८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पोखरा–मुग्लिन राजमार्गमा धमाधम काम (फोटोफिचर)

अहिलेका लागि पोखरा–आँबुखैरेनीसम्म मात्र बिस्तार

बिस्तार हुँदै गरेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड। तस्बिरः उमेश पुन/नागरिक

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन (९०किमि) मध्ये पोखरा–आँबुखैरेनी (८२ किलोमिटर) सडक खण्डमा अहिले धमाधम बिस्तार सुरु भएको छ। तनहुँ खण्डमा अहिले तिब्र रुपमा राजमार्ग बिस्तारको काम भईरहेको छ।  

राजमार्ग बिस्तारका क्रममा सडक छेउका रुख काट्ने, पहाड कटान गर्ने लगायतका काम धमाधम भईरहेको छ। पोखरालाई काठमाडौंसँग जोड्ने एकमात्र मुख्य पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिसँगै अहिले धमाधम काम भईरहेको आयोजनाले बताएको छ। यो राजमार्ग बिस्तार भएसँगै पोखरासम्म राजधानी र तराईको आउजाउ अवधि छोटिनेछ।

एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि आँबुखैरेनीसम्मको दुईलेनको सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। आयोजना प्रमुख नरेन्द्र सुवेदीले राजमार्गको बिस्तारको काम धमाधम भइरहेको बताए। ‘अहिले बिस्तारको काम भईरहेको छ। तनहुँ खण्डमा त झनै तिब्र रुपमा काम भएको छ,’ उनले भने।  

उनका अनुसार १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्गको यो सडकखण्ड बिस्तार हुँदैछ । दुुइखण्डमा बाँडेर अहिले काम भईरहेको उनले बताए। सुुवेदीका अनुसार अहिलेका लागि तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको सडकखण्ड मात्र बिस्तार हुनेछ। ‘अहिले धमाधम काम भइरहेको छ। तनहुँ खण्डमा सडक बिस्तारले बढी गति लिएको छ,’ सुवेदीले भने। आँबुखैरेनीदेखि मुग्लिनसम्मको आठकिलोमिटर खण्डमा भने अझै काम सुरु भएको छैन।  

सुवेदीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म र जामुनेदेखि पोखराको पृथ्वीचोकसम्म गरि दुईखण्डमा बाँडेर सडक बिस्तारको काम भईरहेको छ। पूर्वि खण्डमा पर्ने आँबुुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ।  

‘तीनवर्षमा काम सक्नेगरि टेण्डर आव्हान भएको छ, तनहुँ खण्डमा काम धमाधम भएको छ,’ उनले भने, ‘अब पश्चिम खण्डमा पनि काम हुनेछ।’ उनका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ।

 बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइरसम्म पनि यसैमा बनाइने सुवेदीले जानकारी दिए। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।  

पोखरा–मुग्लिन सडकखण्ड विस्तारको काम छिटोगरि पुरा गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको उनले बताए। अहिले यो राजमार्ग दुई लेनको मात्र छ। अहिले पोखरा–मुग्लिन सडक तीनघण्टामा पुरा गर्न सकिने भएपनि बिस्तार भएपछि अवधि झनै कम हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७८ १०:२३ आइतबार

पोखरा–मुग्लिन राजमार्ग