coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश: कहिँ झडप, कहीँ शान्तपूर्ण मतदान

मतदान सकिएसँगै मतपेटिका लिएर दैलेख सदरमुकामस्थित मतगणनास्थलतर्फ जाँदै निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरु। गोविन्द केसी/नागरिक

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत कर्णालीका केही मतदान केन्द्रबाहेक अन्यमा शान्तिपूर्ण सम्पन्न भएको छ।  

हिमाली जिल्ला हुम्लाको चंखेली गाउँपालिका–५ को डाँफे मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा प्रहरी घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार असई रामकुमार चौधरी घाइते भएका हुन्। वारेसमार्फत् भोट हाल्ने विषयमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो।  

हुम्लाको सर्केगाड गाउँपालिका–३ मा पनि झडप भएको छ। सर्केगाडको देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा राजनीतिक दलका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो। प्रहरीले सात राउण्ड हवाइफायर गरेको थियो। झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरूबीच विवाद हुँदा झडपको अवस्था आएको थियो। यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को मतदान केन्द्रमा पनि झडप भएको छ। मतदाता नामावलीमा नाम नभेटिएपछि उत्पन्न भएको विवादले झडपको रुप लिएको थियो। प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले राजनीतिक दलका कार्यकर्तापछि झगडा भएपनि त्यसले मतदानमा असर नगरेको बताए।  

जाजरकोटस्थित भेरी नगरपालिका–९ ज्ञानकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदानको विषयलाई लिएर विवाद भएको छ। दृष्टीविहिन वृद्वालाई मतदानमा फरक मानिसले सहयोग गरेको भन्दै विवाद भएको थियो। उक्त विवादले झडपको रुप लिँदा एक जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ।  

सिम्तामा पुनः मतदान हुने

सुर्खेतको सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगले मतदानको मिति भने तोकिसकेको छैन। मतदानका लागि खटिएका निर्वाचन अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको झण्डै एक सय मतपत्र प्रदेशसभाको बाकसमा खसेको थियो। राजनीतिक दलहरुबीच प्रदेशसभाको बाकसमा खसेको प्रतिनिधिसभाको मतपत्रका विषयमा सहमति नहुँदा निर्वाचन स्थगित गरिएको हो। ‘भूलबस प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा खसेको विषयमा विवाद उत्पन्न भयो,’ निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले भने, ‘सहमतिकै आधारमा मतदान स्थगित गरेका हौं।’ उनका अनुसार आयोगले निर्वाचनको नयाँ मिति तोकेपछि पुनः यहाँ मतदान हुनेछ। पुनः मतदान गर्नुपर्ने भएकाले सुर्खेत–१ को मतगणना पनि प्रभावित भएको छ।  

चार जिल्लामा बम

मतदान प्रभावित पार्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विभिन्न ठाउँमा विष्फोटक पदार्थ राखेको थियो। मुगुको खत्याड गाउँपालिका–११  मा दुई स्थानमा, वडा नं. चारमा दुई स्थानमा वडा नं. सात, छ र तीनमा एक–एक स्थानमा विप्लव समूहले बम राखेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –५  बस्ताकोट माध्यामिक विद्यालय, कालिकोटको पचलझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका साथै सुर्खेतको अवलचिङमा बम फेला परेका थिए। ति सबै बमहरु नेपाली सेनाको बम डिष्पोज टोलीले निस्क्रिय पारेको थियो।  

३४८ जना कैदीबन्दीले मतदान गरे

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा तीन सय ४८ जना कैदीबन्दीले मतदान गरेका छन्। कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कर्णालीको सुर्खेतमा एक सय एक, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदान गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

श्रीमानको शव छोडेर मतदान

घरमा श्रीमानको लास छोडेर एक महिला दैलेखमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत हाल्न पुगेकी छन्। महाबु गाउँपालिका –३ को भगवती प्राथमिक विद्यालय रिठा मतदान स्थलमा घरमा श्रीमानको शव छोडेर मत हाल्न पदमकला बोगटी पुगेकी हुन्।  

श्रीमान दलसिंह बोगटीको शव घरमा हुँदा आफ्नो भोटले देश बदलिएला, जनताका दुःख हट्लान भनेर भोट हाल्न आएको पदमकलाले बताइन्। दलसिंहको शनिबार बेलुका चार बजे मृत्यु भएको थियो। पदमकलाले आफ्नो श्रीमानको निधनले मन दुखेको बेला पनि आफ्नो मतको सदुपयोग गर्नका लागि मत हाल्न आएको बताइन्। ‘जति मत हाले पनि हाम्रो अवस्था नफेरिएन्,’ उनले भनिन्, ‘तर पनि केही हुन्छ की भन्ने आशा जागेका कारण मत हाल्न श्रीमानको लास घरमा छोडेर आएकी हुँ।’

मतदातामा देखिएन उत्साह

पाँच वर्षअघि भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कर्णालीमा ७२ प्रतिशत मत खसेको थियो। त्यसैलाई आधार मानेर निर्वाचन आयोगले यो पटक ७० देखि ७५ प्रतिशत मत खस्ने अनुमान गरेको थियो। तर, अनुमान भन्दा कम कर्णालीमा ५५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेका अनुसार यो पटकको निर्वाचनमा अपेक्षा भन्दा कम मत खसेको बताए।

‘समग्रमा ५५ प्रतिशतसम्म मत खसेको अनुमान गरेका छौं,’ उनले भने, ‘हिमाली र धेरै दुर्गम क्षेत्र भएकाले केही ठाउँमा खसेको मतको परिणाम आएको छैन्।’ उनका अनुसार सबैभन्दा कम डोल्पामा ४५ प्रतिशत मात्रै मत खसेको छ। ‘रुकुम पश्चिममा पनि उत्साहका साथ मतदान भएको पाइएन्,’ उनले भने, ‘सबैभन्दा धेरै हुम्लामा ६२ प्रतिशत मत खसेको अनुमान गरेका छौं।’

प्रकाशित: ४ मंसिर २०७९ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App