७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

कोरोना बिर्साउने ‘दसैं बजार’ (फोटोफिचर)

पोखरा चिप्लेढुंगामा फुटपाथको दसैं बजार। तस्बिरः उमेश पुन÷नागरिक

अघिल्ला दुइवटा दसैंलाई कोरोना भाइरस संक्रमणले ‘डिस्टर्ब’ ग¥यो। कोरोना भाइरस संक्रमण फैलिएको पहिलो वर्ष त धेरैले हिडडुलै गरेनन्। यतिसम्मकी दसैंमा टीका थाप्न पनि नआउनु भन्दै आफन्तले सन्देश पठाए। बाँचे अर्काे वर्ष दसैं मनाउँला भनेर धेरैजसो घरभित्रै थुनिए। हिडडुल निकै नै कम भयो। निजी सवारी हुनेहरु पनि त्रासका बीच आफन्तको हातको टीका थाप्न गाउँ पुगेका थिए । किनमेल त खासै हुनै सकेन।

कोरोनाको त्यो अप्ठेरोमा हिडडुल त भएन नै बजारमा पनि उत्तिसारो चहलपहल भएन। कारण–मान्छेलाई एकआपसमा भेटघाट गर्न नै बन्देज लगाएजस्तो थियो। कोरोनाको त्रास अधिक थियो। संक्रमणले बेलाबेला तर्साउँदा ढुक्कको यात्रा, भेटघाट र जमघट थिएन। कोरोना संक्रमण फैलिएको पहिलो वर्षको दसैंले धेरैलाई घरभित्रै राखेको थियो। जसोतसो यातायातका साधन खुलाएपनि ढुक्क र सुरक्षित यात्रामा त्रास हुँदा नागरिक यात्रामा निस्किएनन।  

पोहोरको दसैंताका कोरोना संक्रमण केही कम भएपनि अहिलेजस्तो निस्फिक्रि यात्रा भने अझैपनि थिएन। कोरोनाको त्रासले गर्दा सकेसम्म भेटघाट गर्न नपरोस भन्ने र भीडभाडबाट टाढा हुन खोज्ने धेरै हुन्थे। परारको तुलनामा पोहोरको दसैंमा केही बढी हिडडुल र भेटघाट बढेको थियो। तर, नागरिकमा त्रास भने कायमै थियो। परारको तुलनामा पोहोरको दसैंताका सर्वसाधारणको हिडडुल मात्र नभई बजारमा पनि केही चहलपहल बढेको थियो। त्यसले व्यापार व्यवसायलाई पनि थोरै फस्टाउने अवसर दिएको थियो।

तर, यो पटक भने कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी चहलपहलयुक्त दसैं बनेको छ। बजारमा किनमेल गर्नेको भीडभाड छ। दुुइवर्षसम्म ढुक्कले दसैं मनाउन नपाएका नागरिक यो पटक ढुक्कले टाढाटाढासम्म यात्रा गर्दैछन्। त्यत्तिमात्र नभई बजारमा किनमेल गर्नेको उत्तिकै भीडभाड छ। बसपार्कमा सवारी कुर्नेको भीड पनि कम छैन। सर्वसाधारणले सकसका साथ यात्रा गरिरहेका छन्। अघिल्ला दुइवटा दसैंलाई दुखम् सुखम् पार लगाएका सर्वसाधारण यो वर्ष भने केही ढुक्कले घर फर्केका छन्। यातायात व्यवसायीले सवारी संख्या थपेर यात्रुलाई सेवा दिएका छन् भने व्यवसायीले पनि यो बेला राम्रै व्यापार गर्न पाएका छन्।

बजार, यातायातका साधन, पसल सबैतिर अहिले भीडभाड छ। बजारमा बसेका अधिकांश नागरिक घर फिरेपछि भित्री गल्लीका बस्ती सुनसान देखिएका छन्। मुख्य बजारमा उत्तिकै चमक छ। सवारी साधानमा ओहोरदोहोर गर्ने र किनमेले गर्नेका कारण पैदल हिडडुल पनि निकै सकसपूर्ण छ। फुटपाथ पनि खचाखच छ। लत्ताकपडाका पसलमा अधिक भीड छ।  

पोखरा ट्रेडमल उत्सव व्यवस्थापन समिति अध्यक्ष नवराज त्रिपाठीले कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी व्यवसाय यो वर्षको दसैंमा भएको बताए। उनका अनुसार कोरोनाले गर्दा उपभोक्ताको क्रयशक्ति केही कमजोर बनेको भएपनि उपभोक्ता सामान किन्न बाध्य छन्।  

कोरोना संक्रमण कमजोर भएको फाइदा यो पटक यातायात क्षेत्रमा पनि परेको छ। यातायात व्यवसायीका अनुसार यो पटक तेब्बर बढी संख्यामा बस संचालन गरिएको छ। पृथ्वी राजमार्ग बस कम्पनि लिमिटेडका अध्यक्ष योगेन्द्र केसीका अनुुसार अहिले सबैजसो रुटमा सवारी साधनको संख्या बढाइएको छ।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)गण्डकी अध्यक्ष हरिराम अधिकारीले पनि यो पटकको दसैंका लागि यात्रु अभाव नभएको बताए। उनका अनुसार पोखरा–काठमाडौं रुटमा यात्रु कम भएपनि काठमाडौं–पोखरा रुटमा यात्रुको अभाव छैन। बरु माग अनुसार सवारी पु¥याउन सक्ने अवस्था नरहेको उनले बताए।

प्रकाशित: १५ आश्विन २०७९ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App