coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हिमाली भेगः मतदानको हुटहुटीले बिर्साएको चिसो

मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिकाका गाउँ। फाइल तस्बिरः नागरिक

उच्च हिमाली भेगमा अझैसम्म हिमपात भइसकेको त छैन, तर, चिसो भने दिनदिनै बढिरहेको छ। स्थानीयका अनुसार हिमपात नभएपनि बिहान बेलुकीको तापक्रम भने माइनस ४–५ डिग्रीमा झरिसक्छ। दिउँसो घाम लागेकोले केही न्यानो अनुभव गर्न पाएपनि तापक्रम घट्दो छ। ठाउँठाउँमा पानी जम्न थालिसकेको छ।

यो बेलासम्म उच्च हिमाली भेगका बासिन्दा जाडो छल्न तल (सहर) झरिसक्थे। कात्तिक लाग्दा तल झर्ने गाउँले फागुन लागेपछि उक्लिन थाल्थे। तर, अहिले गाउँले गाउँमै अडिएका छन्। गाउँलेलाई गाउँमै अड्याइरहनुको कारण हो–निर्वाचन। आगामि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि उच्च हिमाली भेगका गाउँले अहिले मतदानको दिन कुरेर बसेका छन्। चिसोका बाबजुत पनि मतदाताहरु आफ्नो मतले जनप्रतिनिधि चुन्ने अवसर गुम्न नदिनका लागि गाउँमै अडिएका छन्।  

चिसो छल्न झर्ने तयारीमा रहेका गाउँले त गाउँमै रोकिए नै, झरिसकेका मतदाता पनि फेरि गाउँ फर्किरहेका छन्। मतदानकै लागि भनेर अहिले मतदाताहरु पुन उच्च हिमाली भेगमा स्थायी बासस्थानसम्म फर्किएको स्थानीयले बताएका छन्। कात्तिकको सुरुमै सहर झरेका गाउँले अहिले धमाधम गाउँ फर्केका छन्। कतिपय मतदाता आफ्नै खर्चमा गाउँ फर्किरहेका छन् भने कतिपयलाई दलहरुले नै गाउँसम्मा उकाल्ने प्रयास गरिरहेका छन्। सहर झरिकेको विद्यालय भने सहरमै घुम्ती रुपमा संचालित हुन्छन।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–साङतागाउँ सबैभन्दा दुर्गममा पर्छ। सदरमुकाम जोमसोमदेखि साङता १२ कोष टाढा हो। मुस्ताङ–डोल्पा जोड्ने मार्गमा यो गाउँ पर्छ। साङताको हिमाली आधारभूत विद्यालयमा १३ घरका ३५ जना मतदाताले मत दिन्छन्। वडा सचिव यज्ञप्रसाद गोतामेका अनुसार यही वडाभित्रको अर्काे मतदान केन्द्र फल्याकस्थित जनमुक्ति आधारभूत विद्यालयमा छ। यहाँ भने केही बढी मतदाता छन।

ती गाउँमा मतदाता अहिले मतदानकै लागि भनेर गाउँमा अडिएको गोतामेले बताए। ‘हिउँ त परेको छैन, तर, चिसो भने अधिक छ। चिसो दिनहुँ बढिरहेको छ,’ उनले भने, ‘हिउँ नै त परिसकेको छैन। तर, चिसोले प्रभावित पारिसकेको छ।’ उनका अनुसार चिसो छल्न गाउँका बासिन्दा एकाध बाहेक तल झरिसकेका छैनन। झरिसकेका गाउँले पनि गाउँ फर्केका छन्। ‘भोट हाल्ने भनेर गाउँमै पर्खिबसेका छन। भोट खसाएपछि बल्ल तल झर्ने हुन,’ उनले भने, ‘आफ्नो भोटको कदर हुनुपर्छ भन्ने मतदाताले बुझेका छन्। मतदाता शिक्षाका क्रममा पनि स्थानीय तहले त्यही खालको सन्देश प्रवाह गरेका छन्।’

त्यो गाउँका बासिन्दा जाडो छल्न सदरमुकाम जोमसोममा बढी झर्दथे। एकाध मात्र पोखरा पुग्ने हुन्। साङतामा गाडी पुग्ने बाटो बनिसके पनि चिसोका कारण यो बेला आउजाउ सहज छैन। पुगेका गाडी पनि चलाउन खोज्दा ‘स्टार्ट’ समेत नहुने उनले सुनाए। झन हिउँ परेपछि त दुर्गम गाउँको सहरसँग सम्पर्क नै टुट्छ।

