१५ चैत्र २०८० बिहीबार
राजनीति

भोट खसाल्न नपाएको कर्मचारीको गुनासो

निर्वाचनमा खटिएका अधिकांश कर्मचारीले समानुपातिकतर्फ भोट खसाल्न नपाएको गुनासो गरेका छन्। निर्वाचन आयोगले यस पटक निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समानुपातिकतर्फ मतदान गर्ने अवसर दिए पनि आयोगले सम्बन्धित मतदान केन्द्रमा विवरण नपठाउँदा अधिकांश कर्मचारी तथा सुरक्षाकर्मी मतदानबाट वञ्चित भएका हुन्।

बाँकेस्थित श्री नेपाल राष्ट्रिय विद्यालय खजुरामा खटिएका मतदान अधिकृत शान्त पौडेलले निर्वाचन आयोगले आफ्नो नाम र विवरण मतदान केन्द्रमा नपठाएकाले भोट दिन नपाएको गुनासो गरे। उनका अनुसार त्यस मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी सहित ४६ जना खटिएका थिए तर चार जना कर्मचारी तथा सुरक्षाकर्मीले मात्र मतदान गर्न पाए।

बाँकेकै वैजनाथस्थित पार्वती माविमा पनि मतदानमा खटिएका ३३ जना कर्मचारी एवं सुरक्षाकर्मीमध्ये ५ जनाले मात्रै मतदान गर्न पाएका थिए। निर्वाचन पर्यवेक्षकहरूको भनाइमा अधिकांश मतदान केन्द्रको अवस्था यस्तै छ।

त्यसो त काठमाडौंमै खटिएका कर्मचारीले समेत समानुपातिकतर्फ मतदान गर्न पाएका छैनन्। काठमाडौंको जोरपाटीस्थित जनकल्याण माविस्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत वैकुण्ठ रेग्मीले आयोगले पठाएको मतदाता सूचीमा आफ्नो नाम नभएपछि मतदान गर्न नपाएको बताए।

निर्वाचन आयोगका अधिकारीहरूले भने मतदाता परिचय-पत्र सहितको विवरण प्राप्त भएका कर्मचारीको सूचि मात्र सम्बन्धित मतदान केन्द्रमा पठाएको जनाएका छन्। ‘हामीले असोजभित्र सबै मन्त्रालय र निकायबाट सबै कर्मचारीको मतदाता परिचय पत्रसहितको विवरण आयोगमा पठाउन ताकेता गरेका थियौं,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर भट्टराईले भने, ‘निर्वाचन आयोगमा ज-जसको विवरण आयो, ती कर्मचारीको विवरण सम्बन्धित मतदान केन्द्रमा पठायौं। नाम नआएको विवरण पठाएनौं।’

प्रकाशित: ५ मंसिर २०७९ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App