४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

छोटो अवधिमा भीषण वर्षाको उदण्ड (तस्बिरसहित)

पहिरोले घर पुरिँदा पाँचजनाको ज्यान गयो, एकजना बेपत्ता

पोखराको भलाममा बुधबार राती झरेको पहिरोले पुर्‍याएको क्षति। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा बुधबार बेलुकी ६ बजेदेखि भीषण वर्षा सुरु भएको थियो। भीषण वर्षा मध्यरातसम्म जारी थियो। भीषण वर्षाले बजार क्षेत्रमा बढेमानको भेलमात्र निम्त्याएन की आसपासका क्षेत्रमा मानवीय क्षति नै हुनेगरि पहिरो नै झार्‍यो। केहीघण्टाको भीषण वर्षाले वितण्डा मच्चाउँदा पहिरोले घर पुरिएर बुधबार मध्यरातमा पाँचजनाको ज्यान गयो भने एकजना अझै बेपत्ता छन्।  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयका अनुसार पोखरामा बुधबार राती २२१ मिलिमिटर वर्षा भएको थियो । बेलुकी ६ बजेदेखि यहाँ भीषण वर्षा सुरु भएको थियो। मध्यरातसम्म वर्षा जारी थियो । त्यही वर्षापछि पहिरो खस्दा घर पुरिएर मानवीय क्षति भएको प्रहरीको भनाई छ। विभागका अनुसार छोटो समयमा परेको यो भीषण वर्षा हो। बुधबार बेलुकी ६ देखि विहीबार बिहान ३ बजेसम्म (नौघण्टा) वर्षा भएको मौसम विभागको भनाई छ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार अविरल वर्षापछिको पहिरोले घर पुरिएर पोखरामा पाँजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन । मृत्यु हुनेमा चारजना पुरुष र एकजना महिला रहेका छन। अरु पाँचजना घाईते भएको कास्की प्रहरीले बताएको छ। प्रहरीका अनुसार पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षिय कृष्ण श्रेष्ठ, उनकी श्रीमति ३५ वर्षिया सुनमाया तामाङको मृत्यु भएको प्रवक्ता डिएसपी हमालले जानकारी दिए। उनीहरुका तीनवर्षका छोरा सन्तोष बेपत्ता छन् भने अर्का ९ वर्षिय छोरा राजकुमार घाइते भएको हमालले बताए। हमालका अनुसार सुनमायाको घटनास्थलमै र श्रेष्ठको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।  

त्यस्तै पोखरा–२० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षिया विष्णु सार्की  र उनका ८ वर्षका छोरा सन्तोष सार्कीको पनि मृत्य भएको हमालले बताए । उनीहरुको शव मध्यान्हतिर मात्र फेला पारिएको थियो । ‘बेपत्ता व्यक्तिको खोजीका लागि स्थानीयबासी र सुरक्षाकर्मी खटिएका छन्,’ उनले भने ।  

त्यस्तै पोखरा–११ नमूनाटोलस्थित घर पहिरोमा पुरिँदा ४२ वर्षिय लक्ष्मण सार्कीको मृत्यु भएको पनि डिएसपी हमालले बता । उनकी १४ वर्षिया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छिन । त्यस्तै पोखरा–११ बसेरीमा पनि पहिरोमा परेर तीनजना घाईते भएको हमालले बताए । ‘भीषण वर्षाले पहिरो निम्त्याउँदा मानवीय क्षति भएको छ,’ उनले भने । बुधबार बेलुकी परेको भीषण वर्षापछि पोखरा आसपासका क्षेत्रमा पहिरो निम्तिएको थियो । त्यही पहिरोले घर पुरिँदा उनीहरुको ज्यान गएको प्रहरीले बताएको छ।  

पोखरा महानगरपालिका–२० का अध्यक्ष सीम गुरुङका अनुसार पहिरो खसेको क्षेत्रमा उत्तिसारो जोखिमपूर्ण पनि थिएन । तर, अधिक वर्षाले नै घरमाथिको ढिस्को खस्दा घर पुरिएको उनले बताए । ‘बेलुकी ६ बजेदेखि नै पानी पर्न थालेको थियो । मध्यराततिर पहिरो झरेको हो । मध्यरातमा मस्त निद्रामा रहेको बेला एकाएक घरमाथिबाट झरेको पहिरोले उनीहरु (मृतक) पुरिएका रहेछन,’ उनले भने, ‘खासै पहिरो नै झर्ने ठाउँ भने होइन। तर, ढिस्को खसेर घरलाई पुरेको छ ।’ बेलुकी देखि पानी परेको र मध्यरातमा पहिरो झरेको उनले बताए।  

‘पहिरो झर्दा पानी रोकिएको थिएन । उद्दारमा पनि समस्या भयो । एउटा घर बगायो भनेर उद्धारमा गएको बेला अर्काे पहिरो आउँदा झन्डै थप क्षति हुन पाएन,’ उनले भने। उनका अनुसार भलाममा भने घरमाथिको ढिस्को खसेर सुतेका स्थानीयलाई पुरेको थियो । पोखरामा घर भत्किएर मानवीय क्षति हुने बाहेक नदीपुर क्षेत्रमा भासिएको थियो। स्थानीयबासीको घरको क्षेत्र भासिँदा तीनवटा घर जोखिममा परेको प्रहरीको भनाई छ।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीले छोटो समयमा अधिक वर्षा भएको बताए। नौ घण्टा अवधिमा पोखरामा बुधबार बेलुकी २२१ मिलिमिटर वर्षा हुनुलाई अधिक भन्न सकिने उनले बताए। ‘छोटो समयमा अधिक वर्षा भयो, त्यसैले गर्दा पहिरो निम्तिएको हो,’ अधिकारीले भने, ‘ठाउँठाउँमा मानवीय क्षति समेत भएको छ।’

प्रकाशित: १७ भाद्र २०७८ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App