जाडो बढ्दै जाँदा हिमाली भेगका अधिकांश बासिन्दा पोखरा झर्दथे। केही काठमाडौं र कतिपय भारत पनि पस्थे। सहर झरेका उनीहरु अस्थायी व्यवसायमा जुट्थे। माथिल्लो क्षेत्रका अधिकांश गाउँका बासिन्दाको घरमा ताला लागिसकेको भएपनि यतिबेला फेरि गाउँले घर फर्केको उनले बताए। चुनावले गर्दा गाउँलेलाई घरसम्म तानेको गोतामेको भनाइ छ। मुस्ताङको माथिल्लो भेगका मतदाता तल झर्दा चुनावी प्रचारप्रसारका लागि घरघरमा पुग्दा दलका नेताहरुले घरमा भोटेताल्चा लागेको भेट्ने गरेको बताएका थिए। तर यतिबेला भने फेरि गाउँले घर फर्किएको उनले बताए।

अर्काे हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिकाका–५ फू गाउँका बासिन्दा पनि गाउँमै रोकिएका छन्। चुनाव नहुँदो हो त यो बेला त्यहाँका अधिकांश घरमा ताला लागिसकेको हुन्थ्यो। तर, अहिले चुनावले गर्दा लागेको ताला पनि खुलिसकेको छ। चिसो छल्न भन्दै सहर झरेका गाउँले अहिले घर फर्किसकेका छन्। वडाअध्यक्ष सोनाम तेजे लामा भन्छन, ‘चुनाव नहुँदो हो त यो बेला गाउँ सुनसान हुन्थ्यो। अहिले भने गाउँलेलाई घरघरमै भेट्न सकिन्छ। चुनावको  दिन कुरेरै बसेका छन् गाउँले। चिसो गाउँमा चुनावी तातो छ।’

उनका अनुसार त्यो भेगका केही गाउँले चिसो बढ्दै जान थालेपछि कात्तिकको पहिलो सातातिरै सहर झरिसकेका थिए। त्यहाँका बासिन्दा छिमेकी जिल्ला लम्जुङ सहित काठमाडौं, चितवन र पोखरामा बढीजसो झर्दथे। तर, अहिले चुनावले गर्दा भोट हाल्नकै लागि भनेर गाउँले घर फर्केको उनले बताए। ‘मतदाताले आफ्नो पनि कर्तव्य बुझेका छन्। प्रतिनिधि चुन्ने अवसर चुकाउन चाहँदैनन,’ उनले भने। चिसोका कारण गाउँका पानीका मुहान जमिसकेको भएपनि गाउँलेले भने मतदानको दिन पर्खेर बसेको उनले सुनाए।  

गोरखाको माथिल्लो भेगमा पर्ने चुमनुब्री गाउँपालिका अति दुर्गममा पर्छ। मनास्लु हिमाल आरोहणका लागि त्यही बाटो हुँदै पदयात्री आउजाउ गर्छन। चुमनुब्री गाउँपालिकाभित्रका सामागाउँ, ल्हो, प्रोक, विही, चुम्चेत, छेकम्पार दुर्गम गाउँ हुन। ती मध्ये १ नम्बर वडाको सामागाउँ र ७ मा पर्ने छेकम्पार झनै दुर्गममा पर्छन। चुमनुब्री–७ का अध्यक्ष टसी दोर्जे लामाले चिसो छल्न काठमाडौं जाने गाउँका बासिन्दा अहिले चुनावका कारण गाउँमै रोकिएको बताए।  

‘निकै नै कम संख्यामा मात्र मतदाता सहर झरेका छन। चुनाव नभएको भए अहिलेसम्म गाउँ रित्तै भइसकेको हुन्थ्यो। यो पटक अहिलेसम्म गाउँले घरमै छन,’ उनले भने, ‘भोट खसालेर मात्र सहर झर्ने भनेर पर्खिबसेका छन्।’ गाउँपालिकामा मात्र करिब १२ सय मतदाता रहेको उनले बताए। अहिलेसम्म हिउँ नपरेपनि बिहानबेलुकीको चिसो भने माइनस ५ डिग्रीसम्म झरिसकेको उनले बताए।

‘बिहानमा पानी जम्न थालिसकेको छ। बसाई सकसपूर्ण बन्दै गएको छ। तर, चुनावी माहोलले गर्दा मात्र मान्छे गाउँमै अडिएका हुन,’ उनले भने। उनका अनुसार माथिल्लो गोरखाका बासिन्दा चिसो छल्न तल्लो भेगका आरुघाट, सदरमुकाम गोरखा सहित चितवन र काठमाडौं जान्छन। चिसो छल्न कात्तिकमा झर्ने गाउँलेहरु यो पटक चुनावले गर्दा घरमै रोकिएको भएपनि चुनाव सकेलगत्तै घर छाड्न थाल्ने उनको अनुमान छ। ‘यतिबेला सहर गएका त गाउँ फर्केका छन। गाउँमा बसेका त झनै जाने कुरै रहेन,’ उनले भने।

प्रकाशित: २ मंसिर २०७९ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App