८ वैशाख २०८१ शनिबार
राजनीति

‘खसेको मत करिब ६१ प्रतिशत’

फाइल तस्बिर।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत देशभर करिब ६१ प्रतिशत मत खसेको जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले करिब ६१ प्रतिशत मत खसेको र त्यो अपेक्षा गरेभन्दा कम रहेको जानकारी दिए।

‘हामीले अपेक्षा गरेभन्दा यो मत केही थोरै हो,’ उनले भने, ‘यो संख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि पनि हुन सक्छ।’

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो। गत स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मत खसेको थियो।

थपलियाले नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस, गुल्मीको कालीगण्डकी गन्या भगवती मावि र बाजुराको बुढीनन्दा नगरपालिकाको नन्देश्वरी मावि पिपलचौरलगायत १५ स्थानमा मतदान स्थगित भएको जानकारी दिए।

‘देशभर मतदानलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजिए पनि १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ,’ उनले भने।

मतदान स्थगन वा रद्द भएका मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गरिसक्नका लागि उपयुक्त वातावरण मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिएको पनि उनले बताए। सुर्खेतका दुई, पाल्पाका दुई, झापा, पोखरा तथा पर्वतका एकएक मतदानस्थलमा विवादपछि पुनः मतदान गरिएको थियो। उनले मतदान सम्पन्न भएपछि काठमाडौं उपत्यकालगायत केही स्थानमा प्रक्रिया पूरा गरेर आइतबार अबेर रातिबाट मतगणना सुरु गर्न निर्देशन दिइएको बताए।

प्रकाशित: ५ मंसिर २०७९ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App