८ वैशाख २०८१ शनिबार
फोटो फिचर

दोश्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाचिएला नी ? (फोटोफिचर)

पोखराका विभिन्न खोप केन्द्रमा आइतबार कोरोना विरुद्ध एस्ट्राजेनेकाको खोप लगाउन पुगेका ६५ वर्ष उमेर समुह माथिका ज्येष्ठ नागरिक । तस्बिरः उमेश पुन÷नागरिक

नेत्र कुमारी खाँड, ८१, आइतबार पोखरा–१० रामबजारको खोप केन्द्रमा कोरोना विरुद्धको दोश्रो खेपको खोप लगाउन आएकी थिइन । यसअघि उनले कोरोना विरुद्ध कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकी थिइन् । लामो समयको अन्तराल र अन्योलताबीच दोश्रो मात्रा खोप लगाउन पाउँदा उनी खुसी थिइन् ।  

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका खाँडजस्ता ६५ वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ । पाँचमहिनापछि दोश्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सिमा थिएन । उनले दोश्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।

अरु उमेर समुहका नागरिकले यसअघि नै दुईडोज खोप लगाएको भएपनि ६५ वर्ष उमेर माथिको समुहले भने कोभिशिल्डको पहिलो खेपको खोप मात्र पाएको थियो । कोभिशिल्डको दोश्रो डोज नआएपछि ज्येष्ठ नागरिकको खोप अभियान रोकिएको थियो । अहिले एस्ट्राजेनिका खोप आएपछि बल्ल ज्येष्ठ नागरिकले दोश्रो खेप पाएका छन् । 

 

‘पहिलो खोप लगाएकोले पनि हुनसक्छ, यो बीचमा केही समस्या भएन,’ खाँडले भनिन, ‘अब त अलि सुरक्षित भइन्छ की झै लागेको छ । यो बीचमा भगवानले बचाएकै हुन् ।’ कोरोनाका कारण धेरै मुलुकमा वृद्धवृद्धा अप्ठेरोमा परेकोमा उनलाई चिन्ता थियो । ‘अब त केही सजिलो हुन्छ की । अघिल्लो पटक खोप लगाउँदा पनि मलाई कुनै अप्ठेरो भएन । यो पटक पनि केही समस्या नहोला,’ खाँडको भनाई थियो, ‘अब त थप केही समय बाचिएला नी ।’

पोखरा महानगरमा आइतबारदेखि कोरोना विरुद्धको एस्ट्राजेनेकाको खोप लगाउन थालिएको थियो । महानगरभित्र मात्र ४९ वटा खोप केन्द्रबाट ज्येष्ठ नागरिकलाई खोप दिइएको छ । त्यसबाहेक प्रदेशका सबैजसो जिल्लामा ज्येष्ठ नागरिकका लागि खोप पु¥याइएको छ । ज्येष्ठ नागरिकलाई खोप दिने बेलामा भने अरुबेला भन्दा केही सहज बनाइएको थियो । वृद्धवृद्धा भएकोले उनीहरु लामो समय उभिन नसक्ने भएकोले कतिपय खोप केन्द्रमा बस्ने व्यवस्था समेत मिलाईएको थियो ।  

पोखरा महानगरपालिका–१० का वडासदस्य दीपक थापाले सबै जेष्ठ नागरिकलाई कुर्सीमा राखेर पालैपालो खोप लगाउने व्यवस्था मिलाएको बताए । अन्यत्र खोप लगाउने क्रममा कोरोना संक्रमण बढेको भन्ने गुनासो आउन थालेपछि वृद्धवृद्धालाई थप जोखिम नहोस भनेर सचेत बन्दै भीडभाड नहुने गरि खोप लगाइएको उनले बताए ।

‘पछिल्लो समय खोप केन्द्र नै कोरोनाको हटस्पट बन्न थालेको सुनिएको छ । खोपकेन्द्रको भीडभाडले गर्दा ज्येष्ठ नागरिक झनै असुरक्षित भएको अनुमान छ,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई असुरक्षित नहोस भनेर पनि हामीले सचेतना अपनाउनुपर्ने छ ।’ बस्ने व्यवस्था बाहेक खोप लगाउन पुगेका र गाडीबाट आर्लिन पनि नसक्नेलाई गाडीभित्रै गएर स्वास्थ्यकर्मीले खोप लगाइदिएका थिए ।

प्रदेशका कोल्ड चेन अफिसर भीमलाल सुवेदीका अनुसार एस्ट्राजेनेकाको १ लाख ५२ हजार डोज खोप आएको छ । विभिन्न जिल्लामा त्यहाँका वृद्धवृद्धाको संख्या अनुसार खोप वितरण गरिएको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा सबैभन्दा कम संख्यामा यो खोप लगाउनुपर्ने नागरिक छन् । उनका अनुुसार यो खोप बचेको खण्डमा मात्र परीक्षा दिने विद्यार्थीले पाउनेछन् । ‘हामीले दुई हिमाली जिल्ला (मनाङ र मुस्ताङ) बाहेक अन्य जिल्लामा खोप पठाईसकेका छौ । डेढ लाख हाराहारीमा नागरिक खोप लगाउन बाँकी छन,’ सुवेदीले भने, ‘ज्येष्ठ नागरिकले खोप लगाएर पुगेपछि बल्ल परीक्षा दिने विद्यार्थीलाई खोप दिने कार्यक्रम रहेको छ ।’

गण्डकीका प्रादेशिक स्वास्थ्य आपत्तकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले सबै जिल्लाका ज्येष्ठ नागरिकका लागि खोप पु¥याएको बताए । ‘खोप पुरा गर्नकै लागि लामो समयसम्म ज्येष्ठ नागरिकले पालो कुर्नुप¥यो । अब वृद्धवृद्धा बढी सुरक्षित रहनेछन,’ शर्माले भने, ‘पहिलो खेपको खोप लगाएर दोश्रो डोजका लागि पर्खाइमा रहँदा केही अन्योल पनि भएको थियो । तर, अब अन्योल छैन ।’

प्रकाशित: ३१ श्रावण २०७८ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App