७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

बजार भीडभाड, किनबेच छैन (फोटोफिचर)

पोखराको चिप्लेढुंगाथित फुटपाथको भीड। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाँडबाँडका कारण केही चमक थपिएको छ। तरपनि महंगी बढ्दा बजारमा सोचेजस्तो व्यवसाय हुन नसकेको व्यवसायीको भनाई छ। महंगी अचाक्ली हुँदा सर्वसाधारण नागरिक भने मारमा छन्।  

दैनिक उपभोग्य बस्तुदेखि लत्ताकपडाको भाउ बढेको नागरिकको गुनासो छ । मुल्य बढ्दा सोचेजस्तो कमाइ हुन नसकेको व्यवसायीको भनाई छ। चाँडबाँडका कारण यतिबेला यहाँको मुख्य व्यापारिक क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगामा उपभोक्ताको भीड लागेपनि महंगीका कारण मारमा परेको उनीहरुको गुनासो छ।  

‘बाहिर भीडभाड देखिन्छ। तर, व्यवसायीको भित्रि अवस्था कमजोर छ। किनकी सोचे झै व्यवसाय अझै भएको छैन,’ बुद्ध बिशाल बजार व्यापारिक एशोसिएसनका अध्यक्ष केशब खत्रीले भने, ‘बाहिरको हिडडुलको भीडभाडले त व्यवसाय राम्रो भएको देखिन्छ । फुटपाथले हिडडुलमा अवरोध ल्याउँदा खचाखच देखिन्छ। तर, भित्रि अवस्था भने त्यस्तो छैन।’  

‘बाहिर फुटपाथमा त साह्ै नै भीडभाड देखिन्छ । तर, सामानको मूल्य बढेकोले होला, ग्राहकले चाहेको सामान किन्न सकेका छैनन। सामानको मुल्य बढ्दा उपभोक्ताले खर्चन सकेनन,’ खत्रीले भने, ‘सहजै सामान पनि पाइएको छैन। किनभने नाका खुल्न ढिलाई हुँदा चाहेको सामान बेलैमा ल्याउन सकिएन।’  

उनका अनुसार बजारमा फेन्सी सामानको मुल्य १५ देखि २५ प्रतिशतसम्म बढेको छ। ग्राहकको क्रयशक्ति कमजोर भएको बेला सामानको मुल्य बढ्दा किनमेलमा असर पर्ने उनले सुनाए। ‘आशा गर्न लायक समय बनेको छ। तर, व्यवसाय भने सोच झैं हुन सकेको छैन,’ उनले भने, ‘कोरोना कमजोर भएकोले आशावादी छौ। तर, अहिले सोचे झैं व्यापार छैन।’  

उपभोक्ता पनि महंगी बढ्दा सामान किन्न सक्ने अवस्था नरहेको बताउँछन्। ‘सामान्य सामानको मुल्य अरुबेला भन्दा निकै नै महंगो भएको छ,’ बिना सुवेदीले भनिन, ‘अरुबेला भन्दा महंगो भएपछि किन्ने आँट आएन।’

फेन्सी व्यवसायी संघ कास्की अध्यक्ष राजु पौडेल पनि व्यापार सोचेजस्तो हुन नसकेको बताउँछन्। कोरोनाको त्रास पोहोर भन्दा घटेकोले केही चहलपहल बढेको भएपनि व्यवसायमा सोचे झैं हुन नसकेको उनले बताए।  

उनको अनुमानमा पछिल्लो समय फेन्सी व्यवसायमा नयाँ व्यवसायी थपिएका छन्। अरु क्षेत्रमा व्यवसाय गरिरहेका कतिपय व्यक्ति कोरोनाले गर्दा बिस्थापित भएपछि उनीहरु फेन्सीमा भित्रिएका छन्। त्यसले गर्दा फेन्सी व्यवसायमा व्यवसायीबीच प्रतिश्पर्धा बढिरहेको छ। नयाँ व्यवसायी थपिँएसँगै बजार पनि फराकिलो बन्दै गएको उनले बताए। त्यस्तै अनलाइन सपिङका कारण पनि केही कारोबार खुम्चिएको छ। आम्दानी बढी हुनेले अहिले अनलाईन किनमेल गर्न थाल्दा पनि बजारको कारोबारमा केही कम हुन थालेको उनले बताए।  

‘अहिले फुटपाथमा हेर्दा भीडभाड छ। तर, आर्थिक कारोबार भने सोचे झैं हुन सकेको छैन,’ पौडेलले भने। उनका अनुसार चाँडबाँडको मुखमा सामानको मुल्य पनि बढेको छ। तीजताका भन्दा अहिले सामानको मुल्य १० प्रतिशतले बढिसकेको उनले बताए । ‘हुन त चाँडबाँडका बेला सामानको मुल्य बढ्ने पहिलेदेखिकै चलन हो। तर, अहिले आम्दानी घटेको बेला परेकोले पनि कारोबार फस्टाउन सकेको छैन,’ पौडेलले भने।  

प्रकाशित: २४ आश्विन २०७८ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App