१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

काठमाडौँ – पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा शुक्रबार शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो। 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो। 

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। 

बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन बिहीबार राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए। 

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । 

भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । 

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको पुराणमा वर्णन गरिएको छ । ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ। 

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नाम गरेका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र सो गिदीसँगै खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए। 

त्यसपछि मानिसको गिदी खाने कार्य तथा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थाले। त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको किंवदन्ती पनि छ। 

आफ्ना मितको हत्याबाट छटपटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिए। मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गए । त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। 

तस्बिर ः सबै प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App