालु आधारभूत विद्यालयमा भने ४६९ मतदातामध्ये ४६० जनाको मत खसालिएको एमालेले बताएको छ। अर्काे जनसक्रिय आधारभूत विद्यालय केन्द्रका ९९१ मतदातामध्ये ८९२ जनाले मत खसालेको एमालेले दावी गर्दै आएको छ।

सुरुमा एमालेका प्रतिनिधि मतदान केन्द्रमा उपस्थित रहेपनि मतदान सुरु भएको केही समयमा अनधिकृत व्यक्ति केन्द्र प्रवेश गरि हुलहुज्जत गरेर आतंक सिर्जना गरेर एमालेका प्रतिनिधिलाई मतदात केन्द्रबाट लखेटेको एमालेको आरोप छ। एमालेका प्रतिनिधिलाई लखेटेपछि मतदानस्थल कब्जामा लिई मतदाता नामावलिमा नाम समावेश भएका व्यक्तिको नाममा मत खसालिएको एमालेले दावि गरेको छ।  

केही व्यक्तिले अनधिकृत रुपमा मत खसालेको थाहा पाएर उम्मेदवारहरु उक्त केन्द्रमा पुग्दा ती उम्मेदवारलाई पनि बाहिर निकालिएको एमालेको आरोप छ। कतिपय उम्मेदवारका प्रतिनिधिलाई कोठामा थुनेर मतपेटिकाको मुख बन्द गरेको मुचुल्कामा जर्बजस्ती सहिछाप गराइएको र कतिपय प्रतिनिधिको नामबाट किर्ते सहीछाप गरेर मुचुल्का तयार पारेर निर्वाचन अधिकृतलाई मतपेटिका बुझाइको एमालेले दावि गरेको छ। फर्जी मतबाट जनताको आफ्नो प्रतिनिधि आफै छान्ने अधिकार हनन भएको हुँदा उक्त मतदान केन्द्रको मतदान बदर गरि पुन मतदान गर्नुपर्ने एमालेले बताउँदै आएको छ।

कांग्रेसले पनि चारवटा केन्द्रमा एमालेले बुथ कब्जा गरेको आरोप लगाउँदै आयोगमा उजुरी दर्ता गराएको छ। कांग्रेसले चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदानकेन्द्र, कालिगण्डकी गाउँपालिकाको अमरदिप मावि र कोटाकोटा आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको आरोप लगाएको छ। ती मध्ये भानुमावि र मनहरिखर्क मतदान केन्द्रमा निर्वाचनका दिन विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले हवाईफायर समेत गरेका थिए। हवाईफायर गर्दा आफ्ना कार्यकर्ता घाइते समेत भएको कांग्रेसको दावि छ।  

कांग्रेस स्याङजाका कार्यकारी सभापति केदार काफ्लेले अर्कैतिरको भिडियो सामाजिक सञ्जालमा राखेर स्याङजामा कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएपछि निर्वाचन आयोगमा उजुरी गरेको बताए। स्याङजामा कांग्रेसले बुथ कब्जा गरेको भन्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। तर, कांग्रेसले त्यो भिडियो सत्य नभएको दावि गरेको छ। ‘विधिको शासन मान्नुपर्छ भन्ने हो। कांग्रेसले मतगणना सुरु गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘अन्यत्रको भिडियो देखाएर स्याङजामा कांग्रेसलाई आरोप लगाउन पाइँदैन।’ एमालेले बुथ कब्जा गरेको भनेर कांग्रेसलाई आरोप लगाएपनि त्यो अमान्य रहेको उनले बताए।  

‘एमालेले बखेडा निकालेको छ। बुथ कब्जा गरियो भनिएका केन्द्रमा एमालेकै प्रतिनिधि छन, मतदाताले सौहार्द रुपमा मतदान गरेका छन्। दलका प्रतिनिधिले आवश्यक ठाउँमा हस्ताक्षर भएका छन्। मतपेटिका मुचुल्कामा सही भएको छ,’ उनले भने, ‘निर्वाचनमा हार्ने डरले यो आरोप लगाइएको हो।’ एमाले केन्द्रीय सचिव पद्मा अर्यालले पहिला जितेको क्षेत्रमा अहिले भोट नपाउने अवस्था आएपछि यो बखेडा निकालेको काफ्लेले दावि गरे।  

एमाले स्याङजाका अध्यक्ष सुर्यप्रसाद गैरेले पुन मतदानको माग गर्दै आन्दोलन भईरहेको बताए। ‘कांग्रेसले बुथ कब्जा गरेको ठाउँमा ९८ प्रतिशत हाराहारीमा मत खसेको छ। जबकी देशब्यापी रुपमा ५५–६० प्रतिशत मात्र मत खसेको छ। त्यही भएर एमालेलाई मान्य नभएको हो,’ उनले भने। कांग्रेसले बार्गेनिङका लागि एमालेलाई बुथ कब्जा गरेको आरोप लगाएको बताए। कांग्रेसले गरेको उजुरीमा कुनै तुक नभएको गैरेको भनाई छ। ‘५५–६० प्रतिशत मत नै देशभरमा खसेको छ। चापाकोटमा मात्र ९८ प्रतिशत मत खस्न सक्दैन,’ उनले भने, ‘कांग्रेसले बुथ कब्जा गरेरै बढी मत खसालेको हो।’  

निर्वाचन आयोगले भने केन्द्रको निर्णय पर्खिरहेको बताएको छ। स्याङजाका निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले विवाद समाधान नभएकोले गणना सुरु हुन नसकेको बताए। उनका अनुसार निर्वाचनमा धाँधली भएको भन्दै एमाले र कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ। दुवै दलले एक अर्का विरुद्ध बुथ कब्जा गरेको आरोप लगाएको छ।

दलहरुको आरोप पछि आयोगले स्याङजा २ का निर्वाचन अधिकृतसँग राय मागेको उनले बताए। यो क्षेत्रमा एमालेकी पद्मा अर्याल र कांग्रेसका धनराज गुरुङबीच प्रतिश्पर्धा छ। ‘दुवै पक्षबाट उजुरी परेको छ। उजुरी आयोगको केन्द्रमा पुगेको छ। आयोगले गरेको निर्णय अनुसार अघि बढ्ने हो,’ मरासिनीले भने, ‘हामीले पनि त्यही निर्णय कुरेर बसेका छौ। जे निर्णय आउँछ, त्यही अनुसार अघि बढ्छ।’  

प्रकाशित: ८ मंसिर २०७९ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App