८ वैशाख २०८१ शनिबार
फोटो फिचर

झरनामा भिडभाड

झरनाको पुरै फोटो निस्किने ठाँउमा फोटो खिच्न पालो कुर्नेहरु निक्कै थिए । उनीहरु झरनामा खेलेर भिजेका देखिन्थे । अग्लो पहराबाट झरेको झरनामा बेलाबेला इन्द्रेणी देखिन्थ्यो । गर्मि समयमा भएपनि सितलताको आभाष दिईरहेको देखिन्थ्यो । झरना आसपासमा निक्कै ठूलो उपस्थिति थियो । आकर्षक झरना तर्फ मोवाईल र क्यामेरा तेर्सीएका देखिन्थे ।

यो दृष्य पाँचथरको हिलिहाङ गाउँपालिका ३ र ४ को सिमानामा रहेको झरना आसपासको हो । यो विगतमा चर्चित भएको झरना भने होईन । केहि महिना यता यो झरना यति चर्चित भयो कि घुम्न आउनेको लर्को नै लागेको छ ।

सडक पुगेपछि विकासका अन्य आयमहरु खुल्छन् भन्ने दरबिलो उदाहरण बनेको छ, यो झरना । प्राकृतिक रुपमा सुन्दर झरना ओझेलमा थियो । तर तमोर/कोशि कोरीडरको सडक पुगेसँगै यो ठाउँले पनि चर्चा पाउन थाल्यो । पूर्व पहाडको पाँचथर, ताप्लेजुङ तथा तेह्थुमको आठराई क्षेत्रमा यो झरनाको चर्चा फैलिएसँगै दैनिक ठूलो संख्यामा आन्तरीक पर्यटकहरु आउन थालेका छन् । समाजिक सञ्जालमा यहाँको सुन्दर दृष्य व्यापक भएसँगै यहाँ आउनेको संख्या बढ्दै गएको देखिन्छ । झरना कारण यो क्षेत्रमा चहलपहल तथा व्यसायिक गतिविधि समेत बढेको छ ।

‘सडक आएपछि यो ठाँउले प्रचार पायो । अहिले त दैनिक दुईतीन सय जना मान्छे आउछन् । मान्छे आउन थालेपछि मैले नि होटल खोलेको हु । पैलेदेखि खेती भएपनि यो ठाँउ कुनो थियो । कामगर्ने मान्छेपनि आउन मान्दैनन् थिए । अहिले त टाढा–टाढाबाट आउन थाले’ सोहि ठाँउका होटल सञ्चालक शुरेश चपागाईले भने ‘खाजा दिननै भ्याई नभ्याई हुन्छ ।’ उनले भनेझैको जमघट त्यहाँ देखिन्थ्यो । सुरुमा यो झरना मृदुङ्गा भनेर चर्चामा आएको थियो । पछिल्लो समयमा यो झरनाको नाम मि:लुङ झरना रहेको बताईदै छ ।

अग्लो पहाडका डाँडाबाट झर्ने झरना खेल्ने, रमाउनेहरु भेटिन्छन् । यो झरनाले व्यापक चर्चा भएको केहि महिना भएको छ । अहिले यो ठाँउमा फोटो खिच्नेसम्म पालो कुर्नु पर्ने हुन्छ । आझेलमा परेको ठाँउले व्यापकता पाएको हो । यो ठाँउले विस्तारै प्रचार पाउदै गरेको हिलिहाङ–४ का वार्ड अध्यक्ष श्रीप्रसाद सिगूले बताए । उनका अनुसार यो ठाँउमा पूर्वाधार विकास लगायका काम अघि बढाइएको छ । 

यो झरनाको लोकप्रियता दिनानुदिन बढ्दै छ । झरना छेउसम्मै ग्रावेल सडक पुगेकाले यहाँ पुग्न सजिलो भएको छ । गाडी, मोटरसाईकल, स्कुटरमा यहाँ पुग्ने गरेको देखिन्छ । यो ठाँउलाई विकास र प्रचार गर्न सके पाँचथर र छिमेकी जिल्लामात्र नभई देश तथा विदेशबाट पर्यटक आउने सम्भावना रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटि सदस्य हर्क नेम्बाङ मिक्सो बताउँछन् ।

गर्मि ठाँउमा रहेको यो झरनाको सौन्दर्यता निक्कै मोहित पार्ने किसिमको छ । गर्मिमा शितलता लिदै झरनामा रमाएको देख्न पाईन्छ । अहिले यहाँ घुम्न जाने क्रम बढिएसँगै सामाजिक सञ्जालमा यो ठाँउको तस्बिर भरिएका देखिन्छन् । एकदिन रमाउन उयुक्त हुने गन्तव्य भएको अनुभव भएको नेपाल तरुण दल पाँचथर अध्यक्ष सुमन लामाले सुनाए । यो ठाँउमा हिँउद लाग्दै गएपछि पानी घट्दै जान्छ । बैकल्पिक पानीको प्रवन्ध तथा यो ठाँउको विकासमा स्थानीय तथा प्रदेश सरकारले जोड दिनु पर्ने स्थानीय भनाई छ । सकारको तर्फबाट भौतिक पूर्वाधारको विकास, यहाँ आउनेलाई सुविधाको प्रवन्ध गर्न आवश्यक रहेको स्थानीय खगेन्द्र योङहाङले बताए ।

खुशी 80%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App